आइतबार, ०५ फागुन २०७५, ०५ : ५६
प्रिय सुफी कसरी लेखियो ? किन लेखियो ? -सुबिन भट्टराई
शनिबार, २० असोज २०७५

कुनै पनि कथा उत्कृष्ट हुनको लागि त्यसले सबैभन्दा पहिले लेखक स्वयम्लाई छुनुपर्छ । लेखकलाई छोइसकेपछि, त्यसले लेखकजस्तै मन मुटु भएका हजारौँ पाठकलाई पनि छुन्छ । तर सबैलाई छुँदैन । जति नै राम्रो लेखेपनि त्यसको स्वाद सबैलाई मिठो लाग्छ भन्ने छैन जसरी जति नै मिठो खानेकुरा पाकेपनि त्यो सबैको रुचीको सूचीमा पर्दैन । पाठक कुनै पनि बेला लेखकले लेखेको त्यो कथाको बाटो वा बाटो नजीकै हिँडेको हुनुपर्छ छोइनलाई ।

लेख्दै गर्दा लेखकलाई थाहा पनि हुन्छ ऊसले कस्तो लेखिरहेको छ ? शब्दहरु रोप्दै जाँदा शरीरमा काँडा उम्रन्छन् । पात्रहरु आफ्नै वरपर छन् झैँ लाग्न थाल्छन् । लेखन बाहेक अन्यत्र कहीँ केही ध्यान रहन्न । भावुक प्रस·हरुमा आँशु नै तप्प चुहुन्छन् । धेरै नै राम्रो लेखिएको छ भने पढेर कसैलाई सुनाइहाल्ने हत्तारो पनि हुन्छ । यो सब लेखन राम्रो हुँदाका अनुभवहरु हुन् ।
तर म यहाँ मेरो पछिल्लो उपन्यास प्रिय सुफी का बारेमा चर्चा गर्न आएको छु । कसरी लेखियो प्रिय सुफी ? किन लेखियो ? लेख्दाका केही अनुभवहरु बाँड्न चाहन्छु ।कथाकी पात्र, समर लभ, साया र मनसुन गरेर चारवटा किताब छापिसकेपछि अब पालो नयाँ किताबको थियो । कथाकी पात्र छाडेर बाँकीका तीनवटै किताब मा मैले एउटा केटा र केटीको प्रेमलाई महत्व दिएँ । कथाकी पात्रले लेखन क्षेत्रमा पहिलो पाइला टेक्न सघायो ।

समर लभ ले मलाई मेरा प्रिय पाठकहरुसामु चिनायो । सायाले सफलताको केही खुड्किला पक्कै चढायो । मनसुन ले त्यही सफलतालाई पिठ्यूँमा बोकेर थेगिदियो । तर म सन्तुष्ट हुन सकिरहेको थिइँन । मान्छे पूर्ण सन्तुष्ट त कहिले पो हुन सकेको छ र ? मेरो असन्तुष्टि कथाको विषयलाई लिएर थियो । प्रेम त लेखेँ तर योपटक अलिक भिन्न प्रेम लेख्न मन लागिरहेको थियो ।

केही प्रेरणादायी कुरा लेख्ने मन भइरहेको थियो । तर दिमागमा केही कथा थिएन । एकदिन घुम्दै फिर्दै जाँदा श्रीमतिलाई सोधेको थिएँ, ‘के पो लेख्ने होला योपटक ?’ ऊनले भनेकी थिइन्, ‘त्यो तीन वर्ष अघि कान्तिपुरको कोसेलीमा छापिएको संस्मरणलाई कथामा उतार्दा के होला ?’

उनले यस्तो संस्मरणको कुरा गरेकी थिइन् जो धेरै भन्दा धेरै पाठकले रुचाइदिनुभएको थियो । शुरुमा आनाकानी गरेतापनि पछि पछि म कन्भिन्स्ड हुँदै गएँ । पछिल्ला दिनहरुमा म पाठकहरुलाई मनोरञ्जन मात्र होइन केही प्रेरणा पनि दिन चाहिरहेको थिएँ । कान्तिपुर साप्ताहिक मा आउने मेरो स्तम्भ युवा मन मार्फत् मेरो लेखनको प्रेरणादायी पाटोपनि पाठकहरुले पक्कै भेट्टाउनुभएको थियो ।

कलेज पढ्दा म बाथको समस्याले आक्रान्त थिएँ । प्लस टू पढ्दा दुइपटक र मास्टर्स पढ्दा एकपटक गरेर जम्मा तीन पटक मलाई बाथले आक्रमण ग¥यो । अरुलाई प्लस टु सक्न दुइ वर्ष लाग्छ, मलाई चार वर्ष लाग्यो । ओछ्यानमा कोपरा थापेर दिसापिशाब गर्ने स्थिति थियो । म धेरै नै डिप्रेस्ड थिएँ । मलाई मान्छेहरु स्वस्थ भएको डाहा लाग्थ्यो । मलाई मान्छेहरु हाँसेको, रमाएको अचम्म लाग्थ्यो । उनीहरु ठमठम हिँडेको देखेर म आरिसले आक्रान्त हुन्थेँ । ममात्रै किन रोगी ? ममात्रै किन डिप्रेस्ड ? धेरै पटक मर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म कहिल्यै उठेर हिँड्न सक्तिनँ जस्तो लाग्थ्यो । म कहिल्यै ठीक हुन्छ जस्तो लाग्दैनथ्यो । मेरो आत्माबाट उडेर अलप भएको आत्मविश्वास फिर्ता कहिल्यै आउँदैनजस्तो लाग्थ्यो ।
भएभरका औषधीहरु एकैचोटी खाऊँ भन्ने सोच कुनै सुमय नआएको होइन । तर मैले त्यसो गरिनँ । म मरिनँ । म बाँचे । बाँचेरै जितेँ । मरेको भए त हार्थेँ । आफ्नै जीवनसित । यो संसारसित । मैले त कति धेरै थोक गर्नुरैछ । यत्रा किताब लेख्नु रैछ । मेरा पाठकहरुको यति धेरै माया पाउनु रैछ । मेरा मातापितालाई आफ्नो छोरोप्रति गर्व गर्नलायक बनाउनु रैछ । प्रेम गर्नुरैछ । बिहा गर्नुरैछ । यति धेरै ठाउँमा घुम्नु रैछ । यति धेरै साथीहरुसित संगत गर्नुरैछ । कत्ति राम्रा राम्रा सिनेमा बने, ती सिनेमाहरु हेर्नुरैछ । कति राम्रा राम्रा पुस्तकहरु छापिएर, ती पढ्नुरैछ । धेरै परिवर्तन देख्नु रैछ । यो संसार कति सुन्दर छ, त्यो थाहा पाउनु रैछ । क्षणभरको दुःखको सन्तापमा लम्बेचौडे खुसीहरुको घाँटी झन्नै ननिमोठेको ।

हो, यही अनुभवलाई लिएर लेखिएको त्यो संस्मरणलाई उपन्यासका रुपमा उतार्न म हौसिएँ । मान्छे देख्छ आफ्ना आँखा अघिल्तिर एउटा दुःख र त्यही एउटै कारणले छिनमै सिद्याइदिन्छ आफ्नो जीवन । मान्छे बुझ्दैनन् बाँच्ने हजारौँ कारण हुन्छ । पत्रपत्रिकामा अक्सर आफ्नै जीवन सिद्याउनेहरुको समाचार पढेर कैयौँपटक कमसेकम सिँगो दिन खराब भएको कैयौँ अनुभव मसित थियो । सोचेँ, यस्तो किताब लेखौँ, मर्ने सोच राखिरहेको मानिसको हातमा पुग्यो भने, ऊसले त्यो साचाइ त्यागोस् । आफ्नै जीवनलाई प्रेम गरोस् । आफैँलाई प्रेम गरोस् । प्रेम अरुमा नखोजोस् । अरुमा प्रेम खोजेर आफूलाई दुखी नबनाओस् । आफैँलाई प्रेम गरेर आफ्नै जीवनको बगैँचा आफैँ स्याहारोस् । लक्ष्य ठूलो राखेँ र नियत सफा । र लेख्न बसेँ, प्रिय सुफी ।

कपासको डल्लोजस्तै कथालाई मस्तिष्कको मन्थनले कात्दै कात्दै मसिनो धागोजस्तै स्लिम आकारमा ल्याएँ । कल्पनाका थुप्रै रङहरु पोतिदिएँ । र करीब चार महिनाको बसाइपश्चात् तयार भयो प्रिय सुफी । जो अहिले पाठकहरुको पनि प्रिय भइरहेको छ । अहिले पाठकहरु भन्नुहुन्छ, यो पढ्दा कतै हाँसे, कतै रोएँ, कतै रिसाएँ, कतै दिक्क लाग्यो र कतै हिम्मत पलाएर आयो । वहाँहरुको पठन अनुभव मेरो लेखन अनुभवसित कतै फरक छैन । यो लेखिरहँदा, ठाउँ ठाउँमा मपनि मन्द मुस्कुराउँथेँ, ठाउँ ठाउँमा रुन्थेँ पनि । ठाउँ ठाउँमा शरीरमा काँडा उम्रेजस्तो हुन्थ्यो । ठाउँ ठाउँमा आफसेआफँ उर्जा आउँथ्यो । अहिलेपनि प्रिय सुफी को जुनसुकै पन्ना पल्टाएर पढ्न थाल्छु, लाग्छ कथा त्यहीँबाट शुरु भएको छ ।
अहिले यतिखेर प्रिय सुफी पढिसकेपछि आएको पाठकहरुको प्रतिक्रियाको न्यानो घाम म यतिखेर तापिरहेको छु । एउटा लेखकको लागि संसारमा सबैभन्दा महत्वपूर्ण र प्रिय अनुभव नै यहि हो कि आफूले भन्न खोजेको कुरा पाठकले राम्रोसित सूनून् ।

मैले जे भोगेँ, जति भोगेँ त्यो भोगाइको एक चौथाइ भागमात्रै हो प्रिय सुफी । उपन्यास मेरो आत्मसन्तुष्टिको लागि त पक्कै हो तर पाठकहरुको पठन धैर्यलाई पनि मैले बिचार गर्नुपर्ने हुन्छ । त्यसैले आफ्ना सबै भोगाइ र दुखाइलाई मैले यसमा पोखिनँ । ती कुनै बेला, लामा छोटा लेख, रचना, कथा, उपन्यासमा कुनै अर्कै रुपमा पक्कै आउनेछन् ।

(प्रकासित: कान्तिपुर साप्ताहिक २०७५ असोज १९)

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved