Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

अर्थ संसार

विहीबार, ०२ असोज २०७६, ०८ : ४६ मा प्रकाशित

पत्रकारको बाँकी तलब र दशैँ खर्च उपलब्ध गराउन आग्रह

अर्थ संसार, काठमाडौं-नेपाल पत्रकार महासङ्घले दशैँ नजिकिरहेको सन्दर्भमा श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशैँ पेश्की व्यवस्था गर्न सञ्चार प्रतिष्ठानहरुलाई आग्रह गरेको छ ।
 
काठमाडौँमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बुधबार बसेको बैठकले पत्रकारको बाँकी पारिश्रमिक र दशैँ पेश्की उपलब्ध गराउने निर्णय गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
  
बैठकले  श्रमजीवी पत्रकारहरुका लागि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णयसमेत गरेको छ । बैठकले अनुगमन र दबाब दिनका लागि उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्टको संयोजकत्वमा दुई समिति गठन गरेको छ ।

महासचिव विष्टका अनुसार दुवै समितिले तत्कालै सञ्चार प्रतिष्ठानमा गएर श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सिर्जना गर्नेछ । बैठकले समाचार सङ्कलनार्थ पत्रकारहरु सिंहदरबार प्रवेश गर्दा थप कडाइ गर्दै झन्झटिलो व्यवस्था गरिएकाले सिंहदरबार प्रवेशमा सहज वातावरण बनाएर प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ ।
 
यसैगरी बैठकले रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनरबहाली गर्नसमेत माग गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको