Like us!
Follow us!
Connect us!
Watch us!

हाम्रो स्मृतिमा बाँचिरहने छौ सञ्जय !

विहीबार, ०२ मंसिर २०७३, ११ : ५५ मा प्रकाशित

हाम्रो स्मृतिमा बाँचिरहने छौ सञ्जय !

लीलानाथ घिमिरे 
आज सञ्जयजी (सञ्जय न्यौपाने) ले हामीलाई छाडेर गएको तेह्रौं दिन । विहानै उठ्नासाथ त्यो हँसमुख चेहराको स्मृति मानसपट्टलमा ताजा भएर आए । उहाँसँग विताएका ती क्षण सिनेमाका रिलजस्तै घुमिरहे । 

आइप्याड झिकें । पछिल्लो पटक उहाँसँग केही साताअघि मात्र खिचेका तस्बिरहरु थिए । एल्बमका पानाजस्तै आइप्याडका तस्बिरलाई औंलाले सार्दै गएँ, गम्भीर रोग लिएर बाँचिरहेको एउटा ब्यक्ति यति हँसमुख चेहरामा देखियो, मैले पत्याउनै सकिन, यो त्यही सञ्जय हो, जसको आयु केही दिनमात्र बाँकी छ । हामीले त्यसबीचमा यति सेल्फी खिचेछौं, अहिले हेरेर मलाई अचम्म लागिरहेको छ । यति छिटै बिछोडिनु रहेछ, त्यसैले उहाँले मलाई चिनो छाड्नुभएको रहेछ ।  
उहाँ गम्भीर विरामी परेर थलिएपछि उहाँको हेरचाह गर्ने परिवारका सदस्यहरुमात्र भए । उहाँ केही निको भएर जव सार्बजनिक रुपमा भेटघाटमा सरिक हुन थाल्नुभयो, त्यसपछि सबैभन्दा बढी समय भेट्न पाउने त्यस्तो भाग्यमानी ममात्र थिएँ सायद । उहाँ मेदान्तमा उपचार गराएर फर्केपछि कम्तिमा सातामा एक पटक हामी भेट्थ्यौं, उहाँको स्वास्थ्य बारे म सोध्थें । उहाँ आफू निको हुनेमा निश्चिन्त जस्तै हुनु हुन्थ्यो । उहाँको स्वास्थ्यमा अकल्पनीय सुधार देखेर मलाई पनि लाग्थ्यो, त्यो हँसमुख चेहरा हामीलाई छोडेर हत्तपत्त जाने छैन ।
प्रकृतिको नियम कसले तोड्न सक्छ र ? उहाँले छाडेर जानुभयो । तेह्र दिन वित्दा पनि मलाई पत्यार लाग्दैन । नपत्याएर के गर्नु उहाँ मेरोसामु हुनुहुन्न । आज हामी उहाँको श्रद्धाञ्जलीसभा गर्दैछौं ।
...........................................
मैले कान्तिपुरमा सिन्धुलीबाट रिपोर्टिङ गर्दा सञ्जयजी काठमाडौंमा समाचार लेख्नुहुन्थ्यो । कहिलेकाहीँ काठमाडौं आउँदा हाम्रो भेट हुन्थ्यो । एउटै मिडिया हाउसमा भएका नाताले सामान्य शिष्टाचारका शब्दमात्र प्रकट हुन्थे । 
कान्तिपुरले मलाई काठमाडौंमा बोलायो काम गर्न । आएपछि म जिल्ला ब्युरोमा सामेल भएँ । त्यसपछि मैले कान्तिपुरका कला र शैली, उपत्यकालगायतका पेजको सम्पादन गरें । कान्तिपुरको पूर्वाञ्चल संस्करणको सुरुआतको जिम्मेवारी मैमाथि आएको थियो । त्यसपछि पश्चिमाञ्चलको जिम्मेवारी निर्वाह गरेँ । त्यसपछि फेरि जिल्ला ब्युरोमै ।सञ्जयजी बिजनेस ब्युरो प्रमुख हुनुहुन्थ्यो । 

एक दिन हरि दाइ (हरि थापा) ले आफ्नो कोठामा बोलाउनु भयो । जाँदा सञ्जयजी सँगै हुनुहुन्थ्यो । मैले बोलाउनुको कारणबारे जिज्ञासा राखें । सञ्जयजीले भन्नुभयो, ‘तपाईं बिजनेस ब्युरोमा आउनु प¥यो ।’ मैले केही सोच्नै पाइन । हरि दाइले थप्नुभयो, ‘भोलिदेखि बिजनेस ब्युरोमा काम गर्ने ।’ मैले स्वीकारें नयाँ जिम्मेवारी । 
सञ्जयजीले ममा के देख्नुभयो ? उहाँले नै जान्ने कुरा हो । मैले नयाँ जिम्मेवारीलाई आफ्नो परीक्षाका रुपमा लिएँ । जिल्लामा हुँदा कुनै बिट विशेष थिएनन् । अपराध, समाज, शिक्षा, स्वास्थ्य, खेलकुद, अर्थ बाणिज्य सबै बिटमा समाचार लेखिएको हो । यहाँ भने अर्थ बाणिज्यमा समेत अनेक विट थिए । मैले नयाँ बिटमा काम सुरु गरें । मलाई यस बिटमा स्थापित गराउन सञ्जयजीकै भूमिका थियो । 
काठमाडौं आएपछि डेस्कको भूमिका सीमिति थिएँ । सञ्जयजीले मलाई सातामा एक पटक प्रकाशन हुने ‘हाटबजार’ विशेष पेजमा लेख्ने जिम्मेवारी दिनुभयो । त्यसपछि म रिपोर्टिङ र डेस्क दुवैको जिम्मेवारीमा भएँ । बिजनेशमा आएपछि सूचना प्रविधिमा कलम चलाउन थालें । आफूलाई यो रुचीको विषय थियो । सञ्जयजीले हौस्याउँदै जानुभयो । मैले कान्तिपुरको ‘हेल्लो शुक्रबार’ मा समेत आइटीका स्टोरीहरु नियमित रुपमा लेख्न थालें । 
सञ्जयजी मेरो बोस, म उहाँको कारिन्दा । यद्यपि सम्बन्ध कहिल्यै स्ट्याटसले निर्धारण गरेन । सधैं सहकर्मीलाई मायाँ गर्ने, सम्मान गर्ने र सधैं अरुको प्रगतिमा रमाउने उहाँको स्वभाव थियो । अबसर आउँदा सबैलाई समान रुपमा उपलब्ध गराउनु हुन्थ्यो । कोहीसँग कहिल्यै रिसाएको, झर्केको अनुभव मैले गरिन । काम गरेर तनाव महसुस गरेका होलान् भनेर सहकर्मीलाई नियमित रुपमा रिफ्रेस गराउन रेस्टुरेन्ट लैजाने, त्यहाँ खाइपिइ गरेपछि सबैलाई आफ्ना मनमा लागेका भँडास पोख्न लगाउनु हुन्थ्यो उहाँ । 
म उहाँको प्रिय थिएँ भनेर मजस्तै दावी गर्ने कान्तिपुरमा रहँदा धेरै सहकर्मी थिए । त्यस्तो दावी पुष्टि गर्ने आधार धेरै छन् । उहाँ कारोबार दैनिकको सम्पादक भएर जाँदा बेलाबेलामा म भेट्न गइरहन्थें । त्यतिखेर कान्तिपुरका धेरै सहकर्मीहरुलाई उहाँसँग छलफल गरिरहेको भेटेको छु । 
उहाँ रहँदा बिजनेस ब्युरो प्रमुख मात्र भएर के गर्नु ? हरेक दिन हुने सहकर्मीहरुको मिटिङमा सबैलाई स्टोरी एंगल दिनसक्ने क्षमता उहाँ राख्नु हुन्थ्यो । कुन न्युजलाई कसरी प्रस्तुत गर्दा पाठकलाई राम्रो खुराक हुन्छ भनेर उहाँलाई राम्रो ज्ञान थियो । त्यही ज्ञान उहाँले सबै विटका सहकर्मीलाई बाँड्नु हुन्थ्यो । उहाँको क्षमताबाट सबै प्रभावित थिए । यही क्षमताले उहाँलाई छिट्टै धेरै अबसर दिलाएको थियो ।
यही बिच उहाँ हम्फ्रे स्कलरसिप पाएर अमेरिका जानुभयो । बिजनेस ब्युरो छाडेपछि उहाँको अभाव निरंतर खड्किइरह्यो । अमेरिका रहँदा पनि उहाँसँग नियमित कुराकानी भइरहन्थ्यो । एक प्रकारको परिवारकै सदस्य जत्तिकै थिएँ म । यहाँ भाउजुलाई केही सहयोग आवश्यक परे मलाई आग्रह गर्नुहुन्थ्यो । उहाँको कोठामा इन्टरनेट जोड्नेदेखि बीमाको हरेक किस्ता प्रिमियम तिर्नेसम्म मैले उहाँलाई सघाउन पाएँ । उहाँको पछिल्ला निकै बर्षको प्रिमियम तिर्ने जिम्मा मेरै जस्तो थियो । 
हम्फ्रे फेलो भएर फर्केपछि उहाँले कान्तिपुरमा अर्को जिम्मेवारी सम्हाल्नु भयो । फागुन ७ गते कान्तिपुरको बार्षिकोत्सबमा प्रकाशन हुने विशेषांकको जिम्मेवारी उहाँलाई दिइएको थियो । स्टोरीहरु लेख्ने जिम्मेवारी बाँडफाँट भइसकेको थियो । 
मैले एक ब्यक्तिको सफलताको कथा उहाँलाई सुनाएँ । विशेषांकको थिम पनि सफलताका कथाहरु पस्कने थियो । उहाँले भन्नु भयो, ‘समय धेरै छैन । लेखिहाल्नुस् ।’ मैले भोलिपल्टै स्टोरी तयार गरेँ । त्यो विशेषांककै कभर स्टोरी भएर छापियो । उहाँमा समाचारको गांभिर्यताको परख गर्ने क्षमता थियो । 
उहाँलाई कारोबारको सम्पादक बन्ने जिम्मेवारी आयो । सल्लाह माग्नु भयो । मैले सोच्दै नसोची स्वीकार्न आग्रह गरें । उहाँ जुनसुकै निर्णय आफैं गर्न सक्षम हुनुहुन्थ्यो । तथापि उहाँले मलाई महत्व दिनुभयो ।
यसबीचमा उहाँले मलाई एउटा हस्तकलासम्बधी पत्रिका प्रकाशन गर्न सघाउन आग्रह गर्नुभयो । डेस्कको कामले म दिउँसोको समय फुर्सदै थिएँ । त्यसपछि हामी केही राउन्ड छलफल ग¥यौं । हामी त्यसको तयारीमा जुट्दै थियौं । मैले सामग्री लेख्न, संकलन गर्न थालें । लामो समय वित्यो । त्यसको प्रकाशन गर्ने साइत जुरेन ।  
यसै बीचमा मैले कान्तिपुर छाड्ने निर्णय गरेँ । उहाँसँग सल्लाह गरेँ । ‘केही समय घुमघाम गर्छु । त्यसपछि यहीँ केही गर्छु,’ मैले भने । उहाँले मलाई रोक्नु भएन । यसपछि अमेरिका जाने निर्णय गरें । उहाँले त्यहाँ बसेर कारोबारलाई समाचार लेख्न भन्नुभयो । मैले उहाँको आग्रह टार्न सकिन ।  
म अमेरिका जानुअघि उहाँ विरामी भएर लामो समय विदामा हुनु हुन्थ्यो । उहाँ गम्भिर रोगले थलिनु भएको रहेछ । उहाँसँग कुरा भइरहन्थ्यो । त्यसैले मैले त्यति ठूलो रोग लागेको होला भन्ठानिन । उहाँले पनि भन्नु भएन । जाने बेला एयरपोर्टबाट बाहिरिनुअघिको अन्तिम कल उहाँलाई नै गरेको थिएँ । 
अमेरिका पुगेपछि थाहा पाएँ, उहाँलाई मस्तिष्क सम्बन्धी ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ नामको गंभिर रोग लागेको रहेछ । उहाँ मेदान्तमा भर्ना हुनु भएछ । मैले अनेक प्रयास गर्दा पनि सम्पर्क गर्न सकिन । 
उहाँसँग खिचिएको तस्बिर मित्र देवेन्द्र भट्टराईले फेसबुकमा सेयर गर्नु भयो । देख्दा लाग्यो, उहाँ क्रमशः निको हुँदै जानु भएछ । खुुसी लाग्यो । उपचारबाट फर्केपछि भने नियमित रुपमा कुरा हुन थाल्यो ।
करिव ६ महिना अमेरिकाको बसाइपछि म स्वदेश फर्कें । फर्कनासाथ उहाँलाई भेटें । भेट्दा मैले सुनेको रोग र सञ्जयजीबीच कुनै साइनो भएजस्तो लागेन । मनमनै निकै खुसी भएँ । मेरो मनको बाघ अब निस्केर भागेको थियो । म फुर्सदिलो थिएँ, उहाँ उपचारकै क्रममा रहे पनि कारोबार छोडेर बस्नु भएकाले फुर्सदिलै हुनुुहुन्थ्यो । 
हामीले यसबीचमा हस्तकलाका सामग्रीमा केन्द्रीत भएर पत्रिका प्रकाशन गर्ने पुरानो योजनालाई ब्युँतायौं । मैले पहिले तयार गरेका सामग्रीलाई अपडेट गरें । एमपिसी पब्लिकेसन्सले हाम्रो पत्रिका छाप्ने जिम्मेवारी लियो । सञ्जयजी, म र पब्लिकेसन्सका सागर थापा भएर नाम जुरायौं, ‘एमपिसी विजनेस टाइम्स’ ।    
पत्रिका तयार भयो । प्रकाशनका लागि प्रेस खोज्ने जिम्मा मेरो थियो । धेरैमध्ये छानेर एउटा प्रेसमा जिम्मा दिएँ । नमुना अंक प्रकाशन भयो । सञ्जयजीले राम्रो क्वालिटी खोज्नु भएको थियो, त्यसले खोजेको क्वालिटी दिएन । त्यसपछि हामी सँगसँगै हिँड्यौं अर्को प्रेस खोज्न । धेरै चहारेपछि जडिबुटीमा अर्को प्रेस भेटियो । 
पत्रिका छाप्ने बेलामा समेत सञ्जयजी आफैं आउनु भयो । उहाँ र मैले त्यहाँ सेल्फी खिच्यौं । उहाँले पत्रिका छापिँदै गरेको फोटो खिच्नु भयो । के थाहा, यिनै तस्बिर उहाँसँगका अन्तिम हुने रहेछन् । 
मैले पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेको थिएँ । उहाँलाई सल्लाहकार सम्पादकको रुपमा प्रिन्ट लाइनमा नाम राखें । उहाँले अहिले आफ्नो नाम नराख्न भन्नुभयो, मैले हटाएँ । उहाँले पत्रिका प्रकाशनको पूरा जिम्मेवारी निर्वाह गर्नुभयोे, आफ्नो नाम कतै उल्लेख गर्न चाहनु भएन । 
त्यतिखेर पत्रिकाको दर्ता भएको थिएन । दर्ता गर्न निकै झन्झट ब्यहोर्नु प¥यो । कहीँ नाम फेर्न, कहीँ, अंग्रेजी नाम नराख्न सरकारी अधिकारीले दवाव दिइरहे । हामीले स्वीकारेनौं । अन्ततः दर्ता भएर पत्रिका नियमित प्रकाशन गर्ने तयारीमा पुग्यो । 
सञ्जयजी गंभिर विरामी भएर पनि नियमित जस्तै काममा खटिइरहनु भएको थियो । उहाँलाई बिरामी भनेर थाहा नपाउनेले अनुमानै गर्न सक्दैनथ्यो । गाडीबाट झर्ने बेलामा उहाँलाई गाह्रो हुन्थ्यो । म सहारा दिन्थें । त्यति खेर उहाँ भन्नु हुन्थ्यो, ‘मेरो एउटा खुट्टाले अलि भर दिँदैन, नत्र तपाईंले अनुमानै गर्न सक्नु हुन्न म विरामी छु भनेर ।’
यही बीचमा उहाँको डाक्टरसँग फलोअपका लागि दिल्ली जानुपर्ने भयो । फर्केपछि मैले चिकित्सले के भन्यो भनेर सोधें । उहाँले औषधि छुटाइ दिएको बताउनु भयो । ‘डाक्टरले निकै इम्प्रुभ भएको छ भनेका छन्,’ उहाँले सुनाउनु भयो ।   
हामी नियमित भेटघाटमा थियौंं । यसैबीच म दशैं मान्न सिन्धुलीको घर गएँ । दशैंकै टिकाको दिन उहाँ बेहोस् हुनुभएछ । उहाँलाई उपचारका गर्न पुनः दिल्ली लगियो । 
त्यहाँबाट फर्केपछि पनि उहाँलाई अस्पतालमै राखिएको थियो । म सिन्धुलीगढीमा मनाइने विजयोत्सबका अबसरमा आयोजना गरिने साइकल ¥यालीको तयारीमा ब्यस्त थिएँ । सिन्धुली आउनेजाने भइरहेको थियो । एक दिन भाउजुलाई फोन गरेँ । उहाँले सञ्जयजीलाई अस्पतालमै राखिएको बताउनु भयो । सिन्धुलीगढीसम्मको साइकल यात्रा सकेर भेट्न जाने सोच्दै थिएँ । एक्कासी फेसबुकमा कुनै साथीले पोस्ट ग¥यो, ‘सञ्जयजी रहनु भएन ।’
म छाँगाबाट खसेजस्तै भएँ । केही सोच्नै सकिन । एक्कासी ठूलो बज्रपात परेको महसुस भयो । एक्कासी चिच्चाउन लागेछु । अर्को कोठमा बस्ने छिमेकी सोध्न आए । मैले केही बताउनै सकिन । अनायास आँखाबाट बरर आँशु झरे । मैले सञ्जयजीसँग विताएका पलहरु सम्झें । भाउजु राधिकालाई सम्भेंm । छोरा इसानलाई सम्झें । त्यो चुलबुली छोरीलाई सम्झें, जसलाई एक दिन भाउजुले बैंकको कामले लिएर आउनुहुँदा केही बेर मलाई सम्हाल्न निकै गाह्रो परेको थियो । 
सधैं सकारात्मक सोचिरहने, अरुको सधैं भलो चिताउने, कुनै नराम्रो अम्मल नभएको ब्यक्तिलाई यति गंभिर रोग कसरी लाग्न सक्छ ? आफ्नो विषयमा राम्रो पकड भएको, कम उमेरमै ठूलो फड्को मारेर सम्पादकसम्म बनिसकेको ब्यक्ति यति छिटै संसारबाटै विदा हुन्छ भनेर कसले कल्पना गर्न सक्छ र ? नसोचेको भयो । हुने हुनामी कसले टार्न सक्छ र ? 
सञ्जयजीसँगका विगतका सारा सहयात्रा मानस पट्टलमा ताजै छन् । उहाँसँगका केही जिवी फोटोहरु मेरो कम्प्युटरमा सुरक्षित छन् । उहाँको योजनामा प्रकाशन सुरु भएको एमपिसी बिजनेश टाइम्स पत्रिका मात्र छ, जसलाई ब्यवसायिक रुपमा पाठकहरुसमक्ष पु¥याउनुअघि नै उहाँले हामीसामुबाट कहिल्यै नफर्कने गरी विदा लिनु भएको छ । आर्थिक पत्रकारिता क्षेत्रले एउटा उत्कृष्ट पत्रकार गुमाएको छ । प्रकृतिको नियम । सबैले स्वीकार्नै पर्छ । म पनि स्वीकार्न विवश छु । 
सञ्जयजीबाट मैले सिकेको छु,–कहिल्यै घमण्ड नगर्ने, काममा लागिरहने । कुनै कुरामा आशक्त नहुने, अरुको भलो चिताउने, आफूसँगै अरुले पनि प्रगति गरोस् भन्ने चाहने । 
प्रिय सञ्जय । तपाईंको मार्गदर्शनले मलाई तपाईंसँग कहिल्यै छु्ट्टिन दिने छैन । अलविदा । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको