Like us!
Follow us!
Connect us!
Watch us!

पुँजि बजारको निरन्तर डाउन फल : फर्किएन लगानिकर्तामा खुशीको पल

मंगलबार, ०१ पुस २०७६, ११ : ०५ मा प्रकाशित

पुँजि बजारको निरन्तर डाउन फल : फर्किएन लगानिकर्तामा खुशीको पल

उतार चढावपूर्ण बजारमा लगानी गरेका लगानीकर्ताहरु आफ्नो लगानीको सुरक्षित अवतरणको लागि सिजनको पर्खाइमै रहेका बेला शेयर बजार भने उपयुक्त सिजन मानिने वर्तमान समयमा नै निरन्तर रुपमा घटिरहेको छ।

‘बियरिस पिरीयड’को  यो लामो समय सेयर होल्ड गरेर बसेका लगानीकर्ताहरुका लागि अहिलेको घटाई  टाउको दुखाई बनेको छ।  आर्थिक वर्षको अन्त्य पछि सूचीकृत संस्थाहरुका वित्तीय विवरणहरु सार्वजनिक भइरहेका छन्। केहीले प्रतिफल घोषणा पनि गरिसकेका छन्।

त्यसको अलावा अधिकाँश साधारण सभा गर्ने तयारीमा छन्। प्रारम्भिक विवरणहरुलाई हेर्ने हो भने सूचीकृत कम्पनीहरुको वित्तीय अबस्था सन्तोषजनक देखिएको छ। पुँजी वृद्धिको तुलानामा बैंक तथा वित्तीय संस्थाहरुको प्रतिसेयर आम्दानीमा पनि अपेक्षित गिरावट आएको देखिँदैन।

पछिल्लो समय भारित औसत लागत विधिबाट लाभकर गणना गर्न सकिने गरि प्रविधिको विकास भएको छ। त्यसैगरी ब्रोकरहरुले मार्जिन सेवा उपलब्ध गराउने प्रक्रिया पनि अगाडि बढिसकेको छ।  बजारमा तरलता समस्या कम भएसँगै सेयर कर्जा सहज देखिएको छ।  तर पनि बजार निरन्तर रुपमा घटिरहेको छ। यसले  बजार पुँजीकरण पनि निरन्तर खुम्चिँदै गइरहेको छ। उपत्यकाबाहिर ब्रोकर शाखाहरु पुगेर बजारको दायर  केही विस्तार भैसकेको यो स्थितिमा अहिलेको कारोबार रकमलाई पनि सन्तोषजनक मान्न सकिँदैन।

मार्केट डेप्थमा मागभन्दा आपुर्ती हावी भएको देखिन्छ। बजारको विशेषता नै घटबढ हुने भएता पनि बजारमा सिजनमै देखिएको यो सुस्तताले गर्दा लगानीकर्ताहरु अन्यौलमा देखिएका छन्। बजारमा देखिएको यो मन्दीका पछाडि  उल्लेखित कारणहरु रहेको अनुमान गर्न सकिन्छ।

- बजारमा देखिएको अत्याधिक आपुर्तीले गर्दा नै बजार कमजोर भएको देखिन्छ। राष्ट्र बैंकं तथा बिमा समितिबाट पुँजी वृद्धिको निर्देशन भएसँगै बैंक तथा बीमा कम्पनीहरुले हकप्रद, बोनस सेयर तथा एफपिओबाट आफ्नो पुँजी वृद्धि गरेका थिए । अहिले ति सेयरहरु बजारमा सूचीकृत हुने क्रम तिब्र बनेसँगै बजारमा सेयरको अत्याधिक आपूर्ति भईरहेको छ। सोहीअनुसारको माग सृजना हुन नसकेको देखिन्छ। यसबाट माग र आपूर्तिमा सन्तुलन आउन सकिरहेको छैन।

- बजार यसरी कमजोर बन्नुमा नेपाली पुँजी बजारमा देखिएको प्रबृत्तिगत समस्यालाई पनि लिन सकिन्छ। नेपाली पुँजी बजारको मनोविज्ञान सिधा रेखामा जाने गरेको पाइन्छ। बजार बढेपछि लगानीकर्ताहरु हौसिएर वास्तविक मूल्यभन्दा पनि माथि गएर सेयर किन्ने प्रबृत्ति छ। त्यतिबेला बजारको मनोविज्ञान बजार अझै बढ्छ भन्ने किसिमको रहने गरेको हुन्छ।

जब बजार घट्न थाल्छ अधिकाशं लगानीकर्ताहरु अत्तालिने गरेको पाईन्छ। बजार घट्न थालेपछि अझै घट्छ भन्ने चिन्ताले लगानीकर्ताहरुले सेयर धमाधम बेच्ने हुँदा मार्केट डेप्थको ‘आपुर्ती साइड’मा चाप पर्ने गरेको छ। यसकारण बजारलाई परिपक्व बनाउनको लागि यो मनोविज्ञानमा सुधार आउनु जरुरी छ। जसको निम्ति नियामकले लगानीकर्ताहरुमा सेयर शिक्षालाई प्रभावकारी ढंगले पुर्याउनु आवश्यक छ।

जसको निम्ति परामर्शदाताको अवधारणा सहित संस्थाहरुको स्थापना गर्न नियामकले प्रोत्साहन गर्नु जरुरी छ। त्यस्तै बढ्दो आपुर्तिलाई व्यवस्थापन गर्नको निम्ति गैर आवासीय नेपालीलाई बजारमा लगानी गर्न सक्ने वातावरण बनाउनु आवश्यक छ। सामुहीक लगानी कोष तथा मार्केट मेकरहरुलाई लगानीको निम्ति प्रोत्साहीत गर्नुपर्ने देखिन्छ।

- बजारमा हकप्रद, एफपिओ र साधारण शेयरहरु पर्याप्त मात्रामा निश्काशन हुने क्रम जारी रहेकोले दोस्रो बजारमा जाने लगानीको केही हिस्सा सार्वजनिक निश्काशनमा गएको देखिन्छ।

- शेयर कर्जा सहज भएपनि ब्याजदरमा भने अपेक्षित कमी आउन नसक्दा अहिलेको महङगो ब्याजदरमा लगानी गर्न  लगानीकर्ताहरु केही हच्किएको देखिन्छ।

- नेपालको पुँजी बजारमा हल्लाले तथ्यलाई सधै प्रभावित गर्ने गरेको छ। अहिले पनि सामाजिक सञ्जाल तथा विभिन्न ढङ्गबाट आउने  बजार घट्छ भन्ने  अफवाहरुले लगानीकर्तालाई त्रसित पारेको देखिन्छ।

- बजारमा सँस्थागत तथा ठूला लगानीकर्ताहरुको सकृयता कम भएसँगै बजार सुस्ताएको देखिन्छ।  पुँजी वृद्धि योजनाको समयसीमा सकिएसँगै लगानीकर्तामा अब कम्पनीहरुले बोनस तथा हकप्रद शेयर दिँदैनन् भन्ने मनोविज्ञानले बजारप्रतिको आकर्षण घटेको छ।किनकी नेपाली लगानीकर्ताहरु नगद लाभांश भन्दा बोनस मा आकर्शित हुने प्रवृत्ति विद्यमान छ।जबसम्म ठुला तथा सस्थागत लगानिकर्ताहरुको आक्रमक ढंगले बजारमा लगानी हुदैन तबसम्म नेप्सेले यु- टर्न गर्न कठिन हुने  देखिन्छ।

- बजार विस्तार र विविधीकरणमा नियामकको सुस्तताले बजारमा प्रतिकुल प्रभाव परेको देखिन्छ। त्यस्तै नियामकहरुबीच आपसी समन्वयको कमी देखिँदा त्यसको असर बजार विकासमा देखिएको छ।  दसैँ तिहार जस्ता ठूला चाडपर्वहरुको कारण  पनि त्यसको असर विस्तारै पर्दै गएको अनुमान गर्न सकिन्छ।

- त्यसो त पहिलो त्रैमासिकको सेटलमेण्टले पनि पुजि बजारमा असर गरेको देखिन्छ।

यद्यपि आगामी दिनमा बजार  सकारात्मक गतिमा जाने प्रसश्तै कारणहरु देखिएका छ्न। मात्र लगानिकर्ताले विबेकपुर्ण लगानी रणनीति बनाउनुको साथै मनोबललाई समय सापक्ष सकारात्मक बनाउनु पर्यो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको