Like us!
Follow us!
Connect us!
Watch us!

पहाडी सडक खुलेपछि खाद्यान्न ढुवानी

विहीबार, ३० साउन २०७६, १३ : ३३ मा प्रकाशित

पहाडी सडक खुलेपछि खाद्यान्न ढुवानी

अर्थ संसार, काठमाडौं –वर्षाका कारण भत्किएर एक महीनासम्म अवरुद्ध बनेको उदयपुर जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको सडक खुलेपछि खाद्यान्न ढुवानी शुरु भएको छ । सदरमुकाम गाईघाट बजार र रौतामाइ गाउँपालिकाको व्यापारिक केन्द्र मुर्कुचीबजारबाट उदयपुरको मध्यउत्तरी पहाडी क्षेत्रका विकट गाउँहरु जाँते, लाफागाउँ, बराह, बासबोटे, बलाम्ता, ताम्लिछा, छताङ, माझखर्क, इनामेसहित गाउँ जोड्ने सडक मर्मतका साथै खसेको पहिरो हटाइएकाले सवारीसाधानबाट खाद्यान्न पनि ढुवानी गरिएको लिम्चुङबुङ गाउँपालिकाका उपाध्यक्ष रमिलाकुमारी राईले जानकारी दिनुभयो ।

सडक खुलेसँगै बुधबार बिहानैदेखि ट्र्याक्टरबाट जिल्लाको सदरमुकाम गाईघाट र रौताको मुर्कुची बजारबाट झण्डै २० ट्र्याक्टर लिम्चुङबुङको माझखर्क, बासबोटे र बराहमा खाद्यान्न ढुवानी गरिसकिएकाले ती स्थानमा खाद्यान्नको समस्या समाधान हुन थालेको उक्त गाउँपालिकाका कार्यकारी अधिकृत खम्बराज राईले बताउनुभयो । गत असारको अन्तिम हप्ता आएको भीषण बाढी र पहिरोका कारण सदरमुकाम गाईघाट र व्यापारिक केन्द्र मुर्कुचीदेखि जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रका गाउँहरु जोड्ने सम्पूर्ण सडक ठाउँ–ठाउँमा पहिरोले पुरिएको र भत्किएपछि सवारीसाधन सञ्चालन हुन नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य वस्तुको अभाव भोग्दै आउनुपरेको सो क्षेत्रका बासिन्दाको गुनासो थियो ।

प्रदेश नं १ को सरकारले हेलिकोप्टरबाट ४१ क्विन्टल चामल सो स्थानमा ढुवानी गरेपनि अपर्याप्त हुँदा यहाँका बासिन्दा असन्तुष्ट थिए तर बल्ल एक महीनापछि सवारीसाधानले खाद्यान्न धुवानी गर्न थालेकाले जनजीवन सहज हुन पुगेको लिम्चुङबुङ बराहका कृष्णराज बरालले बताउनुभयो । रौतामाई गाउँपालिकाले रु १५ लाख, लिम्चुङबुङ गाउँपालिकाले रू २५ लाख र प्रदेश नं १ सरकारले रु २० लाख गरेर कूल रु ६० लाखको लागतमा रौतामुर्कुची डिल्लीबर हुँदै लिम्चुङबुङसम्मको सडक खुलाइएको सडक व्यवस्थापन समितिका संयोजक मनोज बुढाथोकीले बताउनुभयो ।

साउनको ३ गतेदेखि आधादर्जन स्काभेटर तथा जेसिभी र दैनिक पचासौँ मजदुर प्रयोग गर्नाका साथै दिनरात काम गरेर ठाउँठाउँमा भत्किएको तथा पहिरोले अवरुद्ध बनाएको सडक खुलाउन आफूहरु सफल भएको उहाँको भनाइ थियो । लिम्चुङबुङ बराहका देवेन्द्र बरालले भन्नुभयो, “यस पटक फागुनदेखि खडेरी परेकाले मकैबाली सबै नष्ट हुँदा गाउँघरमा अन्य जगेडा अन्न नभएकाले अन्यत्रबाट चामल ढुवानी गर्दै ल्याउनुपरेको थियो । असार अन्तिम सातादेखि वर्षाका कारण एक महीनासम्म सडक अवरुद्ध भएकाले अन्नको अभावमा कष्टपूर्ण तरिकाले दिनरात काट्दै आउनुपरेको थियो तर अब सडक सञ्चालन भएकाले चामल–दाल त किनेर ल्याई खान सकिने भयो ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको