Like us!
Follow us!
Connect us!
Watch us!
मुलुकका ७३ जिल्लामा आस्बाको सुविधा, फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सबाट कार्यान्वयनमा आउने

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ३० बैंकलाई अनुमति [सुचिसहित]

सोमबार, ०३ माघ २०७३, १८ : १५ मा प्रकाशित

साधारण सेयर भर्दा खातामै रकम रोकिने प्रणाली सुरु गर्न ३० बैंकलाई अनुमति  [सुचिसहित]

 

 अर्थ संसार

काठमाडौं–साधारण सेयरमा आवेदन गर्दा तिर्नु पर्ने रकम आफ्नै खातामा रोकेर राख्ने आस्बा प्रणाली लागू गर्न धितो पत्र बोर्डले ३० बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएको छ । बोर्डले २१ बाणिज्य बैंक र ९ वटा विकास बैंकलाई अनुमति दिएको हो । बोर्डले आस्बामा सहभागी हुन योग्य बैंक वा वित्तीय संस्थालाई अनुमतिका लागि निवेदन दिन सार्वजनिक सूचना गरेको थियो । त्यस अबधिमा आवेदन दिने सेन्चुरी, सानिमा, सिद्धार्थ, सनराइज, सिटिजन्स, एनवि, कुमारी, एनआइसी एशिया, लक्ष्मी बैंक कैलास विकास बैंक,  एस डेभलपमेन्ट बैंकलगायतका बैंकलाई अनुमति दिएको बोर्डले जनाएको छ । ती बैंकले ७३ जिल्लाका १५०७ शाखाहरुमार्फत आस्वा प्रणालीको सेवा प्रदान गर्नेछन् ।

बोर्डले उक्त प्रणालीमा सहभागी हुन निवेदन दिने समयावधी तोकिएको छैन । अन्य योग्य बैंक तथा वित्तीय संस्थाहरुले समेत वोर्डमा सम्पर्क गरेर निवेदन दिनेक्रम जारी रहेको जनाइएको छ । धितोपत्रको सार्वजनिक निष्काशन कार्यलाई छिटो छरितो र पारदर्शी बनाई सर्वसाधारण लगानीकर्ताहरुले सहज रुपमा धितोपत्र खरीद गर्न सक्ने व्यवस्था गर्ने उद्देश्यले बोर्डबाट स्वीकृत धितोपत्र खरिद सार्वजनिक निष्काशन सम्बन्धी निर्देशिका वमोजिमको आस्वा प्रणाली माघ १ देखि लागू गर्ने निर्णय बोर्डले गरिसकेको छ । पहिलो पटक आस्बा प्रणाली यही माघ ९ गतेदेखि साधारण सेयर निस्कासन गर्न लागेको फर्वार्ड कम्युनिटी माइक्रो फाइनान्सको आवेदनमा कार्यान्वयनमा आउने बोर्डले जनाएको छ ।

यसका लागि बोर्डले बैंक तथा वित्तीय संस्थाको केही योग्यता तोकेको छ । जसअनुसार नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गरेको, प्रति शेयर चुक्ता पूँजीभन्दा प्रति शेयर नेटवर्थ बढी भएको, कम्तीमा पाँच वर्ष सञ्चालनमा रहेको र कम्तीमा पछिल्लो दुई वर्ष खुद नाफामा सञ्चालनमा रहेको हुनु पर्ने छ । 

त्यस्तै निष्कृय कर्जा पाँच प्रतिशतभन्दा कम रहेको, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएको भए त्यसको फुकुवा भएको तीन वर्ष पूरा भएको, काठमाण्डौं उपत्यकाभित्र कम्तीमा चार वटा शाखा कार्यालय भएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत भएको,  बैंकरवित्तीय संस्थाको प्रबन्धपत्र वा नियमावलीमा धितोपत्र खरिदको दरखास्त संकलन सम्बन्धी कार्य गर्न सक्ने व्यवस्था उल्लेख भएको हुनु पर्ने योग्यता बोर्डले तोको छ ।

धितोपत्र बाँडफाँड गर्न लामो समय (७० दिनसम्म) लाग्ने गरेको, झन्झटिलो रहेको, लागत उच्च हुने गरेको, लगानीकर्ताहरुले आफ्नो लगानी रकममा पूरा प्रतिफल प्राप्त नगरिरहेको, संकलित रकमका कारण बैंकिङ्ग प्रणालीको तरलतामा उतार चढाव आउने गरेको र धितोपत्रको सूचिकरण गर्नसमेत लामो समय लाग्ने गरेकाले यस्ता समस्या निराकरण गर्ने क्रममा सार्वजनिक निष्काशनमा आस्बा प्रणाली लागू गर्न लागिएको बोर्डले जनाएको छ । 

यस प्रणालीअन्तर्गत लगानीकर्ताले आफ्नो खाता रहेको बैंकमा आफूले धितोपत्रमा लगानी गर्न चाहेको रकम रोक्का राख्न बोर्डले तोकेको ढाँचा अनुसारको विद्युतीय रुपमा धितोपत्र खरिदका लागि आवेदन गर्न सक्ने छन् । त्यसरी आवेदन गरेपछि संबन्धित ब्यक्तिले खाताबाट झिक्न नपाउने गरी उक्त रकम बित्तीय संस्थाले रोक्का राख्ने छ ।

सेयर बाँडफाँट भएपश्चात् कति सेयर परेको हो, त्यति बराबरको रकम मात्र लगानीकर्ताको खाताबाट निष्काशनकर्ता कम्पनीको खातामा हस्तान्तरण हुनेछ ।  धितोपत्र नपाएको अवस्थामा लगानीकर्ताको खातामा रोक्का रहेको रकम फुकुवा हुने छ ।

 

यस्तो प्रणाली लागू भएसँगै विद्यमान धितोपत्र बाँडफाँडको समयमा उल्लेख्य सुधार हुने बोर्डको दावी छ ।  नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नुपर्ने अवस्थाको अन्त्य हुने छ । त्यस्तै निष्काशित धितोपत्रको सूचिकरणसमेत छिटो गर्न सम्भव भई लगानीकर्ताहरुले बजारबाट छिटो निकास पाई लाभान्वित हुने सक्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको