Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् जाडोमा लाग्ने रोगबाट बच्ने उपाय

सराेज खनाल

बुधबार, २५ मंसिर २०७६, १४ : ५३ मा प्रकाशित

यस्ता छन् जाडोमा लाग्ने रोगबाट बच्ने उपाय

बदलिँदो मौसम आफूसँगै धेरैजसो रोग पनि साथै लिएर आउँछ । तर, केही सावधानी अपनाइयो भने जाडोयाममा धेरैजसो रोगबाट आफूलाई बचाउन सकिन्छ । जाडोयाममा धेरैजसो देखिने स्वास्थ्य समस्या र त्यसबाट बच्ने उपाय यसप्रकार छन् :

रुघा, खोकी तथा ज्वरो

यो समस्या ऋतु परिवर्तनका वेलामा प्रायः धेरैमा देखिन्छ । शरीरको प्रतिरोधात्मक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यी समस्याले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सर–सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ । खाना खानुअघि र पछि साबुन–पानीले हात धुनुपर्छ । यो भाइरल इन्फेक्सन हो ।

यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टिएलर्जिक होमियोप्याथिक औषधि रोगीको लक्षणअनुसार दिइन्छ । यसका अलावा बाफ लिनु, नुनपानीले कुल्ला गर्नु लाभदायक हुन्छ । संक्रमित भएको अवस्थामा तातो झोलिलो पदार्थ बढी मात्रामा प्रयोग गर्नुपर्छ । चिसो पानी पिउनुहुँदैन । तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा जानुहुँदैन । बाइक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ । कोल्ड ड्रिंक, आइसक्रिमबाट टाढा रहनुपर्छ । यस मौसममा केटाकेटी र बुढापाकाको विशेष ख्याल राख्नुपर्छ ।

टन्सिल
बालबालिकामा टन्सिलको समस्या आमरूपमा देखिन्छ । यो ब्याक्टेरियल या भाइरस संक्रमणबाट हुन सक्छ । यो समस्या भएमा घाँटीमा दुखाइ महसुस, खाना खान, बोल्न समस्या, ज्वरो आउने हुन सक्छ । यसबाट बच्न चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नुहुँदैन ।

 

दम
दम एक किसिमको एलर्जिक रोग हो । दमबाट पीडित बिरामीको समस्या जाडोमा बढ्न सक्छ । रातको समयमा, चिसो बढेका वेला तथा जाडोमा एलर्जी एटेक हुने सम्भावना बढी हुन्छ । अतः दमका रोगीहरू एलर्जिक तत्व तथा चिसो हावाबाट बच्नुपर्छ । धुलो, माटो, धुवाँ र वायु प्रदूषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले नियमित सेवन गर्ने औषधि साथमै राख्नुपर्छ । औषधि चिकित्सकको सल्लाहविना बीचमा छाड्नुहुँदैन ।

जोर्नीको दुखाइ
उमेरले खाइसकेका वृद्ध–वृद्धामा बदलिँदो मौसममा हात खुट्टाका जोर्नी दुख्ने समस्या बढी देखिन्छ । चिसो बढेको वेला ज्वान्टस पेन जसलाई पनि हुन सक्छ । तर, वृद्ध–वृद्धाको हड्डी कमजोर हुने भएका कारण चिसोले बढी प्रभावित गर्दछ । अर्थराइटिस, सानो जोर्नीमा दुखाई, घुँडाको दुखाइ असहनीय हुन्छ । यसबाट बच्न सकेसम्म चिसो हावामा बाहिर निस्किने गर्नुहुँदैन । जोर्नीमा तातो सेकाइका लागि पट्टी या हट ब्यागको प्रयोग गर्न सकिन्छ ।

सामान्य किसिमको व्यायाम नियमित रूपले गर्नुपर्छ । होमियोप्याथिक औषधिको साथसाथै योगा तथा फिजियोथिरापीले पनि जोर्नीको दुखाइबाट आराम मिल्छ । साथै नियमित औषधिको सेवन गरिराख्ने तथा चिकित्सकसँग वेला–वेलामा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराइरहने गर्नुपर्छ ।

लामखुट्टेबाट फैलिने रोग
यस मौसममा लामखुट्टेको टोकाइबाट हुने डेंगु, मलेरिया, चिकनगुनिया आदि रोग लाग्ने सम्भावना पनि रहन्छ । यदि सुरुमै यो रोगको पत्ता लाग्यो भने वेलैमा उपचार गरेमा यी रोग बढ्नबाट रोक्न सकिन्छ । डेंगु वा चिकिनगुनिया भाइरसबाट हुने रोग हो । ज्वरोको साथै ज्वाइन्टस पेन, मांसपेशी दुख्ने, शरीरमा रातो–रातो डाबर देखिने हुन सक्छ । यसबाहेक पेट खराब हुनु, कमजोरी महसुस हुनु, रिगंटा लाग्नु, बान्ता हुनु, पातलो दिसा पनि आउन सक्छ ।

मलेरिया ज्वरो साँझपख या रातितिर बढ्छ । यस रोगमा ज्वरोको साथै काम्ने जाडो पनि आउँछ । यस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्छ । रोगलाई बढ्न नदिन वेलामै उपचार गराउने गर्नुपर्छ । यसबाट बच्न घरको वरिपरि पानी जम्मा हुन दिनुहुँदैन । लामखुट्टे मार्ने औषधिको प्रयोग गर्नुपर्छ । पूरा बाहुला भएको लुगा लगाउने तथा झुलको प्रयोग गर्ने, मच्छर भगाउने क्वाइल या लिक्विड लगाउने, बदलिँदो मौसममा हुने रोगबाट बच्न सरसफाइका साथै खानपानमा विशेष ध्यान दिनुपर्छ ।

झोलिलो पदार्थ दालको सुप, ग्रिन टी, तुलसी चिया, अदुवा हालेको चिया, लेमन टी, हट लेमन ड्रिंक आदि यस मौसममा सेवन गर्नु लाभदायक हुन्छ । रोगका लक्षण देखिना साथै चिकित्सकसँग सल्लाह लिने गर्नुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको