Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड–१९ विरोधी लडाईंमा भाटभटेनी समूहबाट एक करोड सहयोग

निशा हुमाँगाई

मंगलबार, ११ चैत्र २०७६, ०९ : ३५ मा प्रकाशित

कोभिड–१९ विरोधी लडाईंमा भाटभटेनी समूहबाट एक करोड सहयोग

अर्थ संसार, काठमाडौं – मुलुकको प्रतिष्ठित व्यापारिक घराना भाटभटेनी समूहले कोभिड–१९ विरोधी लडाईंमा तत्काल एक करोड रूपैयाँ खर्च गर्ने भएको छ । 

भाटभटेनी समूहले सरकारले खडा गरेको कोरोना संक्रमण (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमार्फत उक्त रकम खर्च गर्ने समूहका अध्यक्ष मिनबहादुर गुरूङले बताएका छन् । ‘हाम्रो समूहले सरकारले खडा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई एक करोड रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनेछ,’ गुरूङले भने, ‘हामी उक्त रकमको चेक तत्काल कोषलाई उपलब्ध गराउनेछौं, कोषले आवश्यकता अनुसार परिचालन गर्नेछ ।’

यसैगरी, विपतकाे घडीमा समूहले थप सहयोगको विषयमा पनि सोच बनाएको उनले बताए । ‘मुलुकमा विपत्ति आउँदा हिजो पनि हामीले सक्दो सहयोग गरेका थियौं । यसपालि पनि त्यसका लागि तयार छौं,’ उनले भनेका छन् ।

विश्वव्यापी महामारी कोभिड–१९ को दोस्रो बिरामी नेपालमा समेत देखिइसकेको सन्दर्भमा यसको थप संक्रमण रोक्न र संक्रमितको उपचारमा सहयोग पुर्याउन समूहले उक्त रकम उपलब्ध गराउन लागेको गुरूङको भनाइ छ । 

त्यसैगरी, भाटभटेनी समूहले विपतकाे अवस्थामा यस किसिमको सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा मुलुक भूकम्प, बाढी–पहिरो जस्ता दैवी विपत्तिको चपेटामा परेको बेला पनि सहयोग गर्दै आएको छ । यसबाहेक भाटभटेनी समूहले दुर्गम क्षेत्रका गरिब तथा जेहेन्दार विद्यार्थीलाई मेडिकल साइन्स अध्ययनका लागि छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको