Like us!
Follow us!
Connect us!
Watch us!

केही वर्षमै परिवर्तनको आभाष हुन्छ : मन्त्री बाँस्कोटा

dibesh

बुधबार, २९ असोज २०७६, १३ : २८ मा प्रकाशित

केही वर्षमै परिवर्तनको आभाष हुन्छ : मन्त्री बाँस्कोटा

अर्थ संसार, काठमाडौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले केही वर्षमै मुलुकमा आमरुपमा परिवर्तनको आभाष हुँदै जाने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको पाँचखाल युनाइटेड फुटबल एशोसियशन (पुफा) द्वारा आयोजित १० दिने पाँचखाल महोत्सव आज शुभारम्भ गर्दै उहाँले सरकार हाल विकासको महाअभियानमा रहेकाले केही वर्षमै देशमा परिवर्तनको महसुस हुने जिकिर गर्नुभएको हो । 

    मन्त्री बाँस्कोटाले मुलुकको परिवर्तनलाई आत्मसात् गर्नसक्ने सामथ्र्य पाँचखालसँग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँचखाल अन्तरराष्ट्रिय कनेक्टिभीटीको प्रमुख नाका हो, विकासोन्मुख पाँचखाललाई अन्तरराष्ट्रिय क्षेत्रमा  पनि अघि बढाइरहेका छौँ ।” सरकारको यो शिलान्यासको वर्ष भएको र अर्को वर्ष उद्घाटनको वर्ष भएको चर्चा गर्दै मन्त्री बाँस्कोटाले वर्तमान सरकारको कामबारे एक वर्षमै परिणाम नखोज्न आग्रह गर्नुभयो । 

    उहाँले महोत्सवलाई मेला, पर्व, पराम्परा र संस्कृतिको रुपमा विकसित गर्दै जानु पर्नेमा जोड दिनुभयो । “मेला तथा महोत्सवले स्थानीय परम्परा, सांस्कृतिक रीतिरिवाज तथा उत्पादनलाई प्राथमिकता दिनुपर्दछ र प्रचारप्रसारमा ल्याउनुपर्दछ,” मन्त्री बाँस्कोटाले भन्नुभयो, “तराईमा हाट बजार तथा पहाडमा जात्रा परम्परागत रुपमा चलिआएकाले मेलाको सम्भावना भोलिका दिनमा अझै बढ्छ ।”

    कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, पाँचखाल नगरपालिका प्रमुख महेश खरेललगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । आउँदो ‘भ्रमण वर्ष– २०२०’ लक्षित उक्त महोत्सवमा २० कृषि उत्पादनका स्टलसहित स्थानीय समुदाय तथा व्यापारिक प्रयोजनका १०५ स्टल रहेको महोत्सव संयोजक एवं आयोजक संस्थाका सचिव जीवन नेपालले जानकारी दिनुभयो । उद्घाटनअघि झाँकीसहितको र्यालीले पाँचखाल नगर परिक्रमा गरेको थियो । महोत्सव एक लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको