Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको शानः आठहजार मिटर माथिका हिमालहरु

बुधबार, ०२ साउन २०७५, ०८ : ०५ मा प्रकाशित

नेपालको शानः आठहजार मिटर माथिका हिमालहरु

एसियाको पश्चिमी भाग पाकिस्तानको कास्मिरदेखि लिएर भारतको आसामसम्म फैलिएको हिमालय पर्वतमालाले बीचमा नेपाल, चीनको स्वशासित क्षेत्र तिब्बत, भारतको सिक्किम, भुटान हुँदै ब्रह्मपुत्रसम्म फैलिएको छ । यसरी कस्मिरदेखि ब्रह्मपुत्रसम्म फैलिएको हिमालय पर्वतमालाले २४ सय किलोमिटर क्षेत्रफल ओगटेको छ भने यसै क्षेत्रमा विश्वका सातहजार मिटरभन्दा माथिका अधिकांश हिमालहरु रहेका छन् । हिमालय पर्वतमाला रहेका हालसम्म मान्यता प्राप्त १४ वटा हिमालमध्ये आठवटा त नेपाल खण्डमा मात्रै रहेका छन् ।

यसरी नेपालका लागि आठहजार मिटरभन्दा माथिको आठवटा हिमाल हुनु भनेको विश्वमा नेपालको शान बढ्नु हो, मान बढ्नु हो भने यसले हामी नेपालीहरुको शिर पनि अन्य देशका नागरिकहरुको तुलनामा सँधै ऊँचो रहने गरेको छ । हुन त हालसम्म विश्वमा मान्यता प्राप्त आठहजार मिटरभन्दा अग्लो हिमाल १४ वटा रहेको छ भनेर माथि नै उल्लेख गरियो । सामान्य ज्ञान लगायतमा पनि यही प्रश्नोत्तरलाई सही मान्ने गरिन्छ । अर्थात् अहिलेसम्म विश्वमा आठहजार मिटरभन्दा माथिका हिमाल १४ वटा थिए-छन् भने, अब चाच्डै नै विश्व पर्वतारोहण इतिहासमा आठहजार मिटरभन्दा माथिका ६ वटा हिमालहरु थपिदैछन् । यसरी विश्वमा आठहजार मिटरभन्दा माथिका हिमालहरु बढेर २० वटा हुँदैछन् । र, थप भएका ती ६ वटै नयाँ आठहजार मिटरभन्दा अग्ला हिमालहरु सौभाग्यवश हाम्रै देश नेपालमा रहेका छन् ।

यस सम्बन्धमा केही महिनाअघि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले सार्वजनिक रुपमा जानकारी दिइसकेको छ । साथै विभागले यसरी थप भएका ती नयाँ ६ वटा हिमालहरुको नाम, उचाई, हिमाल रहेको स्थान, अक्षांश, देशान्तर आदिसहितको सूचनाहरु समेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती हिमालहरुलाई सूचीकृत गर्ने तयारीसमेत गरेको भनी जनाएको थियो । यसरी थप हुने ती नयाँ ६ वटा हिमालहरु पर्वतारोहीहरुका लागि खुल्ला गरिएको समेत पर्यटन विभागले जनाएको थियो ।

स्मरणीय छ, विगत लामो समयदेखि नेपालका पर्यटन व्यवसायी र पर्वतारोहीहरुले यी हिमालहरुलाई मान्यता दिएर आरोहणका लागि खुल्ला गर्नुपर्ने माग राख्दै आएका थिए । किनभने, यी थप भएका हिमालहरु रातारात उत्पत्ति भएको नभएर विगतदेखि नै स्थापित थिए । तर, हाम्रो देशले आठहजार मिटरभन्दा माथिका ती ६ वटा हिमालहरुलाई विश्व पर्वतारोहण क्षेत्र र समुदायमा चिनाउने, प्रचारप्रसार गर्ने र, ती आठहजार मिटर माथिका हिमालहरुलाई मान्यता दिलाउनका लागि पहल गरेको/लिएको थिएन ।

विश्वको पर्वतारोहीहरुको आधिकारिक संगठन ‘विश्व पर्वतारोहण महासंघ’ले पनि थप भएका यी नयाँ ६ वटा आठहजार मिटरभन्दा अग्ला हिमालहरुलाई आधिकारिक रुपमा मान्यता दिइसकेको छैन । तर, पछिल्लो समय विश्व पर्वतारोहण महासंघ र विश्व समुदायबाट थप भएका यी हिमालहरुलाई मान्यता दिलाउनका लागि पर्यटन विभागले पहल गरेको जनाएकोले निकट भविश्यमै यस सम्बन्धमा सकारात्मक प्रतिफल आउने आशा गर्न सकिन्छ । अझ निजी क्षेत्रबाट नेपाल पर्वतारोहण संघ लगायत पर्यटनसंघ सम्बन्धित अन्य संघ–संगठनले त विगत लामो समयदेखि नै विश्व पर्वतारोहण संघ लगायत विश्वका अन्य पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरुसँग लबिङ गर्दै आएको थियो-छ ।   

   
जे होस्, यसरी थप भएका नयाँ आठहजार मिटर अग्ला हिमालहरु कहाँकहाँ छन् त ? यहाँ छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ । संयोगले पहिले मान्यता प्राप्त आठहजार मिटरभन्दा अग्लो सबै अर्थात् १४ वटै हिम चुचुरोहरु एसिया महादेशको हिन्दकुश–काराकोरम हुँदै हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएर रहेको हिमश्रृङ्खलामा रहेको थियो भने अब थप हुने नयाँ ६ वटा आठहजार मिटरभन्दा अग्ला हिमालहरु पनि यही क्षेत्र (हिमालय पर्वतमाला) को पनि नेपाल खण्डमा रहेका छन् ।

यसरी नयाँ थप भएका-हुने ६ वटा हिमालमध्ये २ वटा खुम्बु हिम श्रृङ्खलाको ल्होत्से÷चे मिडिल ८,४१० मिटर र ल्होत्से÷चे सार ८,४०४ मिटर रहेको छ भने बाँकी ४ वटा पूर्वी नेपालको ताप्लेजुङ-ताप्लिजोङ जिल्लाको कञ्चनजंघा हिम श्रृङ्खलामा रहेको छ । यो हिम श्रृङ्खलामा थप भएका आठहजार मिटरभन्दा अग्ला नयाँ हिमालहरुमा यलुङकाङ ८,५०५ मिटर, कञ्चनजंघा दक्षिण (साउथ) ८,४७६ मिटर, कञ्चनजंघा मध्य (सेन्ट्रल) ८,४७३ मिटर र यलुङकाङ पश्चिम (वेस्ट) ८,०७७ मिटर रहेको छ ।

आठहजार मिटर अग्ला हिमालहरु कहाँकहाँ छन् ?

हो, हिमाल सम्बन्धमा राम्रो ज्ञान नभएका वा थाहा नभएका पठकहरुका लागि आठहजार मिटरभन्दा माथिका हिमालरु कहाँकहाँ छन् ? ती हिमालहरुको उचाई कति छ ? आदि बारे यहाँ छोटकरीमा जानकारी दिने प्रयास गरिएको छ  ।

हालसम्म समुन्द्र सतहदेखि नाप्दा विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८,८४८ मिटर) हो भने, दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु) हो । यो हिमालको उचाई ८,६११ मिटर रहेको छ । तेस्रो अग्लो हिमालचाहिँ कञ्चनजंघा हो । यसको उचाई ८,५८६ मिटर रहेको छ । त्यस्तै चौथो अग्लो हिमाल ल्होत्से-चे हो ।  त्यस्तै चौथो अग्लो हिमाल ल्होत्से-चे हो ।  यसको उचाई ८,५१६ मिटर रहेको छ । विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाई ८,४६३ मिटर रहेको छ भने विश्वको छैठौं अग्लो हिमाल छो-चो–ओयु हो । यसको उचाई ८,२०१ मिटर रहेको छ ।

त्यस्तै विश्वको सातौं र आठौं अग्लो हिमाल पनि अग्लो हिमाल पनि नेपालमै रहेको छ । ती हुन् धौलागिरी प्रथम र मनास्लु प्रथम यी दुई हिमालको उचाई क्रमशः ८,१६७ मिटर र ८,१६३ मिटर रहेको छ भने विश्वको नवौं हिमालचाहिँ नांगा पर्वत हो । र यो हिमाल पाकिस्तानमा रहेको छ । यो हिमालको उचाई ८,१२६ मिटर रहेको छ । अनि विश्वको १० औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यसको उचाई ८,०९१ मिटर रहेको छ । त्यस्तै विश्वको ११ औं अग्लो हिमाल गासेरब्रुम–प्रथम हो भने यो हिमालको  उचाई ८,०८१ मिटर रहेको छ ।

साथै विश्वको १२ औं र १३ औं अग्लो हिमाल पनि पाकिस्तानमै रहेको छ । ती दुई हिमालहरु हुन्, ब्रोडपिक र गासेरब्रुम द्धितीय (२) । यी दुई हिमालको उचाई क्रमशः ८,०५१ मिटर र  ८,०३५ मिटर रहेको छ । विश्व पर्वतारोहण र पर्वतहरुको इतिहासमा हालसम्मको अन्तिम तथा १४ औं अग्लो हिमाल सिसापाङ्मा हो । यसको उचाई ८,०२७ मिटर रहेको छ । यो हिमाल चीनको स्वशासित क्षेत्र तिब्ब–नेपालको सीमा क्षेत्रमा अवस्थित रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको