Like us!
Follow us!
Connect us!
Watch us!
प्रमुख दलहरुको आ-आफ्नै अडान के होला राष्ट्रपति चूनाव ?

राष्ट्रपति निर्वाचनले नेपाली राजनीति तरंगित, सत्ता गठबन्धन नयाँ समिकरणतर्फ अग्रसर

प्रभात सिंह

बुधबार, १० फागुन २०७९, ११ : १० मा प्रकाशित

राष्ट्रपति निर्वाचनले नेपाली राजनीति तरंगित, सत्ता गठबन्धन नयाँ समिकरणतर्फ अग्रसर

नेपाली राजनीति अहिले तरंगित बनेको छ । राष्ट्रपतिको पदका लागि सम्पूर्ण दल आ–आफ्नै दाउमा छन् । प्रमुख दलका नेताहरुले उक्त विषयलाई राजनीतिक अस्त्र बनाउँदा अन्यौलता बढ्दै गएको छ । सत्ता गठबन्धनमा पूर्णविराम लाग्ने निश्चितप्रायः छ । त्यसपछि बन्ने घटना क्रमले रोमाञ्चक मोड लिने देखिन्छ । 

प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) लाई कुनै हालतमा राष्ट्रपति नदिने अडान लिइसकेका छन् । यसलाई बुझेर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नयाँ रणनीति चालेका छन् ।

ओलीले सोमबार साँझ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेटी राष्ट्रपतिको प्रस्ताव गरेका छन् । दुई पार्टी एकताको शर्तसहित उनले प्रस्ताव राखेपछि राजनीतिक गतिविधि तरंगित भएको छ । पूर्व प्रधानमन्त्री नेपालले एमालेबाट अलग भएर नेकपा (एस) गठन गरेका थिए । उक्त दल नेपाली काँग्रेससहितको विपक्षी गठनबन्धनमा छ ।

एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङअनुसार ओली र नेपालबीच भेट भएको छ । भेटमा मिलेर जानेबारे कुराकानी भएको समेत बताए । माधव नेपाल निकट नेकपा(एस)का नेता सोमप्रसाद पाण्डेले ओलीसँगको भेटपछि थप छलफलहरु चलिरहेको जानकारी दिए ।

यता प्रचण्डले राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवारलाई साथ दिने वचन दिइसकेका छन् । काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो दलको उम्मेदवारलाई प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले साथ दिने सहमति भइसकेको बताइसकेका छन् । प्रचण्डले सोमबार साँझ पार्टी बैठक राखी राष्ट्रपतिमा कस्लाई समर्थन गर्नेबारे अधिकारको निर्णय आफूलाई हुने गरी निर्णय गराइसकेका छन् ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले कसलाई राष्ट्रपतिमा समर्थन गर्नेबारे निर्णय अधिकार प्रचण्डलाई दिइएको बताए । उनले परिस्थिति फरक भइसकेकाले अवस्था हेरेर अन्तिम निर्णय हुने समेत बताए ।

काँग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा अगाडि सार्ने तयारी गरेको छ । विकल्पमा सभापति शेरबहादुर देउवा स्वयंलाई सार्नेबारे पनि छलफल चलिरहेको छ । काँग्रेसको एउटा पक्ष पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सार्न सक्रिय छ । नयाँ राजनीतिक घटनाले राष्ट्रपति एमालेले नपाउने निश्चितप्रायः भएको छ । बरु उस्ले नयाँ कार्डका रुपमा माधव नेपाललाई सार्न खोजिरहेको छ । यसले नेपालको सत्ता समिकरणलाई केही दिनमै उथलपुथल पार्ने संकेतहरु देखिइरहेको छ । 

उनले आफू प्रधानमन्त्रीमा पाँच वर्ष टिक्न काँग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने लगभग तय छ । आफू प्रधानमन्त्री बनेर चीनलाई प्रचण्डले खुशी पारिसके र अहिले राष्ट्रपति काँग्रेसलाई दिएर उनी भारतलाई फकाउन चाहन्छन् । विश्लेषकहरुका अनुसार उनको यो दोहोरो नीतिले कार्यकाल र सदन कति दिन चल्ला भन्ने विषय चूलिएर गएको छ । नेपालका नेताहरुको यो दोहोरो नीतिले मुलुकको आर्थिक, सामाजिक, कुटनीति सम्पूर्णमा असर परिरहेको छ । मुलुक एकतरिकाले झन् जटिल्ता तर्फ गइरहेको विशलेषकहरुको भनाई छ ।

यी हुन् राष्ट्रपतिका आकांक्षी 

राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा प्रभावशाली नेतादेखि स्वतन्त्र भनिएका व्यक्तिहरु पनि आकांक्षी बन्दै सक्रिय भएका छन् । उनीहरु आन्तरिक भेटमा निरन्तर सक्रिय छन् ।

राष्ट्रपतिको आकांक्षीमा नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । एक पक्षले सभापति शेरबहादुर देउवालाई पनि बढाउन खोजेको छ । तर, पौडेल सबैभन्दा बलिया उम्मेदवारका रुपमा देखिएका छन् । सिटौलानिकट एक नेताले बताएअनुसार देउवा उनैलाई अगाडि सार्न चाहन्छन् ।

एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङ आकांक्षी छन् । उनीहरु जीत सुनिश्चित हुने अवस्थामा मात्र उम्मेदवार बन्ने बुझिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस उम्मेदवारलाई रोक्न नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई बढाउन खोजेका छन् । उनले नेता नेपालसँग सोमबार साँझ भेट गरिसकेका छन् । एसका नेता सोमप्रसाद पाण्डेले सहमतिको प्रयासस्वरुप छलफल बढिरहेको जानकारी गराए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर पनि आकांक्षी देखिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भेटी राष्ट्रपतिमा आफ्नो नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेको सोही पार्टीका एक नेताले बताए । 

राष्ट्रपतिको दौडमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि छन् । तर, उनको नाममा सहमति बनिहाल्ने स्थिति छैन । राजनीतिक दलबाहिरका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, प्राध्यापक लोकराज बराल, कानून व्यवसायी शम्भु थापालगायत पनि आकांक्षी छन् । रेग्मीले विगतमा चुनावी सरकारको नेतृत्व समेत सम्हालीसकेका छन् ।

राष्ट्रपति निर्वाचन २५ फागुनमा हुने भएपनि १३ फागुनमा मनोनयन दर्ता हुने तय छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको