Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमईको सेयर किन्दै हुनुहुन्छ ? पहिला हेरौं, कम्पनी विश्लेषण

आइतबार, १३ साउन २०७५, ०९ : ०० मा प्रकाशित

ग्लोबल आइएमईको सेयर किन्दै हुनुहुन्छ ? पहिला हेरौं, कम्पनी विश्लेषण

प्रमुख गतिविधि

रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । माघ १० गते कम्पनी रजिष्ट्रार कार्यालयले प्रदान गरेको अनुमतिअनुसार कम्पनीको नाम ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, १३ साउन २०७५)

कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चौथोे त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • कम्पनीले यो त्रैमासमा १ करोड ५८ लाख खुद मुनाफा कमाएको छ । अघिल्लो वर्ष उसले १ करोड १२ लाख खुद मुनाफा कमाएको थियो ।

  • पुँजीमा ७० प्रतिशत वृद्धि र खुद नाफामा ४१ प्रतिशत वृद्धिले प्रतिशेयर आम्दानी १९ दशमलव ९८ रुपैयाँबाट घटेर १६ दशमलव ५३ रुपैयाँमा आइपुगेको छ ।

  • जगेडा कोषमा १९ प्रतिशत वृद्धि भएको छ । कोषमा अहिले ४ करोड ९२ लाख रहेको छ ।

  • सापटी रकम १३२ प्रतिशत वृद्धि भएर ९९ करोड ४६ लाख पुगेको छ भने कर्जा प्रवाह १४१ प्रतिशत वृद्धि भएर १ अर्ब १० करोड पुगेको छ । त्यस्तै, कम्पनीले ३६ करोड ८ लाख निक्षेप सङ्कलन गरेको छ । निक्षेप सङ्कलन १२१ प्रतिशत वृद्धि भएको छ ।

  • कम्पनीको प्रमुख आम्दानीको स्रोतमा रहेको खुद ब्याज आम्दानी १४ प्रतिशत वृद्धि भएको छ । खुद ब्याज आम्दानीबापत ५ करोड ७५ लाख कमाएको छ । कम्पनीले अहिले ४९ लाख १५ हजार प्रोभिजन गरेको छ भने जोखीम कोषबाट रकम फिर्ता भएको छैन ।

  • निष्क्रिय कर्जामा व्यापक कमी आएर शून्य दशमलव ७६ प्रतिशत छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा निष्क्रिय कर्जा २ दशमलव ४१ प्रतिशत थियो । त्यस्तै, निष्क्रिय कर्जाका लागि ३०६ दशमलव ८९ प्रतिशत रकम प्रोभिजन गरेको छ ।

  • कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १५१ दशमलव २९ रुपैयाँ, तरलता अनुपात १६ दशमलव ७६ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १६१३ दशमालव ७२ रुपैयाँ रहेको छ ।

निष्कर्ष :
सापटी रकम, कर्जा र निक्षेपमा आएको ठूलो मात्राको वृद्धिले कम्पनी व्यापार व्यवसाय फैलाउँदै गरेको प्रस्ट हुन्छ । निष्क्रिय कर्जालाई २ दशमलव ४१ प्रतिशतबाट १ प्रतिशतभन्दा मुनि राख्नु कम्पनीको सकारात्मक पक्ष रहेको छ ।

प्राविधिक विश्लेषण : ग्लोबल आईएमई लघुवित्त प्रवृत्तिहीन

प्रतिरोध २ : १३०० । प्रतिरोध १ : १२२४ । हालको अन्तिम मूल्य : ११४५ । टेवा : ११२० देखि ११४० को क्षेत्र

बजारको अवस्था
यस कम्पनीको २६ जुलाई, २०१८ मा अन्तिम कारोबार मूल्य १ हजार १ सय ४५ मा रहेको छ । अघिल्लो दिन पनि यही मूल्यमा अन्तिम कारोबार भएको थियो । यो त्यसअघिको दिनको भन्दा ३१ रुपैयाँ अर्थात् २ दशमलव ६४ प्रतिशत कमी हो । यो कम्पनीको १ सय ५८ कित्ता शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ४० कित्ता बढी हो ।

मूल्यको प्रवृत्ति विश्लेषण :
चार्टमा देखिएबमोजिम विगत ३ महीनादेखि मूल्यको प्रवृत्ति प्रवृत्तिहीन रहेको र हाल मूल्य १ हजार १ सय २० देखि १ हजार १ सय ४० को टेवाक्षेत्रमा रहेको देखिन्छ ।

अन्य प्राविधिक सङ्केतहरू :
मुभिङ एभरेज (एमए) : छोटो र लामो समयावधिको मुभिङ एभरेजहरूले डेड क्रश बनाएकोले बजार केही सच्चिन सक्ने सङ्केत गरेको छ ।

रिलेटिभ स्ट्रेन्थ इण्डेक्स (आरएसआई) : १४ दिनको आरएसआई ४२ अङ्कमा रहेको र यसको प्रवृत्तिले बजार सकारात्मक भएको सङ्केत गरेको देखिँदैन ।

स्टोकास्टिक अक्सिलेटर : यसको प्रवृत्तिले पनि बजार सकारात्मक भएको सङ्केत गरेको छैन ।

मैनबत्ती : अन्तिम दिनको मैनबत्तीले बजारमा त्यस दिन क्रेताको चाप कम रहेको बुझाएको छ ।

निष्कर्ष :
मूल्यको प्रवृत्ति टेवाक्षेत्रमा भए पनि माथिका सूचकहरूले बजार बढिहाल्ने सङ्केत गरेको छैन । त्यसैले, यो कम्पनीको कारोबार गर्नुअघि बढ्दो बजारको सङ्केत कुर्नु आवश्यक देखिन्छ । यसले गर्दा बजारबाट हुन सक्ने जोखीम कम गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको