Like us!
Follow us!
Connect us!
Watch us!

एनआरएनएले २०१७ भित्र १६ लाख पर्यटक नेपाल भित्र्याउने

आइतबार, २३ असोज २०७३, ०१ : १२ मा प्रकाशित

एनआरएनएले २०१७ भित्र १६ लाख पर्यटक नेपाल भित्र्याउने

अर्थ संसार
काठमाडौ–गैरआवसीय नेपाल संघ (एनआरएनए) ले सन् २०१७ भित्र नेपालमा १६ लाख पर्यटक भित्र्याउने अभियान सुरु गरेको घोषणा गरेको छ । नेपाल सरकार र एनआरएनएबीच गत वर्ष सम्झौता भएको ‘अतिथि देवो भव’ प्रवद्र्धन कार्यक्रमको कार्ययोजना प्रस्तुत गर्दै संघले सन् २०१७ को अन्त्यसम्ममा नेपालमा १६ लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक गरेको हो । 
एआरएनएअन्तरगत रहेको पर्यटन प्रर्वद्धन नेपाल समितिले बिहीबारआयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष शेष घलेले विश्वका ७५ मुलुकमा संजाल रहेको संघले पर्यटनमा ठूलो योगदान गर्नसक्ने बताए । ‘७५ वटा देशमा विभिन्न गतिविधि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारसंगको सहकार्यमा गर्ने गरी अतिथि देवो भव कार्यक्रम अगाडी बढाइएको हो,’ अध्यक्ष घलेले भने । उनले बोर्डलाई जुनसुकै कार्य गर्दा पनि संस्थागत सहकार्य गर्न सुझाव समेत दिए ।
‘अतिथि देवो भव कार्यक्रममा एक व्याक्तिले ३ साथी नेपाल घुम्न पठाउने अभियान सुरु गर्न लागेको संघका उपाध्यक्ष तथा पर्यटन प्रर्वद्धन नेपाल समितिका अध्यक्ष भवन भट्टले बताए । उनले विश्वका ७५ देशमा ५० लाखभन्दा बढी नेपालीहरु रहेको उल्लेख गर्दै नेपालको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने प्रतिवद्धतासमेत जनाए ।  
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले अव नेपालको प्रवद्र्धन गैरआवसीय नेपालीले गर्न सक्ने बताउँदै नेपाल सरकार सहकार्य गर्न तयार रहेको बताए । ‘अतिथि देवो भव कार्यक्रमबाट सुरु भएको सहकार्य अव निरन्तर रहने छ, यसले नेपालको पर्यटनलाई टेवा पुग्नेछ,’ सचिव अधिकारीले भने । नेपालको पर्यटन विकासमा हवाई क्षेत्रको पहुँच ठुला शहरहरुमा विस्तार गर्न नसक्दा समस्या भएको उल्लेख गर्दै उनले अव नेपाल वायुसेवा निगमलाई बलियो बनाउन जहाज खरिद प्रक्रिया अगाडी बढाएको बताए । पर्यटनको पूर्वाधार निर्माणमा नेपाल सरकार लागि परकेो उल्लेख गर्र्दै गैरआवसीय नेपालीले पर्यटन क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा अधिकारीले जोड दिए । 
त्यस्तै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले  गैरआवसीय नेपाली संघसँगको सहकार्यले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘हामीले संघसँग मिलेर अतिथि देवो भव कार्यक्रमलाई अगाडि बढाएका छौ, जुन कार्यान्वयन सकारात्मक हुँदैगएको छ,’ जोशीले भने । उनका अनुसार नेपालमा धेरै मात्रामा फूर्सदको समयमा घुम्ने मात्र नभएर मेडिकल, मनोरञ्जन, धार्मिकसहितका पर्यटकको पनि आकर्षण बढ्न थालेको छ ।  
अभियानका प्रमुख डा. पुष्प अधिकारीले छिमेकी मुलुक भारत र चीनको तुलनामा नेपालमा साह्रै न्यून पर्यटक आगमन हुने गरेको बताए । उनका अनुसार विश्वर पर्यटनमा अगुवाई गरेको देशको बीचमा रहेको नेपालको उपस्थिति बलियो बनाउनुपर्ने तर्क पेश गरे । 
डेमार्कका लागि पर्यटन प्रवद्र्धन दूत सोमनाथ सापकोटा र रसियाका लागि पर्यटन प्रवद्र्धन दूत सपिला राजभण्डारीले आफ्नाफ्नो प्रस्तुतीकरण समेत दिएका थिए । उनीहरुले बोर्डले गाइड लाइन दिनुपर्ने, अन्तर्राष्ट्रिय पहुँचका लागि हवाई मार्गको विस्तार हुनु पर्ने, प्रवद्र्धनात्मक अभियानका सामग्री उपलव्ध हुनुपर्ने बताए ।  
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको