Like us!
Follow us!
Connect us!
Watch us!

जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै

रबिन दङगाल

आइतबार, २२ असार २०७६, १३ : ०३ मा प्रकाशित

जनसहयोगमा प्रहरीका भवन धमाधम बन्दै

अर्थ संसार, भद्रपुर- पाँच वर्षअघिसम्म दक्षिण झापाका जनता डाँका र चोरको त्रासले रातभर अनिदो बस्थे । पृथ्वीनगर, बनियानी, केचना, घेराबारीलगायत ठाउँमा प्रायः रातैपिच्छे चोरी र डकैतीका घटना हुने भएकाले यहाँका बासिन्दा साँझ झमक्क पर्नुअगावै घरका ढोका र झ्यालका चुकुल बलियोसँग लगाएर बस्थे । 

नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती र सुरक्षा पोस्ट बढाएकाले अहिले चोरी र डकैतीका घटना निमिट्यान्नै भएको छ । भारतको सीमावर्ती किसानगञ्जमा बसेर नेपालमा शृृङ्खलाबद्ध डकैती गराउने योजनाकार मोहम्मद जमिललाई तीन वर्षअघि नेपाल प्रहरीले पक्राउ गरेर कारागार पुर्याएपछि सो क्षेत्रमा डकैती शून्य भएको हो ।

सुरक्षाका कारण स्थानीयवासीले ढुक्कले बस्न पाए पनि त्यस क्षेत्रमा रहेका सुरक्षाचौकी भने पूर्वाधार अभावमा ढुक्कले बस्न पाएका छैनन् । अस्थायी क्याम्पमा दुःखले बसेर जनताको सुरक्षामा रातोदिन तल्लीन सुरक्षाकर्मीका लागि स्थानीयवासीले सहयोग जुटाएर ब्यारेक र भवन बनाउन थालेका छन् ।

कचनकबल गाउँपालिका–६ मा नेपाल प्रहरीको चौकी छ । साँघुरो भवनमा कोचिएर बस्नुपर्ने भएकाले चालू आर्थिक वर्षमा स्थानीयवासीको सहयोगसमेत जुटाएर गाउँपालिकाको रु १० लाखको लागतमा कार्यालय र ब्यारेक भवन निर्माण गरिएको छ । 

जनस्तरबाट भवन निर्माणका लागि गठित समितिका अध्यक्ष नारद अधिकारी भने, “प्रहरीले हामीलाई रातोदिन खटेर चोर डाँकाबाट सुरक्षा गरेकाले हामी सबै मिलेर प्रहरीको ब्यारेक र अफिस बलियो बनाइदिएका छौँ ।”

जनसहयोगमा निर्मित एकतले दुई कोठे पक्की भवन उद्घाटनको पर्खाइमा रहेको जनाउँदै बनियानी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक उदयशम्शेर राणा स्थानीयवासीसँग प्रहरीको सम्बन्ध सुमधुर भएको बताए ।

दक्षिणी झापाको भद्रपुर–२ जुनेली बस्तीमा सशस्त्र प्रहरीको कार्यालय स्थापनाका लागि स्थानीयवासीले १० कट्ठा जग्गा उपलब्ध गराएकामा प्रदेश नं १ सरकारले भौतिक संरचना बनाउन थालेको छ ।

सशस्त्र प्रहरी निरीक्षक महेश कटुवालले अफिस, कमाण्डर भवन, मेसलगायत संरचना निर्माणाधीन अवस्थामा रहेको बताए । उनका अनुसार सो क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भइसकेपछि डकैतीका कुनै पनि घटना भएका छैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको