Like us!
Follow us!
Connect us!
Watch us!

मध्यभोटेकोशीको एक अर्ब ४४ करोड बराबरको आइपिओ आउँदै, कसले कति कित्ता भर्न पाउँछन् (सूचीसहित)

विहीबार, १५ कार्तिक २०७५, ०५ : ०५ मा प्रकाशित

मध्यभोटेकोशीको एक अर्ब ४४ करोड बराबरको आइपिओ आउँदै, कसले कति कित्ता भर्न पाउँछन् (सूचीसहित)

अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनी लिमिटेडको मुख्य प्रवर्धकत्वमा स्थापित मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारण शेयरधनी समूहअन्तर्गत रहेका शेयरधनीहरुलाई शेयर निष्काशन गर्न लागेको छ ।

सो कम्पनीले पहिलो चरणमा रु एक अर्ब ४४ करोड बराबरको सिमित साधारण शेयर बिक्री गर्न लागेको हो ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी रु. ६ अर्ब २१ करोड रहेको छ भने जारी पूँजी रु. ६ अर्ब रहेको छ ।

निर्माणाधीन यस आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण संझौता हुँदाका बखत निर्माण अवधिको ब्याजबाहेक रु.१२ अर्ब २८ करोड रहेको थियो ।  हाल यस आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु.१४ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । ५० प्रतिशत ऋणका लागि कर्मचारी संचयकोषसंग ऋण सम्झौता भएको छ । संस्थापक समूहबाट कबोल भएको शेयर रकम रु. ३ अर्ब ६ करोड चुक्ता भइसकेको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीहरु (नेपाल विद्युत प्राधिकरण–१०%, चिलिमे जलविद्युत कम्पनी लिमिटेड–३७%, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लि.–१%, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.–१%, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.–१% र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.–१%) रहेको छ भने ४९% सर्वसाधारण शेयरधनी समुह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी– १९.५%, संस्थापक संगठित संस्थाका कर्मचारी–३.५%, ऋणदाता संस्थाका कर्मचारी–१%, सिन्धुपाल्चोक जिल्लाका स्थानीय–१०% र सर्वसाधारण–१५%) का लागि छुट्याइएको छ ।
 
यसरी सर्वसाधारण समुहका लागि छुट्याइएको शेयरको निष्काशन तथा विक्री वितरण गर्न ग्लोबल आई.एम.ई. क्यापिल लि.लाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लि., एनआईबिएल एस. क्यापिटल लि., लक्ष्मी क्यापिटल मार्केट लि., सिभिल क्यापिटल मार्केट लि., सानिमा क्यापिटल लि. र सिबिआएल क्यापिटल लि.लाई सह–निष्काशन तथा विक्री प्रवन्धकमा नियुक्त गरिएको छ ।

हाल पहिलो चरणमा रु.१०० रुपैयाँ अंकित दरका १ करोड ४४ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।०६।२९ मा विवरणपत्र स्वीकृत भएको छ । जसमा  कर्मचारी संचयकोषमा रकम संचित गर्ने संचयकर्ता कर्मचारीका लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता निष्काशन गर्न लागिएको हो ।

यस कम्पनी र कर्मचारी सञ्चय कोषबीच मिति २०६८ मंसिर २२ गते ऋण सम्झौता भएको र सोही सम्झौतामा उल्लेख भएबमोजिम उक्त मिति २०६८।०८।२२ मा बहाल रहेका र त्यसपछि विवरणपत्र स्वीकृत भएको मिति २०७५ आश्विन २९ सम्ममा थप भएका संचयकर्ता, संस्थापक संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीहरुले यस चरणको शेयर निष्काशनमा आवेदन दिन सक्नेछन् ।

यसरी आवेदन दिंदा सञ्चयकर्ताहरुले २८ कात्र्तिक–१४ मंसिर २०७५ सम्म र संस्थापक संगठित संस्थाका कर्मचारी तथा ऋणदाता संस्थाका कर्मचारीले १८–२६ मंसिर २०७५ सम्म आवेदन दिन सकिनेगरी मिति २०७५।०७।१५ गतेका दिन यसको आव्हान पत्र प्रकाशन गर्ने कम्पनीको योजना रहेको
छ ।
 शेयर निष्काशन तथा विक्री वितरणका लागि सिआस्वा  अनिवार्य गरिएको छ । आवेदकहरुले देशभरी रहेका सि आश्वा सेवा प्रदान गर्ने सम्पूर्ण बैक तथा वित्तीय संस्थाहरुमा आफ्नो कर्मचारी परिचयपत्र तथा संचयकर्ताको हकमा संचयकर्ता परिचयपत्र पेश गरी आवेदन दिनुपर्नेछ । साथै आवेदकहरुको ऋच्ल् तथा डिम्याट खाता पनि अनिवार्य रहेको छ ।

शेयरको लागि यसरी आवेदन दिंदा कर्मचारी संचय कोषका संचयकर्ताहरु र संस्थापक संस्थाका कर्मचारीहरुले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् भने कर्मचारी संचय कोषका कर्मचारीले न्युनतम ५० कित्ता र सो भन्दा बढी १० अंकले भाग जाने संख्यामा अधिकतम् १२०० कित्तासम्मको लागि शेयरमा आवेदन दिन सक्नेछन् ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाबासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गर्ने योजना रहेको छ । यस आयोजनाको अद्यावधिक लागत अनुमान निर्माण अवधिको ब्याजबाहेक रु.१४ अर्ब ८३ करोड ९२ लाख रहेकोमा २०७५ आश्विन मसान्तसम्म ब्याजबाहेक रु.५ अर्व ९१ करोड ६४ लाख खर्च भई कूल वित्तीय प्रगतिभार ३९.९०% रहेको छ ।

आयोजना निर्माणको लागत अनुमान तयार पारेको समयमा भन्दा हाल विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, महाभूकम्प, बाढीपहिरो, नाकाबन्दी लगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजना सम्पन्न गर्ने अवधि बढ्न गई ऋणको ब्याज बढ्न जाने जस्ता कारणहरुले गर्दा आयोजनाको लागत केही बढ्न जाने अनुमान गरिएको छ ।

मध्य भोटेकोशी जलविद्युत आयोजना जुरे पहिरो, महाभूकम्प, नाकावन्दी एवं विनाशकारी बाढीको कारणले निर्माण कार्यमा केही ढिलाई भएको छ । कूल  ७१२६ मि.लामो मुख्य ज्भबमचबअभ शुरुङ्ग मध्ये ४०६० मि. शुरुङ्ग खन्ने कार्य सम्पन्न भइसकेको छ भने बाँकी कार्य पनि चार फेसबाट भइरहेको छ । विद्युत गृहको खन्ने कार्यसम्पन्न गरी कक्रिटिंग गर्ने काम भइरहेको छ ।
ठेकेदार कम्पनीले अहिले प्रसारण लाइनको सर्वे सम्पन्न गरी रिपोर्ट पेश गरिसकेको छ ।  

आयोजनाले १६ असार २०७६ देखि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । हालसम्म आयोजनाको समग्र निर्माण कार्य प्रगति करिब ४२ प्रतिशत रहेको छ । आयोजनाबाट वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः
रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।
 
अन्त्यमा, निर्माणाधीन आयोजना हालको अनुमानित लागत र तोकिएको समयमा सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको जानकारी गराउँदछु । आयोजनाको सफल कार्यान्वयबाट स्थानीय सहभागितामा जलविद्युत आयोजनाको निर्माण सहज हुने विश्वासका साथ सरकारी निकाय तथा संगठित संस्था, निजी क्षेत्र, सर्वसाधारण तथा कर्मचारीको प्रत्यक्ष सहभागितामा नेपालको जलविद्युत क्षेत्रको विकासका लागि सार्वजनिक–निजी–जनता साझेदारीको अवधारणा एउटा कोशेढुंगा साबित हुने अपेक्षा गरिएको छ ।

आयोजनाको सफल कार्यान्वयनका लागि पत्रकार तथा संचार माध्यमबाट निरन्तररुपमा प्राप्त भइरहेको सहयोगका लागि विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै सहयोग प्राप्त भइरहने छ भन्ने अपेक्षा गरेका छौं ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको