Like us!
Follow us!
Connect us!
Watch us!

सल्यानमा कृषक जडीबुटी खेतितर्फ आकर्षित, गाँउमै सुरु भयो आर्थिक क्रान्ति

बुधबार, ०२ साउन २०७५, १५ : १३ मा प्रकाशित

सल्यानमा कृषक जडीबुटी खेतितर्फ आकर्षित, गाँउमै सुरु भयो आर्थिक  क्रान्ति

अर्थ संसार, काठमाडौँ- सल्यान जिल्लाका  कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन ।

परम्परागतरुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली बाली मासेर जडबुटीखेती गर्न थालेका हुन ।

कुरिलो, तेजपात, काउलो, रोजमेरीलगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको विस्तार हुँदै गएको छ । प्राकृतिकरुपमा सामुदायिक वनमा पाइने टिमुर कृषकले खेतबारीको डिलमा विस्तार गरी आयआर्जन गर्दै आएका छन् ।

जडीबुटीबाट पर्याप्त आम्दानी हुने भएपछि कृषक सामूहिक उत्पादनमा लागेका छन् । छत्रेश्वरी गाउँपालिका– २ स्थित रुपान्तरण जडीबुटी कृषक समूह र लालीगुराँस जडीबुटी कृषक समूह बनाएरै कृषकले जडीबुटी उत्पादन शुरु गरेको छत्रेश्वरी गाउँपालिका– २ का वडाध्यक्ष प्रेमबहादुर खड्काले बताउनुभयो ।

गत आवमा टिमुरको मूल्य उच्च भएकाले यसवर्ष कृषक टिमुर तथा अन्य जडीबुटी खेतीतर्फ आकर्षित भएका छन, उहाँले भन्नुभयो । कृषकले एक क्विन्टल टिमुर रु ६० हजारभन्दा बढी मूल्यमा बिक्री गरेका छन् ।

परम्परागतरुपमा गरिएको खेतीले गर्जो टार्न गाह्रो भयो, टिमुरबाट मनग्य आम्दानी हुन थालेपछि एक बिघाभन्दा बढी जग्गामा टिमुरखेती गरेको छु, वडाध्यक्ष खड्काले भन्नुभयो । टिमुरखेतीका लागि गाउँपालिकाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

समूहमा टिमुर लगाउने निर्णय गरेर खेती शुरु गरिएको रुपान्तरण जडीबुटी कृषक समूहकी अध्यक्ष कमला केसीले बताउनुभयो । प्रत्येक सदस्यले वर्षमा डेढदेखि दुई क्विन्टलसम्म टिमुर उत्पादन गर्छन ।

लालीगुराँस जडीबुटी उत्पादन समूहका ३२ कृषकले जडीबुटी खेतीबाट पर्याप्त आम्दानी गरिरहेको अध्यक्ष हीरालाल वली बताउनुहुन्छ । समूहमा आबद्ध सबैले ५० किलोदेखि २०० किलोसम्म टिमुर उत्पादन गरिरहेका छन ।

जिल्लामा उत्पादन हुने टिमुर र रोजमेरीलाई प्रशोधन गरी तेल निकाल्न जिल्लामै उद्योग खुलिसकेको छ । झण्डै रु एक करोडको लागतमा श्रीनगरमा महालक्ष्मी हर्बल उद्योग स्थापना भएको छ । जडीबुटी खरिद बिक्री गर्न जिल्ला वनस्पति कार्यालय र स्थानीय तहको पहलमा उद्योगसँग कृषकको सम्झौता भएको छ ।

पाँचवटा जडीबुटी कृषक समूहलाई जिल्ला वन कार्यालयले टिमुरखेतीका लागि आवश्यक औजार र सामग्री वितरण गरेको सूचना अधिकारी कृष्ण पुनले बताउनुभयो । फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिरसम्म टिमुर संकलन गरिसक्नुपर्छ । संकलित फललाई घाममा सुकाउनु पर्छ ।

जिल्लाबाट गत आवमा तीन लाख ५३ हजार ७०२ किलो टिमुर जिल्ला बाहिर बिक्री गरिएको थियो । टिमुरबाट रु २५ लाख ४६ हजार राजश्व संकलन भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको