Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरको आइपिओमा लगानी गर्ने हो ? मिस्ट्री खोलाको आइपिओ धमाधम बिक्रीमा

अर्थसंसार

आइतबार, ०४ असोज २०७७, ०० : ०० मा प्रकाशित

हाइड्रोपावरको  आइपिओमा लगानी गर्ने हो ? मिस्ट्री खोलाको  आइपिओ धमाधम बिक्रीमा

अर्थ संसार, काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्री खोला जलविद्युत् आयोजनाको साधारण शेयर (आईपीओ) निष्कासन भएको छ । ४२ मेगावाट क्षमताको मिस्ट्री र नुवाकोटस्थित ५ मेगावाट क्षमताको तादीखोला जलविद्युत् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एकै पटक १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्कासन भएको हो । दुईवटै आयोजनाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपाल लिमिटेड रहेको छ ।  
 
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० देखि अधिकतम २० हजार कित्ता शेयर खरिद गर्न पाउने माउन्टेन इनर्जीका प्रशासन तथा लेखा प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । “गत साउन ८ गतेदेखि सेयर निष्कासन गर्ने भनिएकामा बाढीपहिराका कारण सर्वसाधारणलाई बैंकमा जान आउन समस्या भएपछि स्थगित भएको थियो”, उनले भने, “भदौ ३१ गतेदेखि निस्कासन भएको शेयर छिटोमा असोज १४ र ढिलोमा असोज २९ गतेसम्म बन्द हुनेछ ।” 

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकता दिएर कूल लागतको १० प्रतिशत शेयर निस्कासन गरेको हो । मिस्ट्री खोला निर्माण स्थल नारच्याङ र तादी खोला (थप्रेक) जलविद्युत् आयोजना प्रभावित तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका बासिन्दाका लागि चालीस र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बासिन्दाका लागि ६० प्रतिशत शेयर निस्कासन गरेको हो । 

कूल रु १९ करोड ६८ लाख दुई हजार ७०० मूल्य बराबरको शेयर निष्कासन भएको छ । नारच्याङ र अन्नपूर्ण गाउँपालिकाका बासिन्दाले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बेनी, ग्लोबल आइएमई बैंक लिमिटेड बेनी, गरिमा विकास बैंक लिमिटेड पोखरेबगर र प्रभु बैंकको अन्नपूर्ण शाखाबाट शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आइपिओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र सिबिआइएल क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । 

मिस्ट्री खोलाको ९८ प्रतिशत निर्माण सकिएको आयोजनाको परामर्शदाता इन्जिनीयर दिवाकर खड्काले बताए । “बाँध र पेनस्टकको काम सकिएको छ,” उनले भने, “विद्युत् गृहमा जडान भएका उपकरणको परीक्षण र टनेलको बाँकी काम अन्तिम चरणमा पुगेको छ ।” मिस्ट्री खोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दी खोलाले गत माघ महिनादेखि उत्पादन शुरु गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको