Like us!
Follow us!
Connect us!
Watch us!

सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

मंगलबार, ०८ साउन २०७५, १८ : ०४ मा प्रकाशित

सरकारी कार्यालयमा ट्वीटर सञ्चालनको तयारी

अर्थ संसार, काठमाडौं–सरकारले सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सञ्चालन गर्ने तयारी थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘हेलो सरकार कक्ष’ले सबै सरकारी निकायले जनतासमक्ष सेवा र सूचना आदानप्रदान गर्नका लागि ट्वीटर सञ्चालन गर्न तयारी थालिएको कक्षका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँले सरकारी कार्यालयले सबैलाई सूचना प्रदान गर्न, जनगुनासो ग्रहण गर्न र आफ्ना कार्यालयका सूचना सार्वजनिक गर्न ट्वीटर सञ्चालन गर्न तयारी थालिएको बताउनुभयो । यसअघि सरकारको निर्देशनअनुसार सबै सरकारी कार्यालयले सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरिरहेका छन् ।

उपाध्यायका अनुसार ट्वीटर सञ्चालनका लागि सरकारले ‘सरकारी निकायद्वारा ट्वीटर खाता प्रयोग गर्ने कार्यविधि, २०७५’ समेत बनाउन थालेको छ । “फेसबुकसँगै कार्यालयका सूचनालाई बढीभन्दा बढी प्रवाह गर्नका लागि ट्वीटर सञ्चालन गर्ने तयारी गरेका हौँ” उहाँले भन्नुभयो, “कतिपयले आफ्नै हिसाबले खोलेका छन् । ती सबैलाई एकरूपले सञ्चालन गर्न कार्यविधि ल्याउन थालेका हौँ ।”

उपसचिवसमेत रहनुभएका उपाध्यायले कार्यविधिलाई चाँडै नै पारित गराई सबै कार्यालयलाई ट्वीटर खाता सञ्चालन गर्न निर्देशन दिने बताउनुभयो । ट्वीटर खातामा प्रयोग हुने लोगो सरकारको वा संस्थाको हुनुपर्ने, ट्वीटर खाताको मुख्य पृष्ठमा राखिने फोटोले सम्बन्धित निकायको स्पष्ट परिचय दिने र उद्देश्य स्पष्ट पार्नेखालको हुनुपर्ने, ट्वीटर खाताको पेज आकर्षण र सेवाग्राहीमैत्री हुनुपर्ने कुरा कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैगरी ट्वीटर दैनिक सञ्चालन गर्नुपर्ने, ट्वीटर सञ्चालन गर्ने व्यक्ति तोकिनुपर्नेजस्ता कुरा कार्यविधिमा राखिएको छ । ट्वीटरमा आएका सूचनालाई लाइक, रिप्लाई, ट्वीट, रिट्वीट, शेयर कस्तो गर्ने भन्ने सम्बन्धमा कार्यविधिमा उल्लेख गरिएको छ । उहाँका अनुसार अहिले १० प्रतिशत कार्यालयले मात्र ट्वीटर सञ्चालन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको