Like us!
Follow us!
Connect us!
Watch us!

सात दिन भित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारवाही

शनिबार, १० भदौ २०७४, १८ : ०४ मा प्रकाशित

सात दिन भित्र ग्राहकले मिटर नपाए कर्मचारीमाथि कारवाही

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको मिटर सात दिन भित्र ग्राहकलाई उपलब्ध नगराइए सम्बन्धित वितरण केन्द्रका प्रमुखलाई कारवाही हुने भएको छ ।

ऊर्जा मन्त्रालयले प्राधिकरण र मुलुकभरका प्राधिकरणका सबै शाखा कार्यालयलाई यही भदौ ८ गते एक निर्देशनात्मक परिपत्र मार्फत साधारण मिटर माग गर्ने ग्राहकलाई सात दिन भित्र मिटर उपलब्ध गराउन निर्देशन दिएको छ ।

मिटर नपाएका कारण ग्राहकले विद्युत् बाल्नकै लागि हुकिङ गर्ने गरेको भन्ने चर्को गुनासो आएपछि ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले ग्राहकले माग गर्ने बित्तिकै मिटर उपलब्ध गराउन र उपलब्ध हुन नसके चित्त बुझ्दो कारण सहित प्राधिकरणलाई जानकारी गराउन र त्यसको सूचना मन्त्रालयलाई समेत उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।

ग्राहकले मिटर पाए नपाएको जानकारी लिन मन्त्रालयले इन्जिनियर आकाश शाहको संयोजकत्वमा एक अनुगमन समिति समेत बनाएको छ ।

मन्त्रालयको पछिल्लो निर्देशनअनुसार साधारण मिटर सात दिन भित्र, थ्री फेज मिटर १५ दिन भित्र र उद्योगमा जडान हुने ‘ टिओडी मिटर’ ३० दिन भित्र ग्राहकलाई उपलब्ध गराउनैपर्नेछ । सो अवधि भित्र उपलब्ध नगराइए, चिक्त बुझ्दो कारण पेस नगरे सम्बीन्धत वितरण केन्द्रका प्रमुखलाई कारवाहीको दायरामा ल्याइने छ ।

प्राधिकरणकाअनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मिटर माग हुनेमा कुलेश्वर वितरण केन्द्र, बाजालु वितरण केन्द्र, महराजगन्ज वितरण केन्द्र र बानेश्वर वितरण केन्द्र रहेका छन् । यस्तै बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही जस्ता जिल्लामा पनि बढी मात्रामा मिटरको माग हुने गरेको छ ।

प्राधिकरणको क्षेत्रीय कार्यालयले मिटर परिक्षण नभएको भन्दै समयमा नै वितरण केन्द्रलाई उपलब्ध नगराउने र उपभोक्तालाई हुकिङ गर्न मद्दत गर्ने गरेको गुनासो बढी आएपछि मन्त्रालयले कडाईका साथ निर्देशन दिएको ऊर्जा मन्त्री शाहीको भनाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि वितरण केन्द्रमा मिटर अभाव हुन नदिइएको माग आउने बित्तिकै उपलब्ध गराउने व्यवस्था मिलाइएको बताउनुहुन्छ ।

कुनै ग्राहकले मिटर पाइन भनेर खबर मात्रै ग¥यो भने सम्बन्धित वितरण केन्द्रका कर्मचारी कारवाहीको दायरामा आउने कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणको जिन्सी व्यवस्था महाशाखाका प्रमुख नुतनदेव भट्टराईकाअनुसार साधारण मिटर दुई लाख थान मौज्दात रहेको छ । उहाँकाअनुसार विराटनगर क्षैत्रीय कार्यालय २८ हजार ५००, जनकपुर २८ हजार ५००,हेटौडा १५ हजार, बुटवल १५ हजार, पोखरा १५ हजार, नेपालगन्ज २० हजार, अत्तरिया क्षेत्रीय कार्यालयमा १५ हजार थान मिटर उपलब्ध छन् ।

यस्तै काठमाडौँका लागि मात्रै २३ हजार मिटर उपलब्ध गराइएको छ । यस्तै केन्द्रीय कार्यालय मातहत ४० हजार मिटर मौज्दात रहेको छ ।

प्राधिकरणकाअनुसार थ्री फेज मिटर १३ हजार ५०० र ‘टिओडी मिटर’ तीन हजार ३०० मौज्दात रहेको छ । बालाजु वितरण केन्द्रका प्रमुख किरणराज तिमल्सेनाकाअनुसार दैनिक दश वटासम्म मिटरको माग हुने गरेको जानकारी दिनुभयो ।

ग्राहकले माग गर्ने बित्तिकै काजगान पुगेका ग्राहकलाई तत्काल नै मिटर दिने गरिएको र कुनै गुनासो नरहेको बताउनुभयो । मन्त्रालयले मिटर उपलब्ध गराउन प्रभावकारी कदम चालेपनि प्राधिकरणका कर्मचारीले दुःख दिएको र घुस मागेको भन्ने गुनासो पनि आउने गरेको इन्जिनियर शाहको भनाइ छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय मातहत रहेको हेल्लो सरकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मिटर नपाएको र कर्मचारीले घुस मागेको भन्दै दैनिक तीनवटा उजुरी पर्ने गरेका छ ।

ग्राहकको उजुरीलाई लिएर सम्बन्धित कर्मचारीलाई कडा कारवाही नहुँदा समस्या जहाँको तही रहने छ । तालुकदार निकायले नै मिटर नदिए सम्बन्धित कर्मचारी कारवाहीको भागिदार हुने भन्दै कडा निर्देशन दिएपछि मिटर वितरणमा सुधार आउने विश्वास लिइएको छ ।

चौबिसै घन्टा कर्मचारी राख्न निर्देशन

ऊर्जा मन्त्री शाहीले प्राधिकरणका सबै कार्यालयमा २४ सै घन्टा कर्मचारी रहने व्यवस्था गर्न समेत निर्देशन दिनुभएको छ । नो लाइटमा फोन नउठेको, ग्राहकले फोन गर्दा राम्रोसँग सम्बोधन गरेको नपाइए समेत सम्बन्धित कर्मचारी कारवाहीको भागिदार बन्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको