Like us!
Follow us!
Connect us!
Watch us!

उपभोक्ताको कराेडाैं ऋण सापटीमा खानेपानी योजना

विहीबार, ०२ माघ २०७६, ११ : ५६ मा प्रकाशित

उपभोक्ताको कराेडाैं ऋण सापटीमा खानेपानी योजना

 अर्थ संसार, काठमाडौं –  खानेपानी समस्यालाई सम्बोधन गर्न काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा ‘सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजना’ कार्यान्वयनमा आउने भएको छ । गतहप्ता योजनाको बोलपत्र समयावधि सकिएपछि ठेकेदार कम्पनी छनोट गर्न एशियाली विकास बैंक (एडिबी) ले सम्पूर्ण कागजात पठाएको हाे ।

यसैगरी, उपभोक्ताहरूबाट ५ प्रतिशत अर्थात रू ११ करोड ५ लाख जम्मा गर्ने गरि जम्मा रू. दुई अर्ब २१ करोडको लागतमा खानेपानी योजना कार्यान्वयनमा आउने भएको छ । 

यस्तै, सुनकोशी-­पाँचखाल बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागतमा उक्त योजना सम्पन्न हुनेछ ।  उक्त योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको समेत उनले जानकारी दिएका छन् ।

त्यसैगरी, खानेपानी आयोजना अन्तर्गत शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत ) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच गत भदौ १२ गते सम्झौता भएको थियो । सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त रहेकाे छ ।

त्यस्तै, पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये २० प्रतिशत परिवारले उक्त रकम जम्मा गर्न नसक्ने भएपछि नगरपालिकाले गत जेठ महिनामा नगरसभाबाटै पास गरी उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको थियो ।

यसका साथै, परियोजना समयमै सम्पन्न गर्न निर्धारित समयमा रकम जम्मा गर्नुपर्ने भएकाले स्थानीय व्यक्तिसँग ऋण सापटीसमेत लिइएको उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष लामिछानेका अनुसार रु डेढ करोड ऋण सापटीबाट जम्मा गरिएको छ । उनले भने  “हामीले पाँचखालवासीलाई खानेपानी दिलाउन जसरी पनि योजना सम्पन्न गर्नुछ, त्यसैले अनेकन जुक्ति निकालिएको हो ।”     

यसैगरी, उपभोक्तासँग लिएको ऋण सापटी भने आउँदो तीन महिनाभित्र फिर्ता गर्ने उपभोक्ता समितिको योजना रहेकाे छ । वडा नं ७ का अध्यक्ष पुष्कर ढकालले स्थानीय सहकारी संस्थाले पाँचखाल नपा कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई चलनचल्तीभन्दा न्यून ब्याजदरमा ऋण दिलाएको वडा नं जानकारी दिएका छन् । “आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नगरपालिका कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको हो ”, उनले बताए । 
    
यस्तै, नगरप्रमुख महेश खरेलले ऋणी उपभोक्ताले एक वर्षसम्ममा पनि सहकारीको ऋण तिर्न नसके नगरपालिकाले तिरिदिने जानकारी दिएका छन् । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएको छ । परियोजनाबाट पाँचखाल क्षेत्रका करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । ­रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको