Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासको कुरा गरेर सम्मान त मिल्ला तर देश समृद्ध बन्दैनः संयोजक भट्टराई

आइतबार, २० माघ २०७५, १७ : १५ मा प्रकाशित

इतिहासको कुरा गरेर सम्मान त मिल्ला तर देश समृद्ध बन्दैनः संयोजक भट्टराई

अर्थ संसार,भोजपु-नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले शासकीय असक्षमताका कारण स्वर्गजस्तो देशमा गरिब भएर कहिलेसम्म बस्ने भन्दै प्रश्न गर्नुभएको छ ।  

पार्टीले सञ्चालन गरेको जनसंवाद यात्राको क्रममा भोजपुरको च्यांग्रेमा पौवादुङ गाउँपालिकाले आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उहाँले भन्नुभयो, 'हाम्रा नेताहरु जेल बसेको र अन्य इतिहासका कुरा गरेर बस्नुहुन्छ, त्यसरी केही समय सम्मान पाउन त सकिएला तर देश बनाउन सकिँदैन ।' उहाँले शासकीय असक्षमताका कारण नागरिक गरिब भएर बस्नुपर्ने अवस्था बिडम्बनापूर्ण रहेको बताउनुभयो  ।

'अहिले हाम्रोमा चल्ते चलाते ढंगले सबैकुरा चलिरहेको छ,' उहाँले भन्नुभयो, 'हाम्रो पुस्ताले ७ दशक लामो लड्ने, भिड्ने, जेल जाने आदि गतिविधि गरेर व्यवस्था परिवर्तनमा ठूलो योगदान दिइसक्यो ।' विकास र समृद्धि अर्कै काम भएको उल्लेख गर्नुहुँदै हिजोको योग्यता र क्षमता मात्रै यो नयाँ काम गर्न यथेष्ट नहुने उहाँको तर्क थियो ।

'हाम्रो पुस्ताले एउटा काम गर्‍यो । विकास र समृद्धि अर्कै काम हो । घर भत्काउन धेरै सिप चाहिँदैन, बनाउन धेरै सीप चाहिन्छ,' उहाँले भन्नुभयो, 'बनाउन नयाँ पुस्ता र नयाँ मानिसहरुले सक्छन् कि हामीमा रुपान्तरण चाहिन्छ ।'

हिजोकै विचार, शैली, नेतृत्व, संगठन र ढाँचाले समृद्धि ल्याउन नसकिने उहाँको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, 'नेतृत्वमा क्षमता र सीप नभई हुँदैन ।'

डा.भट्टराईले आफ्नो पुस्ताले समातेको साम्यवाद र पुँजीवादमा अहिले परिमार्जन भइसकेको सन्दर्भहरु उल्लेख गर्नुभयो ।

'नेपाल न जाडो न गर्मी र सुरक्षित पनि क्षेत्र भएकोले यहाँ धेरै थरीका मानिसहरु आएर बसे । यहाँ मिश्रित जातिहरु रहेका पाइन्छन्,' उहाँले भन्नुभयो, 'त्यसैले हाम्रो राष्ट्रियता इन्द्रधनुषी राष्ट्रियता हो ।' नेपालमा उपलब्ध प्राकृतिक र जातीय विविधतालाई अवसरको रुपमा उपयोग गर्दै तीव्र गतिमा समृद्धिमा जानुपर्नेमा उहाँको जोड थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले अगाडि थप्नुभयो, 'गरिबी र बेरोजगारी उन्मुलन गरेर सबैले प्रतिफल पाउने र दिगो विकास समृद्धिको मोडेल अपनाउनु आवश्यक छ । यसलाई हामीले 'समृद्धि- सबैका लागि, सधैंका लागि' भनेका छौं ।'

उहाँले आफूहरु जनताबाट सिक्न आएको र आफूले भनिरहेको कुरा गलत रहेछ भने फेर्न र फेरिन तयार रहेको बताउनुभयो  । उहाँले एक महिने अभियान सकिएसँगै यात्राको सिकाईको आधारमा नयाँ ढंगले अगाडि बढ्ने जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको