शनिबार, २८ मङि्सर २०७६
सङ्घर्षको अन्तिम विकल्प बन्यो होटल
बिहिबार, १६ असोज २०७६

अर्थ संसार, काठमाडौ – देउमाई नगरपालिकास्थित राँकेका प्रकाश बस्नेतलाई साङ्गीतिक क्षेत्रमा रमाउँदा रमाउँदै विदेश जानुपर्ने बाध्यता आइलाग्यो । घरमा आर्थिक समस्या भएपछि बस्नेत आफ्नै मामाको सल्लाहमा दक्षिण कोरिया हानिए । 

रोजगारीकै लागि उनी कोरिया त पुगे तर, सोचे जस्तो भएन ।  ठूलो लगानी र धेरै परिश्रम खर्चिएकाले फर्किहाल्ने स्थिति रहेन । उनी डेढ वर्षभन्दा बढी समय कोरियामा टिक्न सकेनन् । जति बेलै गाउँघरकै यादले सतायो र अन्ततः स्वदेशमै केही गर्ने अठोटसहित उनी नेपाल फर्किए । विदेशबाट फर्किएपछि उनले जिल्ला सदरमुकाममा बसेर कोरियाली भाषा पढाउन थाले ।

उनी निरन्तर भाषा पढाउनै लागिपरे । खाडी मुलुकमा भौंतारिनेको लहड बढेका बेला कोरिया जान तम्सिने गाउँमा धेरै नै थिए । एक्ला बस्नेतले सबैलाई अध्यापन गराउन सक्ने कुरा भएन तर, उनले हिम्मत भने हारेनन् । राम्रो कमाइ भएसँगै उनलाई कुनै नयाँ व्यवसायमा लगानी गर्न मन भयो । यत्तिकैमा उनले आफ्नै गाउँ राँकेमा ठूलै लगानीमा होटल खोल्ने विचार गरे । आफ्नै जग्गामा तीन करोड रुपैयाँ लगानी गर्दै चार तले घरमा बस्नेतले होटल शुरु गरे । करीव डेढ वर्षअघि खोलेको यो होटलले उनलाई राम्रै प्रतिफल दिइरहेको छ ।

आयातितलाई भन्दा पनि स्थानीय परिकारलाई प्राथमिकता दिन थालेपछि होटलमा ग्राहकको समेत आगमन बढेको बस्नेत बताउँछन् । अहिले उनको होटलमा दैनिक ५० भन्दा बढी मानिस बास बस्छन् । उनले भने – “मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथिभरा जानेहरुको ठूलै जमात होटलमा बस्न आउँछन् । ग्रामीण परिवेशको खानेकुरा खुवाउँदा ग्राहक खुशी हुन्छन् ।” 

उनको होटलमा पाँच जनाले रोजगारी पाएका छन् । बैठक कोठाको समेत व्यवस्था भएको यस चामु होटलमै भविष्यमा स्थानीय वस्तुको प्रशोधन गर्ने एउटा कारखाना खोल्ने उनको सोच छ । 

यस्तै, इलाम नगरपालिकास्थित पुवाझुवाका सोम सुनुवारले पनि अहिले सदरमुकाम छेउमा होटल खोलेका छन् । पैंतालीस वर्षीय सुनुवारले धेरै ‘हण्डर’ खाएपछि होटल खोलेका हुन् । धेरैतिर जागिर खाएपनि स्थायी हुन नसकिने र बीचैमा छाड्नु पर्ने हैरानले गर्दा उनी यो व्यवसायमा लागेका हुन् ।

पन्ध्र वर्षसम्म पत्रकारिता र ठाउँ ठाउँमा जागीर खाए पनि सन्तुष्टि नपाएपछि अन्तिम विकल्पका रूपमा होटल खोलेको सुनुवार सुनाउँछन् । “जागीर पनि धेरैतिर खाएँ तर, छोड भनेका दिन छोड्नु पर्ने हुँदो रहेछ,” सुनुवार थप्छन् – “आफ्नै लगानीमा केही गरियो भने घाटा नाफा आफ्नै भनेर थालेको हुँ ।”

झण्डै आधा दर्जन सङ्घ–संस्थामा जागीर खाए पनि आफ्नै लगानीमा होटल खोल्नु जत्तिकै मज्जा अरू नभएको सुुनुवार उनी बताउँछन् । सुनुवारले भने –  नासाबिके भन्ने संस्थामा पनि दुई वर्ष काम गरें तर, कहिल्यै स्थायी भइएन । प्रोजेक्ट सकिएपछि झोला बोकेर घर नै हिड्नु पर्ने !”

करीव २० लाखको लगानीमा घर भाडामा लिएर होटल खोलेका सुनुवारले आफूसँगै अन्य पाँच जनालाई रोजगारी दिइरहेका छन् । उनको होटलले अर्गानिक खानालाई प्राथमिकता दिँदै आएको छ । 

पछिल्लो समय लगानीयोग्य क्षेत्र ठानेर होटल चलाउनेहरु जिल्लामा थुप्रै छन् । धेरैले वैदेशिक रोजगारीमा कमाएको रकम होटलमा लगानी गरेका छन् । स्वेदशमै बस्नेले पनि लगानीयोग्य क्षेत्रका रुपमा होटल नै रोज्नेहरु पनि छन् । लगानीमैत्री क्षेत्र भएको र ठूला होटल नभएका कारण पनि जिल्लामा पछिल्लो दुई वर्षयता होटल बढेको होटल व्यवसायी सङ्घ इलामका अध्यक्ष देवी पौड्याल बताउँछन् । विसं २०७२ को भूकम्पपछि जिल्लामा होटल बढेका हुन् । त्यसपछि पर्यटकीय प्रवद्र्धनका बढी काम भएकाले पर्यटक बढेका हुन् । उनका अनुसार साठीकै दशकमा सदरमुकाममा ठूला दुई होटल बनेपछि धेरैले यसमा लगानी थालेका हुन् । पछिल्लो समय सीमावर्ती क्षेत्र भारतको इलाममा लगानी बढेको पौड्यालको बुझाइ छ ।  

विसं २०७२ मा यस जिल्ला आउने पर्यटकको सङ्ख्या १४ हजार थियो । यो सङ्ख्या २०७३ मा बढेर ६३ हजार पुग्यो । अहिले निरन्तर बढिरहेको छ । पौड्याल भन्छन् – “यही वर्ष पनि एक लाख ३६ हजार पर्यटक आएको तथ्याङ्क छ तर, अन्य माध्यमबाट आउने पर्यटन पनि धेरै छन् । त्यसैले लगानीमैत्री वातावरण बन्दैछ भन्ने लाग्छ ।”

    अहिले जिल्लामा करीव ४०० को हाराहारीमा होटल छन् । त्यसमध्ये एक करोडभन्दा माथिका १२ वटा छन् । जिल्ला सदरमुकामसहित सूर्योदय नगरपालिकाको फिक्कल, देउमाई नगरपालिकाको मङ्गलबारेलगायतका क्षेत्रमा बढी होटल सञ्चालनमा रहेका छन् । जिल्लामा सरकारीस्तरबाट पनि होटल लगानीमा सहयोग मिले अझ धेरै होटल थपिने अध्यक्ष पौड्यालको विश्वास छ । ––– रासस

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved