Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ

निशा पाण्डे

मंगलबार, ०२ असार २०७७, १४ : ४१ मा प्रकाशित

चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ

अर्थ संसार,काठमाडौं -एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ। गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो।

अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको भनिएका चिकित्सकको पुनः परीक्षण गर्दा आज नतिजा नेगेटिभ आएको हो। उनीसँगै अस्पतालका १६ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको नतिजा पनि नेगेटिभ आएको छ। यसअघि सोही अस्पतालका ५५ जनाको नतिजा नेगेटिभ आएको थियो।

श्रेष्ठले यस अवधिमा करीब एक सय जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र त्यहाँ उपचाररत बिरामीको परिक्षणमा नतिजा नेगेटिभ आएको जानकारी दिनुभयो। पोजेटिभ देखिएका बिरामीको भरतपुर अस्पताल लगेपछि उपचारको क्रममा मृत्यु भएको थियो।

ती बिरामी राखिएको सघन उपचार कक्षमा काम गर्ने चिकित्सकको सम्पर्कमा आएका र ती बिरामीको सम्पर्कमा रहेका आफन्तको पिसिआर परीक्षण नेगेटिभ आएको हो। अस्पतालका बिरामी र चिकित्सकको नतिजा पोजेटिभ आएपछि सेवा ठप्प भएको अस्पताल आइतबारबाट सञ्चालनमा आएको छ।

सङ्क्रमण देखिएका क्षेत्रमा पूर्ण रुपमा निर्मलिकरण गरेर सुरक्षित गरिएको छ। आजबाट सघन उपचार कक्ष पनि सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो। चिकित्सक र बिरामीलाई सङ्क्रमण देखिएपछि अस्पतालले उनीहरुसँग सम्पर्कमा आएका सबै चिकित्सकसहितका कर्मचारीलाई होटलको क्वारेन्टिनमा राखेको थियो।

सङ्क्रमण देखिएका चिकित्सकलाई अस्पतालकै क्वारेन्टिनमा राखिएको थियो। स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार नारायणी सामुदायिक अस्पतालका चिकित्सक र बिरामीको सम्पर्कमा रहेका सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो। अस्पतालका सञ्चालक विष्णु कुँवरले सबैको नतिजा नेगेटिभ आएसँगै आजबाट बिरामी र चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण बनेको बताउनुभयो।

यस सङ्कटको घडीमा कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न यस अस्पताल सधैँ तयार रहेको भन्दै उहाँले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको निर्देशिकाअनुसार उपचार भइरहेको बताउनुभयो। क्यान्सरसहितको उपचार हुने यस अस्पतालले गतवर्ष एक लाख १३ हजार बिरामीको उपचार गरेको थियो। - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको