Like us!
Follow us!
Connect us!
Watch us!

विपद्मा वन्यजन्तु जोगाउन नेपाल र भारतले समन्वय गर्ने, यस्तो छ तयारी

शुक्रबार, ०४ साउन २०७५, ११ : २४ मा प्रकाशित

विपद्मा वन्यजन्तु जोगाउन नेपाल र भारतले समन्वय गर्ने, यस्तो छ तयारी

अर्थ संसार, काठमाडौँ – चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ ।

अघिल्लो वर्ष बाढीले वन्यजन्तुहरु बगाएर भारत पुर्याएकाले यस्ता विपद्बाट हुने क्षति न्यून गर्न समन्वयलाई चुस्त पार्ने सहमति भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिनुभयो ।

केही दिनअघि चितवन निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुबीच समन्वय बैठक बसेर यस्तो निष्कर्ष निकालिएको ढकालले जानकारी दिनुभयो । अहिले वाल्मीकि टाइगर रिजर्भले हात्तीसारको संख्यासमेत बढाएकाले गैँडालगायत वन्यजन्तुको उद्धारमा अझै सक्रिय भएर लाग्ने जानकारी गराएको उहाँले बताउनुभयो । चितवन निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ वाल्मीकि आश्रम क्षेत्रमा जोडिएको छ ।

चितवन निकुञ्जका प्रमुख ढकालसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल तथा तराई भू–परिधि कार्यक्रम (ताल)का प्रतिनिधिहरु र भारतको वाल्मीकि टाइगर रिजर्भका निर्देशक चन्द्रशेखर लगायतका सुरक्षा र संरक्षण अधिकृतहरु सहभागी बैठकले यस्तो सहमति गरेको हो । “वन्यजन्तुहरु जोखिममा परे भने तत्कालै खबर गर्ने, सुरक्षा प्रदान गर्ने र उद्धारमा समन्वय गर्ने भन्ने छ”, ढकालले भन्नुभयो, “विपद्मा हुने क्षति न्यूनीकरणका लागि यो महत्वपूर्ण प्रयास हुनेछ भन्ने ठानेका छौँ ।”

  गत वर्ष साउन २८ र २९ गते चितवनमा भीषण बाढी आउँदा दर्जनौँ वन्यजन्तु मरेका थिए । बाढीले बगाएर भारत र सीमा आसपास पु¥याएको १० वटा गैँडालाई चितवन निकुञ्जले उद्धार गरेर ल्याएको थियो । अहिले पनि यस्तो विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर विपद्मा वन्यजन्तु जोखिम न्यूनीकरणका लागि समन्वय गर्न थालिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका अधिकारीहरुबीचको समन्वयले संरक्षण चुस्त हुने भएकाले छलफल तथा भेटघाटलाई निरन्तरता दिने गरिएको बताउनुहुन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको