Like us!
Follow us!
Connect us!
Watch us!

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

मिलन खड्का

आइतबार, ०१ मंसिर २०७६, १४ : ११ मा प्रकाशित

एडिबीको सहुलियत ऋण सहयोगमा भीमदत्तमा तीन अर्बका योजना

एशियाली विकास बैंक (एडिबी) को सहुलियत ऋण सहयोगमा भीमदत्त नगरपालिकामा रु तीन अर्बका विकास निर्माणका योजना छनोट गरिएका छन् । नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत विकास निर्माणका योजना कार्यान्वयनमा ल्याइन लागेको हो ।

नगरपालिकामा आयोजनाअन्तर्गत ढल विकास, शहरी सडक निर्माण र फोहर व्यवस्थापन प्रणाली सुधारका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका योजना छनोट गरिएका छन् । आयोजनाअन्तर्गत भीमदत्तमा सञ्चालन हुने योजनामा तीन अर्ब रकम खर्च हुनेछ । शहरी सडक निर्माणअन्तर्गत ३६ दशमलव छ किलोमिटर नालीसहित पक्की सडक निर्माण हुने योजना छ ।

नगरपालिकामा शहरी सडकको ३६ दशमलव छ किलोमिटरमध्ये पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रका सबै गल्लीका सडक निर्माणका लागि गत महिना रु एक अर्ब ७६ करोडको ठेक्का आह्वान गरिएको थियो ।

सर्वदलीय सर्वपक्षीय बैठकमा आयोजनाअन्तर्गत छनोट गरिएका सबै योजना सफल बनाउन सबै दलहरु एक भएर जाने निर्णयसमेत गरिएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । नगरपालिकासहित सुदूरपश्चिम प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रीय शहरी विकास आयोजना सञ्चालनमा रहेको छ । आयोजना लागू भएका चार नगरपालिकाको कूल लागत २१ करोड ४० लाख अमेरीकी डलर रहेको छ ।

सरकारले आयोजनामा लगानी गर्न एडिबीको साधारण पूँजीगत स्रोतबाट शर्तहरु बमोजिम विभिन्न मुद्रामा १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण लिएको छ । यस ऋणको अवधि आठ वर्षको ग्रेस अवधिसहित ३२ वर्षको हुनेछ । यसैगरी ऋणको वार्षिक ब्याजदर ग्रेस अवधिभर एक प्रतिशत र त्यसपछि एक दशमलव पाँच प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको