Like us!
Follow us!
Connect us!
Watch us!

पूर्व पर्यटनमन्त्री किरातीले देशमा पर्यटनको विकास गर्न दिए तीन ढोका र नौ चाबीको सुत्र

अर्थ संसार

शुक्रबार, १४ बैशाख २०८१, १६ : ५२ मा प्रकाशित

पूर्व पर्यटनमन्त्री किरातीले देशमा पर्यटनको विकास गर्न दिए तीन ढोका र नौ चाबीको सुत्र

पूर्व पर्यटनमन्त्री सुदन किरातीले देशमा पर्यटनको विकास गर्न तीन ढोका र नौ चाबीको दुई सुत्रसहितको सुझाव पेश गरेका छन् ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई भेटेर किरातीले सुझावपत्र पेश गरेका हुन् । आफूले अनुभव गरेको, तयारी गर्दै गरेको र अगाडि बढाएको कार्ययोजना उपयोगी हुनसक्ने बताउँदै प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली पर्यटनको विकासलाई तीव्रता दिन, पर्यटन क्षेत्रलाई अझ प्रभावकारी र अर्थतन्त्रको दह्रो खम्बा बनाउनका लागि सूत्र निर्माण गरेर मात्रै सम्भव रहेको उल्लेख गर्दै किरातीले आफ्नो अनुभव र दृष्टिकोणमा नेपालको पर्यटन क्षेत्रमा समग्र विकास गर्न “तीन ढोका र नौ चाबी" को दुई सुत्र प्रयोग गर्न जरुरी रहेको बताएका छन् । पूर्वमन्त्री किरातीका अनुसार पहिलो सुत्रको तीन ढोकामा प्रकृति, संस्कृति र एड्भेन्चर रहेका छन् । यसैगरी दोस्रो सुत्रको नौ चाबीमध्ये पहिलो चाबी पर्यटन गौरवको घोषणा (युनेस्को विश्व सम्पदाहरु, हिमाल र हिमशृङ्खलाहरु, तालहरु, ट्रेक र पदमार्ग, सर्किटहरु, वन्यजन्तु आरक्ष तथा निकुञ्जहरु, धार्मिक सांस्कृतिक केन्द्रहरु) गर्नुपर्ने रहेको छ ।


यसैगरी दोस्रो चाबी रैथाने संस्कृति र ज्ञान (भाषा, गीत, सङ्गीत, खाना, पहिरन र सीप), तेस्रो चाबी लगानी तथा पर्यटन पूर्वाधारको विकास, चौथो चाबी : चार ऋतुहरुको “ब्रान्डिङ” र पाँचौ चाबी नेपाली समाजको सांस्कृतिक ऐतिहासिक विविधतामा आधारित मौलिक “नयाँ सम्पदाहरु” निर्माण रहेको छ । छैटौं चाबीमा विज्ञान तथा प्रविधिको भरपूर सदुपयोग, सातौं चाबीमा दुई वा दुईभन्दा बढी धर्मका साझा स्थलहरु समेटेर “बहुसांस्कृतिक र बहुधार्मिक महारेखा” निर्माण, आठौं चाबीमा जलवायु परिवर्तनद्वारा सिर्जित असरहरुलाई पर्यटकीय उपजमा परिणत गरी नेपालका पक्षमा विश्व जनमत निर्माण गर्न “ग्लोबल वार्मिङ टुरिजम" को विकास र नवौं चाबीमा अन्तर मन्त्रालयगत समन्वयात्मक विकास रहेको छ ।

यसैगरी सङ्घीय संस्कृति नीति यथाशिघ्र मन्त्री परिषदबाट पारित गराउन पर्ने, पर्यटन ऐन संशोधन, २०८० तत्काल संसदमा पठाई अघि बढाउनु पर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरु व्यवसायिक रुपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पी.पी.पी. मोडेलमा लैजान पर्ने सुझाव पनि किरातीले दिएका छन् ।

उनले वायु सेवा निगमको पुनःसंरचना गर्दै करार व्यवस्थापनमा लानु पर्ने, दुर्गम क्षेत्रको विमानस्थलमा उड्ने साना, क्षेत्रीय विमानस्थलमा उड्ने मझौला र अन्तर्राष्ट्रिय उडान गर्ने ठुला जहाजहरु थप्ने प्रक्रिया निकै नै अगाडी बढिसकेकोले निरन्तरता दिनु पर्ने, हिन्दु पर्यटन र रैथाने विश्वविद्यालय निर्माणको बाँकी कामलाई अघि बढाउनु पर्ने, पशुपतिमा विद्युतिय निःशुल्क शवदहन गराउने कार्य अन्तिम चरणमा पुऱ्याइएको हुँदा तत्काल कार्यान्वयन गराउनु पर्ने सुझाव पनि पूर्वमन्त्री किरातीले दिएका छन् ।

लुम्बिनीमा माया देवी प्रसुति अस्पताल निर्माणको कामलाई यथासक्य अगाडि बढाउनु पर्ने तथा मल्ल कालपछि नेपालमा कुनै विश्व सम्पदा निर्माण हुन नसकेको हुँदा पश्चिममा कैरन पहाड र पूर्वमा रिसिया पहाडलाई विश्व सम्पदा निर्माणको रुपमा अघिल्लो वर्ष प्रारम्भ गरिएको अभियानलाई निरन्तरता दिनुपर्ने पनि किरातीको सुझाव छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको