Like us!
Follow us!
Connect us!
Watch us!

सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार

रबिन दङगाल

आइतबार, ०८ असार २०७६, ११ : २२ मा प्रकाशित

सदरमुकाम बसेर गाउँको बजेट सक्दै स्थानीय सरकार

अर्थ संसार, जाजरकोट- कुशेगाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ ।  गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा कार्यालय सञ्चालन गरेर बजेट सक्दै र घरभाडा बुझ्दै आएका छन् ।
गाउँमा काम परेपछि मात्र गएर छिटोछिटो काम सकेर सदरमुकाम को छिटो आउने भन्ने होडबाजी नै चल्ने गरेको छ । गाउँमा रहेको कार्यायलमा भाडा मात्र भुक्तानी हुँदै आएको छ । गाउँगाउँमा सिंहदरबार आए पनि विकास निर्माणको कार्यशैली भने परम्परागत नै हुँदै आएकामा स्थानीयवासी दिक्क छन् । कुशे गाउँपालिकामा हुने अधिकांश कार्यक्रम सदरमुकाममा गरेर कागजमा मात्र कुशेगाउँपालिकामा गरेको देखाउने चलन अत्यधिक छ ।
वर्षभरि गर्नुपर्ने काम असार लागेपछि मात्रै हतारोमा गर्नुपर्ने  प्रवृत्तिले स्थानीय सरकारको गति पनि उही पुरानै रहेको स्थानीयवासीको तर्क छ । सानो काम परे पनि हजारौँ खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता अझै कायम हुँदा सर्वसाधारण हैरान छन् । जाजरकोटमा सङ्घीय सरकारले पठाएको बजेट जेठ मसान्तसम्म पूँजीगततर्फ साढे नौ प्रतिशत मात्र खर्च भएको छ । त्यस्तै प्रदेश सरकारमार्फत आएको विकास बजेट २१ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय जाजरकोटले जनाएको छ । काम गर्ने शैलीमा परिवर्तन नल्याउँदा परम्परादेखि चल्दै आएको असारे विकास यसपटक पनि दोहोरिएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । अन्तिम महीनामा सिङ्गो बजेट कसरी सिध्याउने भन्नेमा स्थानीय सरकार अलमलमा छन्। अन्य स्थानीय तह आ–आफ्नै पालिकामा गएर सेवा दिए पनि कुशेगाउँपालिका, जुनीचाँदे गाउँपालकिा र बारेकोट गाउँपालिकाले भने सदरमुकामबाट सेवा दिँदै आएका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको