Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी र साञ्जेनको IPO बिक्री खुल्ला, १० कित्ता मात्रैपनि आवेदन दिन पाउने

शुक्रबार, ०६ बैशाख २०७६, १० : ३४ मा प्रकाशित

रसुवागढी र साञ्जेनको IPO बिक्री खुल्ला, १० कित्ता मात्रैपनि  आवेदन दिन पाउने

अर्थ संसार, काठमाडौँ- जनताको जलविद्युत्मा समावेश गरिएको २ जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री खुल्ला भएको छ ।  चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री खुल्ला भएको हो । 

रसुवागढीले रु एक अर्ब अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको साधारण शेयर बिक्री खुल्ला गरेको छ । त्यसमा चार लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र पाँच लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त आधारमा सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्री गरिनेछ ।

यस्तै सान्जेनले रु ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको छ ।  त्यसमा दुई लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोष र दुई लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याई ४९ लाख ८२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभए आगामी जेठ ५ गतेसम्म हुनेछ । सर्वसाधारण शेयरधनीले दुवै आयोजनामा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै रसुवागढी जलविद्युत्को आइपिओमा अधिकतम पाँच हजार कित्ता र सान्जेन जलविद्युत्को शेयरमा अधिकतम दुई हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था छ ।

प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था छ । आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरणलगायत छन् ।

संस्थापकतर्फको शेयरपूँजी ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयरपूँजी ४९ प्रतिशत छ । जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई सोही कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको थियो । नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । रसुवामा निर्माणाधीन  साञ्जेनका दुई आयोजना छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको