हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आज साउन ५ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । अर्थात कम्पनीको १०० कित्ता सेयर हुने सेयरधनीहरुले १०० कित्ता बराबर नै हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। त्यसैले, जेठ २७ गते गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको हकप्रदमा आज साउन ५ गतेबाट साउन २५ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदमा ग्लोबल आईएमई क्यापिटल तथा ग्लोबल आईएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ भने नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट जेठ ९ गते, आइतबार अनुमति पाएको थियो । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
कम्पनीको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।
यस कम्पनीको चुक्ता पुँजी १६ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ५५ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले जलविद्युत आयोजनाहरुमा ३५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस