Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान

आइतबार, ०६ साउन २०७५, ११ : ३५ मा प्रकाशित

पाँच वर्षभित्र प्रत्येक स्थानीय तहमा खेलकूद मैदान


अर्थ संसार, काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्र प्रदेशका सम्पूर्ण स्थानीय तहमा कम्तीमा पनि एउटा खेलकूद मैदान निर्माण गरिने बताउनुभएको छ ।

अखिल नेपाल  फुटबल  संघ एन्फाको कार्य नीति, आधारभूत क्षेत्र, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तरक्रिया एवम् कार्यशाला गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले खेलकुदको विकासका लागि भौतिक पूर्वाधार पहिलो आवश्यकता रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका ११ जिल्लाका ८५ वटा स्थानीय तहसँग समन्वय गरी खेलकुद मैदान निर्माण गरिने योजना रहेको बताउँदै उहाँले त्यसका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

राष्ट्रियतालाई बलियो बनाउन खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक तयारी गरिरहेको बताउनुभयो ।

प्रदेशसभा सदस्यहरू मनबहादुर गुरुङ, दिपक कोइराला, बिन्दु थापा, राजमीप्रसाद बराल, राजीव पहारी, मोहन रेग्मीलगायतले खेलकूदको विकासका लागि विधि, पद्धतिअनुसार सञ्चालन हुनु पर्ने बताउनुभयो ।

अखिल नेपाल फुटवल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली फुटवल विकासको लागि मुलुकका तीनै तहका सरकारले लगानी बढाएर भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताउनुभयो ।

मुलुकका सातवटै प्रदेशमा खेलका विभिन्न विधामा टेक्निकल सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै उहाँले फुटबल खेलको विकासका लागि एन्फाले पहिलो चरणमा ८० जना राष्ट्रियस्तरका प्रशिक्षक उत्पादन गर्न लागेको जानकारी दिनुभयो ।

एन्फाले यसअघि मुलुकका छवटा प्रदेशमा यस्ता कार्यक्रम सञ्चालन गरेर आवश्यक सुझाव संकलन गरिसकेको उपाध्यक्ष कृष्ण थापाले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको