Like us!
Follow us!
Connect us!
Watch us!

छोरीले गरिन् आमाको किरिया

आइतबार, ०३ चैत्र २०७५, १८ : ३८ मा प्रकाशित

छोरीले गरिन् आमाको किरिया

फाइल फोटो

अर्थ संसार, रोल्पा– छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रोल्पाकी एक महिलाले आमाको किरिया बसेकी छन् ।

६४ वर्षको उमेरमा आमा दिलसरी घर्तीको मृत्यु भएपछि माडीगाउँपालिका–३ तालवाङकी २२ वर्षीया लक्ष्मी घर्ती मृतक आमाको किरियामा बसेकी छिन् ।

“आमालाई दागबत्ती दिनाका साथै किरिया बस्न पाउँदा छोरीको भूमिका निर्वाह गरेजस्तो लागेको छ,” घर्तीले भन्नुभयो । परिवारमा दाजुभाइ नभएकाले पनि आमाको इच्छाअनुसार किरिया बसेकी घर्तीले बताउनुभयो । “परिवारमा बिरामी अवस्थामा वृद्ध बुबा मात्रै हुनुहुन्छ,” घर्तीले भन्नुभयो । हिन्दू संस्कारअनुसार आमाको काजक्रिया गर्ने समेत घर्तीले जानकारी दिनुभयो ।

“समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो,” समाजसेवी कृष्णबहादुर घर्तीमगले भन्नुभयो, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।”

घर्ती परिवार तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा २०६२ सालदेखि सदरमुकाम लिबाङ बस्दै आएको थियो । द्वन्द्वका कारण विद्यालय जान नपाएकी घर्तीले बिरामी बुबाआमाको उपचार तथा रेखदेख गर्दै आएकी थिइन् । आमाको शनिबार मृत्यु भएको हो । रोल्पामा छोराले मात्र मृतक बुबाआमाको दागबत्ती र किरिया बस्नुपर्छ भन्ने परम्पराको बिस्तारै अन्त्य हुँदै जान थालेको छ । जिल्लामा पछिल्लो पटक छोरीले पनि दागबत्ती र किरिया बस्न थालेपछि यो प्रथाको बिस्तारै अन्त्य हुन थालेको हो । विगतको समयमा छोरा नभएकाले पैसा दिएर वा नजीकैको नाता पर्ने कुनै छोरा मान्छेलाई किरिया बसाल्ने परम्परा रहँदै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको