Like us!
Follow us!
Connect us!
Watch us!

मर्जको लागि धमाधम पार्टनर खोज्दै बाणिज्य बैंक, १५ बैंकले मर्जरको लागि दिए लिखित प्रतिबद्धता

अर्थ संसार

सोमबार, २३ असार २०७६, १० : ०९ मा प्रकाशित

मर्जको लागि धमाधम पार्टनर खोज्दै बाणिज्य बैंक, १५ बैंकले मर्जरको लागि दिए लिखित प्रतिबद्धता

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई मर्जरको लागि निर्देशन दिएसँगै हिजोआज बैंकका संचालक समितिका सदस्यहरुलाई भ्याइनभ्याई छ । संचालक समितिले अहिले आफ्नो बैंकलाई अरुमा गाभ्ने कि अरुलाई आफ्नोमा गाभ्ने छलफलमै दिन वित्ने गरेको छ ।

दुई बैंकको संचालक समितिको लामो छलफल पछि  बैंक तथा वित्तीय संस्था मर्जरमा जाने लिखित प्रतिबद्धता लिएर नेपाल राष्ट्र बैंक पुग्न थालेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति आउनुअघि नै मर्जरका बारेमा ठोस प्रस्ताव ल्याउन निर्देशन दिएपछि आइतवारसम्म १५ ओटा वाणिज्य बैंकले यस्तो लिखित प्रतिबद्धता बुझाएका हुन् ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार हालसम्म १५ ओटा वाणिज्य बैंक, एउटा विकास बैंक र नेपाल लघुवित्त बैंकर्स संघको प्रतिबद्धता आएको छ । वाणिज्य बैंकमध्ये मर्जरका लागि प्रतिबद्धता पत्र बुझाउनेमा एनएमबी बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंक, सेन्चुरी बैंक, नेपाल एसबीआई बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक छन् ।

यस बीचमा दुई वाणिज्य बैंकहरूले मर्जरमा जाने सहमति गरिसकेका छन् भने अन्य दुई वाणिज्य बैंकले विकास बैंक प्राप्ति (एक्वायर) गर्ने समझदारी गरेका छन् । गत शुक्रवार ग्लोबल आईएमई बैंक र जनता बैंकबीच ४ महीनाभित्र मर्जर सक्नेगरी सहमति भएको थियो ।

यस्तै, प्राइम कमर्शियल बैंकले कैलाश विकास बैंकलाई र सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने समझदारी भइसकेको छ ।यसबाहेक विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले मर्जरमा जान इच्छुक भएको पत्र राष्ट्र बैंकमा बुझाइसकेको छ ।

प्रतिबद्धता पत्र बुझाउने बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकलाई आफूहरु मर्जरका लागि तयार रहेको र त्यसका लागि समिति गठन गरिएको जानकारी पनि दिएका छन् ।

लघुवित्त कम्पनीहरूलाई पनि मर्जरका लागि केन्द्रीय बैंकले दबाब दिइरहँदा नेपाल लघुवित्त बैंकर्स संकले नै एकमुष्ट मर्जर तथा एक्विजिशनमा जाने प्रतिबद्धता पेश गरेको प्रवक्ता निरौलाले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको