Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

आइतबार, १७ चैत्र २०७५, १३ : १८ मा प्रकाशित

ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

अर्थ संसार, काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लगानी सम्मेलनमा आएका चीन, कोरिया र अष्ट्रियाका लगानीकर्तालाई ढुक्क भएर नेपालको जलस्रोतमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

ती देशका लगानीकर्तासँग आज भएको छुट्टाछुट्टै छलफलमा मन्त्री पुनले भन्नुभयो, “नेपालमा लगानीको वातावरण बनेको छ, नीतिगत सुधार भएको छ । तपाईहरु विनाहिच्किचाहट लगानीका लागि आउनुस् ।”

मन्त्री पुनले ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक कम्पनीका उच्च अधिकारीसँग लामो छलफल गर्दै लगानीका लागि आग्रह गर्नुभयो । मन्त्रालयले विदेशी लगानीकर्तालाई आवश्यक सहजीकरण गर्ने उहाँको भनाइ थियो ।

मन्त्री पुनले पावर चाइनाका अध्यक्ष सोङ डोंगसेङगसँगको भेटमा जलविद्युत् क्षेत्रका लागि आफूले आन्तरिक र बाह्य बजार बनाउने भन्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले पावर चाइनाले लगानी गर्न चाहे सरकार सहजीकरण गर्न तयार रहेको धारणा राख्नुभयो । भेटमा पावर चाइनाका अध्यक्ष डोंगसेङगले पावर चाइनाले नेपालका २५ वटा परियोजना बनाउने तयारी गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तल्लो अरुण, किमाथांका र आँधीखोलाजस्ता परियोजनामा हामी लगानी गर्न चाहन्छौँ, त्यति मात्र होइन हामी ‘अफ ग्रीड पावर’को क्षेत्रमा पनि काम गर्न इच्छुक छौँ ।”

मन्त्री पुनले सरकार, सरकारी कम्पनी र निजी क्षेत्रसँग मिलेर परियोजना निर्माण गर्ने भन्दै त्यसका लागि आफूहरुलाई सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।

डोंगसेङगले पछिल्लो एक वर्षमा ऊर्जा क्षेत्रमा भएको नीतिगत कामको प्रशंसा गर्दै उहाँले नेपाल दक्षिण एशियाकै ऊर्जा केन्द्र बन्नसक्ने धारणा राख्नुभयो । सहुलियतपूर्ण ऋण, बुट र पिपिपी मोडेलमा नेपालमा काम गर्न इच्छुक रहेको उहाँको भनाइ थियो ।

आज नै मन्त्री पुनसँग चाइना नेशनल हेवी मेसिनरी कर्पोरेशनका उपाध्यक्ष वाङ वेइगाओले भेटवार्ता गर्नुभयो । भेटमा उपाध्यक्ष वेइगाओले नेपालको प्रशारण लाइनमा लगानी गर्न आफ्नो कम्पनी इच्छुक रहेको बताउनुभयो । उहाँले सरकारको प्राथमिकता रहेको आयोजनाबारे पनि चासो राख्नुभएको थियो ।

जवाफमा मन्त्री पुनले ऊर्जा मन्त्रालयले प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेको भन्दै त्यसैअनुसार काम गर्न आग्रह गर्नुभयो । “हामीले केही समयअघि मात्र प्रशारण लाइनको ४० वर्षे गुरुयोजना सार्वजनिक गरेका छौँ, बुटवल–कैलाली, मैनतारा–त्रिवेणीजस्ता परियोजना पनि तयारी अवस्थामा छन् । तपाईँहरुको विज्ञता र लगानी यसमा लगाउनुहोस्, हामी सहयोग गर्न तयार छौँ”, मन्त्री पुनले भन्नुभयो ।

उहाँले नलगाड र जगदुल्लाजस्ता आयोजनामा पनि लगानीको अवसर रहेको धारणा राख्नुभयो । माथिल्लो त्रिशूली १ मा लगानी गरिरहेको कोरियन कम्पनी कोरिया साउथ–इष्ट पावरका प्रतिनिधि र ऊर्जामन्त्री पुनबीचसमेत आजै भेटवार्ता भएको छ ।

भेटमा कम्पनीका प्रतिनिधिले ऊर्जा मन्त्रालयले गरेको सहजीकरणप्रति धन्यवाद व्यक्त गर्दै परियोजना तोकिएकै समयमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी अक्टोबरदेखि कम्पनीले निर्माण शुरु गर्ने जानकारीसमेत मन्त्री पुनलाई दिनुभयो ।

त्यसैगरी लगानी सम्मेलनकै लागि भारतबाट काठमाडौँ आएका अष्ट्रियन दूतावासका कमर्सियल काउन्सिलर रोवर्ट लकले मन्त्री पुनसँग भेटवार्ता गर्नुभयो । उहाँले अष्ट्रियाका ऊर्जा तथा सिँचाइमन्त्रीले नेपाली समकक्षी पुनलाई दिएको निमन्त्रणापत्रसमेत हस्तान्तरण गर्नुभएको थियो ।

उहाँले नेपालको ऊर्जा क्षेत्रमा सहकार्य गर्न खोजेको भन्दै सम्झौताका लागि एमओयुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

मन्त्री पुनले शुक्रबार लगानी सम्मेलनपछि म्यान्माका लगानी र वैदेशीक आर्थिक सम्बन्ध हेर्ने मन्त्री यु थाउंग टुन, भारतीय कम्पनी जिएमआरका प्रतिनिधि र एशियाली विकास बैंकका प्रतिनिधिबीच भेटवार्ता गर्नुभयो ।

बैंकका प्रतिनिधिले नेपालको ऊर्जा क्षेत्रमा आफूहरुले लगानी गरिरहेको भन्दै आगामी दिनमा लगानी विस्तार गर्न खोजेको जानकारी दिनुभयो । कूल ६०० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजनामा रु ७० अर्ब लगानी गर्न तयार रहेको बताएका थिए । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको