Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु

बुधबार, ०९ साउन २०७५, ११ : ०४ मा प्रकाशित

राष्ट्रिय गौरवका आयोजनाको अनुगमन शुरु


अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ठूला आयोजनाको अनुगमनको पनि अनुगमन गर्न शुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका ठूला आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी गराउनुभयो ।

“प्रधानमन्त्री ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन शुरु गरेर ठूला राष्ट्रिय गौरवका आयोजनाको अनुगमनमाथि पनि अनुगमन शुरु गर्नुभएको छ” उहाँले भन्नुभयो, “अबदेखि हामी नियमित रुपमा राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्नेछौँ ।”

मन्त्री तथा सचिवले पेश गरेको आव २०७५/७६ को मन्त्रालयगत कार्ययोजनाको कार्यान्वयनको अनुगमनमाथि पनि अनुगमन शुरु गर्ने योजनाअनुसार नै प्रधानमन्त्रीले राष्ट्रिय आयोजनाको अनुगमन गर्नु भएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

प्रत्येक मन्त्रालयमा पनि आ–आफ्ना अनुगमन संयन्त्र रहेपनि त्यसले मात्र पर्याप्त अनुगमन नहुने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अनुगमन गर्न शुरु गरेको जनाइएको छ । उहाँले कार्यालयबाट उपत्यकाको फोहर उठाउनसमेत निर्देशन दिइएको बताउनुभयो ।

यसैगरी सडकका खाल्डाखुल्डी पुर्न, जोरपाटी सडकखण्ड मर्मत गर्न, अत्यधिक रुपमा बढेको वस्तुको मूल्य नियन्त्रण गर्नसमेत प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।

प्रवक्ता कुँवरले प्रत्येक १५ दिनमा मन्त्रालयको कार्यविवरण प्रधानमन्त्री कार्यालयमा समेत पठाउने निर्देशन दिएको जानकारी गराउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको