Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले जेष्ठ महिनाको व्याजमा पनि १० प्रतिशत छुट दिने

निशा हुमाँगाई

विहीबार, ०१ जेठ २०७७, १४ : २१ मा प्रकाशित

एनआईसी एशिया बैंकले जेष्ठ महिनाको व्याजमा पनि १० प्रतिशत छुट दिने

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया बैंकले ऋणीहरूलाई जेष्ठ महिनामा समेत कर्जाको व्याजमा १० प्रतिशत  छुट प्रदान गर्ने भएकाे छ । 

नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७ वैशाख १६ गते COVID-19 बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम व्याज दरमा २% व्याज सहुलियत दिन गरिएको निर्देशनको कार्यान्वयन गर्दै एन आई सी एशिया बैंकले २% व्याज सहुलियतको अलावा ऋणीहरूले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/व्याज रकम वैशाख मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेमा सम्पूर्ण व्याज रकममा थप १०% छुट तथा जरिवाना व्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।

COVID-19 महामारीबाट सम्पूर्ण ऋणीहरूलाई परेको असरको मूल्यांकन गर्दै यस बैंकले आफ्नै प्रयासबाट जेष्ठ महिनाका लागि समेत १०% छुटको योजना लागू गर्ने भएकाे छ ।  जसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २% व्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेमा सम्पूर्ण व्याज रकममा १०% छुट तथा जरिवाना व्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पुर्याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको हो । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यसैगरी, उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आईरहेको यस बैंकले यस विषम परिस्थितिमा समेत आफु एक उत्तरदायी कर्पोरेट नागरिकको हिसाबले समग्र अर्थतन्त्रको सबलीकरणमा टेवा पुर्याउने मनशायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहक महानुभावहरूको सर्वोपरि हितलाई सम्बोधन गर्नु आफ्नो परम कर्तव्य र प्राथमिकताको रूपमा लिएको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत्र १६ गतेको निर्देशनको पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत्र महिनाभित्र भुक्तानी गर्नुभएको ऋणीहरूको हकमा नियमित व्याजको १०% ले हुन आउने छुटको ग्राहकहरूको खातामा जम्मा गरिसकेको समेत सहर्ष जानकारी गराएकाे छ ।

साथै, वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता/व्याज रकम वैशाख मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेका ग्राहक महानुभावहरूको हकमा साधारण व्याजको १०% ले हुन आउने छुटको रकम जेष्ठ महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ । नेपालको बैंकिङ्ग क्षेत्रमा अत्यन्तै दुर्लभ यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरूलाई लाभ लिन बैंकले अनुरोध गरेकाे छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूमा लगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ जेष्ठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरिएको छ । यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साता भित्र सम्बन्धित ग्राहक महानुभावको बैंक खातामा जम्मा गरिनेछ ।

बैंकले प्रदान गर्ने १०% छुट बैंकको चैत्र महिनाको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरूको हकमा लागू हुने छैन तथा बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरूको व्याजदर बैंकको चैत्र महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ । साथै, उक्त व्याज छुट ऋणीहरूको उपभोग गर्न बाँकी कर्जा तथा limit थप गरी व्याज भुक्तानी गरिएको कर्जा सुविधाको हकमा भने नपाउने व्यवस्था गरिएको छ ।

यस विपतको घडिमा आफ्ना आदरणीय ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै बैंकले यसअघि नै सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरिरहेको छ भने ग्राहक महानुभावहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ्ग आवश्यकताहरू पूरा गर्न पनि उत्प्रेरित गरिएको छ ।

‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट ग्राहक महानुभावहरूले घरबाटै निःशुल्क रूपमा तिर्न सक्ने व्यवस्था समेत बैंकले गरेको छ । उक्त सेवाहरूका साथै ग्राहक महानुभावहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधा पनि बैंकले दिएको छ । ग्राहक महानुभावहरूले कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नुहुन्छ । यसका साथै बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी गर्न सकिने कार्ड स्वाइप तथा ई–कमर्श भुक्तानी समेत निःशुल्क उपलब्ध छन् ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्ड वाहकले एन आई सी एशिया बैंकका ४६१ एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस बैंकको कार्ड वाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटिएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ ।

यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूलाई विशिष्टिकृत सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।  २१ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू ३ अर्ब १५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको