Like us!
Follow us!
Connect us!
Watch us!

एघाराैं वर्षमा प्रवेश इसेवा, यस्तो रह्यो संघर्ष र सफलताको एक दशक

निशा हुमाँगाई

आइतबार, १२ माघ २०७६, १४ : ४९ मा प्रकाशित

एघाराैं वर्षमा प्रवेश इसेवा, यस्तो रह्यो संघर्ष र सफलताको एक दशक

अर्थ संसार, काठमाडौं – क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औं वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ । 

यसैगरी, एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिव ३० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिव एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिव ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिव २० लाख पुगिसकेका छन् । 

त्यस्तै, दश वर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भन्नुभयो ‘यो एक दशक हाम्रालागि निकै उत्साहजनक रह्यो । कुराकानीका लागि मात्र सिमित भएको मोबाईललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ । आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ ’।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा धेरै किसिमका सहजता ल्याएको छ । आम मानिसले लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झन थालेका छन् । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरू विस्तार गर्दै लगिने कम्पनीको योजना रहेको छ ।

त्यसैगरी, इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

यस्तो छ इसेवाको दशवर्षे संघर्ष र सफलताको उतारचढाव 

सन् २००९ मा बेटा भर्जन ल्याउँदा इसेवा डेक्स्टप कम्युटर बाट मात्र चलाउन मिल्थ्यो । सुरूमा बजारमा रिचार्जकार्ड सहजै नपाइने अवस्था थियो भने नेपाल टेलिकम पनि इलेक्ट्रोनिक्स् रिचार्जमा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याइ पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर रिचार्ज बेच्ने गर्दथ्यो । त्यसपछि नेपाल टेलिकमले इलेक्ट्रोनिक्स् रिचार्ज सिस्टम बनाएपछि मात्र इलेक्ट्रोनिक्स् पीन उपलब्ध गराउन थालेको हो । सुरूमा रिचार्ज कार्ड घोटेर सिस्टमममा पीन राख्नका लागि पनि दर्जनौं कर्मचारी राख्नुपरेको थियो । तर अहिले अत्याधुनिक प्रविधिले रियल टाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ ।

इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयर लगायत अन्य सबै एयरलाइन्स्को टिकट इसेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौँ जनाले इसेवामार्फत एयरलाइन्स् टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।

सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरू गरेको गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट रहेको थियो । २०१२ मा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यतिबेला इसेवाको ब्राण्ड कलर निलो बाट परिवर्तन गरी हरियो बनाइएको थियो । २०१३ बाट एजेन्ट मोडलमा गएको इसेवाका २०१४ मा ५ हजार एजेन्ट र एक लाख ग्राहक पुगेका थिए ।

आजको दिनमा इसेवामा मर्चेन्टको संख्या ८० हजार पुगिसेको छ । २०१७ मा इसेवालेमोबाईल एप्लीकेशनमार्फत इन्टरनेट र एसएमएस दुबै भर्जनबाट इसेवाका सेवा लिन सकिने प्रणालीको विकास गर्यो । २०१६ मा नेपाल राष्ट्र बैंकले भुक्तानी सेवालाई नियमन गर्ने नीति लिएसँगै इसेवाले नेपाल राष्ट्र बैंकमा इजाजतका लागि निवेदन दिएका थियो । २०१७ मा इसेवाले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

त्यस्तै, इसेवाले विभिन्न सामाजिक उत्तरदायीत्वका कार्यक्रम पनि गर्दै आएको छ । कम्पनीले हालसम्म विभिन्न विद्यालयलाई डिजिटल बनाउने उदेश्यले करिव ५ सय वटा कम्प्युटर वितरण गरिसकेको छ भने इलाइब्रेरी स्थापना,निशुल्क रूपमा अत्याधुनिक किसिमका  शैक्षिक सफ्टवेयर समेत वितरण गरेको छ । यस्तै नेपालको खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका सहयोग, खेल तथा खेलाडी प्रायोजनतथा अन्य विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । 

तीनजना युवाको परिकल्पनाबाट सुरू भएको एफवानसफ्ट कम्पनी अन्तर्गत इसेवासँगै करिव एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले एकहजार भन्दा बढि दक्ष जनशक्तिलाई  रोजगारी प्रदान गर्न सफल भएको छ । इसेवाले हालसम्म दक्षिण एशीयाली खेलकुद साग, एन्फाका विभिन्न फुटबल म्याच तथा क्रिकेटका ठुला खेलहरूको टिकट विक्री तथा व्यवस्थापन सफल रूपमा गरिसकेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको