Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बजारको सुधारमा धितोपत्र बोर्ड बाधक बनेको नेप्सेका महाप्रबन्धकको आरोप

मंगलबार, १२ पुस २०७३, १५ : ०६ मा प्रकाशित

धितोपत्र बजारको सुधारमा धितोपत्र बोर्ड बाधक बनेको नेप्सेका महाप्रबन्धकको आरोप

लीलानाथ घिमिरे

काठमाडौं–नेपाल स्टक एक्स्चेन्जका महाप्रबन्धक सीताराम थपलियाले धितोपत्र बजारको सुधारमा धितोपत्र बोर्ड बाधक बनेको आरोप लगाएका छन् ।महाप्रबन्धक थपलियाले ‘हलो अड्काएर गोरु चुट्ने काम’ मात्र बोर्डले गरेको बताए । अर्थ संसार डटकमसँग कुरा गर्दै उनले बोर्डले नेपाल स्टक एक्स्चेन्जका हरेक काममा भाँजो हालिरहेको आरोप लगााए । ‘बोर्डले लगानीकर्तालाई नेप्से घेर्न जाऊ, नारा लगाउन जाऊ भनेर उक्साइ रहेको छ,’ उनले आक्रोस पोख्दै भने, ‘सेयर कारोबारलाई अनलाइनमा लैजाने, ब्रोकरहरुलाई शाखा खोल्न दिने काम धितोपत्रको अबरोधले गर्दा रोकिएको हो ।’

उनले अनलाइन कारोबार गर्ने सफ्टवेयर किन्न पहिले स्वीकृति दिएर पछि महंगो भयो भनेर बखेडा झिकेको बताए । ‘हामीले सार्बजनिक खरिद ऐनलाई पालना गरेर सफ्टवेयर खरिद गर्न लागेका थियौं,’ उनले भने, ‘बोर्डले किन्दा चलखेल भयो भनेर टेन्डर खारेज गर्न लगायो । तुरुन्तै विदेशबाट समेत कारोबार गर्न मिल्ने सफ्टवेयर किन्न निर्देश दियो ।’ पहिले सम्झौता गरिसकेको कम्पनीले उच्च अदालतमा मुद्दा दर्ता गरेकाले अनलाइन कारोबार गर्ने सफ्टवेयर किन्न अहिलेलाई रोकिएको उनले बताए । 

आफूले अहोरात्र खटिएर काम गरिरहँदा बोर्डको अबरोधका कारण कामै नगरेजस्तै देखिएको उनले बताए । ‘बोर्डका सहायक स्तरका कर्मचारीले समेत नेप्सेका प्रमुखभन्दा आफूमाथि रहेको ब्यवहार गर्छन्,’ उनले भने, ‘अति भएपछि बिस्फोट हुन्छ । हामी सधैं सहेर बस्दैनौं । हामी मिडियामार्फत हाम्रो पीडा सार्बजनिक गर्छौं । 

आफूहरुले ४१ वटा ब्रोकरलाई शाखा खोल्न दिने तयारीका साथ अनुमति माग्दै धितोपत्र बोर्डमा पत्र पठाइसकेको उनले जानकारी दिए । ‘धितोपत्र बजारको विस्तारमा नेप्सेले काम गरिरहेको छ,’ उनले भने, ‘समयमा बोर्डबाट सकारात्मक निर्णय नहुँदा नेप्सेले पेलिएको अनुभूति गरिरहेको छ ।’ महाप्रबन्धक थपलियाले बैंकहरुलाई ब्रोकरको लाइसेन्स दिने कुरामा नेप्से सकारात्मक रहेको बताए । ‘हामीले धितोपत्र ऐन, नियमावली हेरेर मात्र हुँदैन ।

बैंक तथा वित्तीय संस्था ऐन अनुसार स्थापना भएका बैंकलाई लाइसेन्स दिन त्यो ऐनले पनि अनुमति दिनु पर्छ । तिनको नियामक राष्ट्र बैंकको पनि स्वीकृति चाहिन्छ । त्यसैले यसबारे अध्ययन गर्न गठित समितिलाई कसरी बैंकलाई लाइसेन्स दिन सकिन्छ भनेर अध्ययन गरेर यथासिघ्र प्रतिवेदन दिन नेप्सेको संचालक समितिले भनेको उनले बताए । ‘हामीले विहान, दिउँसो, बेलुका, राति जुनसुकै बेलामा बैठक बसेर तुरुन्त प्रतिवेदन दिन भनेका छौं,’ उनले भने, ‘विलम्ब गर्ने पक्षमा हामी छैनौं ।’

थपलियासँगको बिस्तृत अन्तवार्ता केही बेरमा ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको