Like us!
Follow us!
Connect us!
Watch us!

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु

रबिन दङगाल

बुधबार, १५ साउन २०७६, १२ : ३२ मा प्रकाशित

बसले बेवारिसे बमलाई ठक्कर दिँदा २८ जनाको मृत्यु

अर्थ संसार, हेरात– अफगानिस्तानको पश्चिमी भेगमा राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई एउटा यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेको स्थानीय प्रहरीले जनाएको छ । बम अफगानिस्तानको विद्रोही समूह तालिबानले राखेको अनुमान गरिएको छ ।

राष्ट्रसंघले मंगलबार मात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

फराह प्रान्तका प्रवक्ता मुहिबुल्लाह मुहिबले कन्दाहार–हेराज राष्ट्रिय राजमार्गमा गुडिरहेको बस दुर्घटनामा परेको जानकारी दिए । उनले सडक किनारामा तालिबान समूहले राखेको बममा यात्रुबाहक बसले ठक्कर दिएको बताए। उक्त घटनामा अरु १० जना सख्त घाइते भएका छन् ।

फराहका गभर्नरका प्रवक्ता फारुक बाराकजाईले बम निकै शक्तिशाली भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताए । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

राष्ट्रसंघले मंगलबार मात्र सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०१९ का छ महिनाको अवधिमा समग्रमा व्यक्ति हत्याको संख्यामा २७ प्रतिशतले कमी आएको भए पनि सर्वसाधारणको मृत्यु बढी भएको उल्लेख छ । चालू वर्ष २०१९ का छ महिनामा एक हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई हजार ४४६ जना घाइते भएका छन् ।

समग्र सर्वसाधारणको मृत्युमध्ये पनि एक तिहाई बालबालिकाको रहेको छ । राष्ट्रसंघका अनुसार तालिबानका कारण भन्दा पनि सरकारी फौज र अमेरिकी नेतृत्वको फौजको कारबाहीमा बढी नागरिकको ज्यान गएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको