Like us!
Follow us!
Connect us!
Watch us!

कैदीबन्दी स्वरोजगार बन्दै

रबिन दङगाल

विहीबार, ०२ साउन २०७६, १३ : १२ मा प्रकाशित

कैदीबन्दी स्वरोजगार बन्दै

अर्थ संसार, रोल्पा- रोल्पा कारागारका कैदीबन्दीहरुले स्वरोजगार बन्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीहरुले सीपमूलक तालीमपश्चात् स्वरोजगार बन्न थालेका हुन् । 

उनीहरुको मनोबल बढाउन तथा आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारको सहयोगमा एकमहीने मुढा बनाउने तालीम दिएको थियो । त्यसअघि टोपी बुन्ने तालीमसमेत लिइसकेका उनीहरुका लागि ढाका टोपी बुन्ने र मुढा बनाउनका लागि मेशिन औजारसमेत हस्तान्तरण गरिएको थियो । सामग्री पाएका उनीहरुमध्ये अधिकांशले आफ्नो कामलाई निरन्तरता दिइरहका छन् भने कतिपय कैदीबन्दीहरु काम नगरी त्यतिकै बसेका छन् । कारागारभित्र सिकेको सीपले कैद भुक्तानपछि पनि जीविकोपार्जनमा मद्दत गर्ने भएकाले आफूले कामलाई निरन्तरता दिएका कैदीबन्दी तुलाधर घर्ती मगरको भनाइ छ ।

मिहिनेत र परिश्रम गरी कारागारभित्र उत्पादन गरेका मुढालगायत विभिन्न सामाग्रीले सोचेजस्तो बजार नपाउँदा कहिलेकाहीँ नैराश्यता बढ्ने गरेको कैदीबन्दी ईश्वर महराले बताए। “आफूहरुले उत्पादन गरेको सामग्रीको प्रचारप्रसार हुन नसक्दा बजारीकरणको समस्या भएको हुन सक्छ”, महराले भने ।

कारागार बसाइलाई सहज बनाउन पनि यस्ता सीपमूलक क्रियाकलापले सहयोग गर्ने प्रजिअ लक्ष्मण ढकालको भनाइ छ । “कारागारलाई सुधारगृहका रुपमा विकास गर्न यस्ता सीपमूलक तालीमले सहयोग गर्न सक्छन्”, प्रजिअ ढकालले भने । सीपलाई सदुपयोग गरी आयआर्जन लाग्नुपर्ने प्रजिअ ढकालको सुझाव छ । 

जिल्ला  कारागार रोल्पामा हाल ६ महिला र ७४ पुरुष गरी ८० जना कैदीबन्दी रहेको इञ्चार्ज ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए। 

बजारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीले बनाएका यी विभिन्न सामग्रीहरुले उचित मूल्य पाउन सकेका छैनन् । कारागार आसपास वा बजारको अन्य क्षेत्रमा समेत बिक्री वितरण कक्षको व्यवस्था गर्न सके जेलजीवन बिताइरहेका कैदीहरुको मनोबल बढ्नाका साथै उनीहरुको श्रमले मूल्य पाउने थियो । यसतर्फ ध्यान जान जरुरी रहेको बताइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको