Like us!
Follow us!
Connect us!
Watch us!

जसले चलाउँछ गाडि, उसैलाई हाम्रो भोट

बुधबार, २७ बैशाख २०७४, १५ : ४७ मा प्रकाशित

जसले चलाउँछ गाडि, उसैलाई हाम्रो भोट

अर्थ संंसार 
कागेश्वरी मनोहरा (काठमाडौँ)–नगरस्तरको पूर्वाधार विकास गरी सरकारले घोषणा गरेको नगरपालिकामा बाह्रै महिना यातायात सञ्चालनको वातावरण बनाउने उम्मेदवारलाई मत दिने नगरवासीले बताएका छन् । 

सरकारले काठमाडौँ र भक्तपुरलाई गाउँ विकास समितिविहीन बनाउने उद्देश्यले काँठ क्षेत्रका सबै ग्रामीण भेगलाई नगरपालिका घोषणा गरेपनि सामान्य सुविधाबाट समेत वञ्चित हुनुपरेको कागेश्वरी मनोहरा नगरवासीको गुनासो छ । 

गाउँलाई नगरपालिका घोषणा गरिएपनि सार्वजनिक यातायातको सुविधा लिन घण्टौँ हिँड्नुपर्ने, हिँडेर पुगेपनि खोजेका बेला सवारी नपाउने, सडक वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुने समस्या दैनिक भोग्नुपरेको वडा नम्बर एक गागलफेदीका स्थानीय नवराज खड्काले बताउनुभयो । 

“विकास र सुविधाको सबैभन्दा ठूलो आधार सडक पूर्वाधार नै रहेछ, तर सरकारले घोषणा गरेको यो नगरपालिकामा सडक राम्रो छैन, भएको सडकमा पनि नियमित यातायात सञ्चालन नहुँदा नगरपालिका हो कि नरकपालिका हो बुझ्न कठिन छ, चुनावमा हात जोड्दै मत माग्न आउनेहरु जितेपछि हराउँछन्, फेरि अर्को निर्वाचनमा नाटक झैँ मत माग्न आउँछन्, अब उधारो वाचाले हुन्न, काम हुनुपर्छ” – मनभित्र गुम्सिएका उकुसमुकुस सुनाउँदै उहाँले भन्नुभयो ।


दोस्रो संविधान सभा निर्वाचनमा दुई जना सांसद निर्वाचित गरेको यो नगरपालिकामा स्थानीय तहको निर्वाचन जित्न दलहरुबीच प्रतिस्पर्धा चलेको छ । निर्वाचन क्षेत्र नं २ र ३ का तीन÷तीन गाविस मिलाएर बनाइएको कागेश्वरी मनोहरा नगरपालिकामा नौ वडा छन् । विसं २०७० मङ्सिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनमा रौतहट र काठमाडौँबाट निर्वाचित हुनुभएका नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले यो क्षेत्र छोडेपछि २०७१ असार ८ गते भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका दीपकप्रसाद कुइँकेल निर्वाचित हुनुभएको थियो ।

कुइँकेलको घर वडा नम्बर चारमा पर्छ । क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलको घर पनि यही नगरपालिकाको वडा नं दुईमा पर्छ । वडा नं एक, दुई र तीन निर्वाचन क्षेत्र नं तीनमा पर्छ । वडा नं चारदेखि नौसम्मलाई निर्वाचन क्षेत्र नं दुईमा राखिएको छ । फरक दलका दुई सांसद निर्वाचित भएकाले आ–आफ्नो प्रतिष्ठा जोगाउन दुवै सांसद आ–आफ्ना दलका उम्मेदवार जिताउन कम्मर कसेर लाग्नुभएको छ । 

विसं २०६८ को जनगणना अनुसार ६५ हजार जनसङ्ख्या रहेको नगरपालिकामा २७ हजार ९६५ मतदाता छन् । मतदाता आफ्नो पक्षमा पार्न दलका नेता कार्यकर्ता बिहान सबेरैदेखि साँझसम्म घरदैलो अभियानमा खट्ने गरेका छन् । 

साविकका गागलफेदी, आलापोट, भद्रवास, डाँछी, मूलपानी र गोठाटार गाविस मिलाएर बनाइएको नगरपालिकामा बाहिरी जिल्लाबाट आउनेहरुको बाहुल्यता बढ्न थालेको छ । बाहिरबाट आउने मानिस बढेसँगै बस्ती अव्यवस्थित बन्दै गएको पृष्ठभूमिमा यसलाई व्यवस्थित गर्ने मुद्दा सबै दलले ल्याएका छन् । 

नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार उपेन्द्र कार्की पञ्चामृत योजनालाई प्राथमिकता दिइएको बताउनुहुन्छ । “घर घरमा खानेपानी, टोल टोलमा ढल र सडक, आर्थिक, सामाजिक समृद्धि, व्यवस्थित बस्ती विकास तथा वातावरण संरक्षण र सुशासन गरी पाँच विषयलाई महत्व दिई पञ्चामृत योजना बनाइएको छ, काँग्रेसले यसलाई कार्यान्वयन गर्छ” – उहाँले भन्नुभयो । 

नगरका सबै बस्तीमा बाह्रै महिना यातायात सञ्चालन हुने गरी कच्ची सडकको स्तरोन्नति, कृषि, पर्या पर्यटन र बाग्मती एवम् मनोहरा नदीमा प्रदूषण कम गर्न नगरपालिकाले काम गर्ने कार्कीको विश्वास छ । नगरपालिकाको वडा नं एक, दुई र तीनमा राम्रो फाँट भएपनि कृषिलाई प्रोत्साहन गर्न नसक्दा तीव्र रुपमा अव्यवस्थित सहरीकरण बढेको ठहर गर्दै नेकपा (एमाले) बाट नगर प्रमुखका उम्मेदवार कृष्णहरि थापाले कृषि र पर्यटनमा जोड दिनुभएको छ । 

“नगर निर्वाचनका लागि पार्टीले ४२ बुँदे प्रतिबद्धतापत्र जारी गरेको छ, यसमा आफ्नो वडा आफैँ बनाऔँ, वडामै कृषि कार्यालयको व्यवस्था, वडास्तरमा रहेका उपस्वास्थ्य चौकीमा मेडिकल डाक्टरको व्यवस्था गर्ने लगायत छन्” – उहाँले भन्नुभयो । 

वडाको स्रोत वडामै परिचालन गरी विकास निर्माणको कामलाई तीव्र बनाउने लक्ष्य लिएको नेकपा एमालेले जनाएको छ । उपत्यकाकै नगर भएपनि यहाँ स्वास्थ्य सुविधा सहज छैन । महानगरका ठूला अस्पतालमा धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न आलापोटमा ५० शय्या र मूलपानीमा २०० शय्याको अस्पताल बनाउने आकर्षक नारा उम्मेदवारले नागरिकमाझ बाँडेका छन् । 

नेकपा ९माओवादी केन्द्र०का तर्फबाट नगर प्रमुखका उम्मेदवार बन्नुभएका महेश्वर फुयाँल छ महिनामा नगरका सबै सडकमा यातायात सञ्चालन गर्न सकिने गरी स्तरोन्नति गरिने बताउनुहुन्छ । 
“तीव्र सहरीकरण भएका वडामा पक्की सडक र ढल बनाउँछौँ, गागलफेदीदेखि गोठाटारसम्म नेपालको नक्सा आकारमा रहेको नगरपालिकामा छोटो द्रुत मार्ग बनाउने हाम्रो कार्यक्रम छ, नगरपालिकालाई दुई वर्षमा काठमाडौँको राम्रो, चार वर्षमा तीन नम्बर प्रदेशकै उत्कृष्ट र पाँच वर्षमा नेपालकै नमूना बनाउने लक्ष्य छ” – उहाँले भन्नुभयो । 

नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने मुद्दालाई पनि दलहरुले जोडतोडका साथ उठाएका छन् । सुन्दरीजलको सीमामा भएको नगरपालिका भएपनि खानेपानीको समस्या रहेकाले वडा नम्बर एकको कागेश्वरी स्रोतबाट नगरपालिकाभर पुग्ने गरी पानी वितरण गरिने प्रतिबद्धता मतदातासमक्ष उम्मेदवारहरुले गरेका छन् । 

मेलम्चीबाट आउने पानी सुन्दरीजलमै प्रशोधन गरी वितरण गरिने भएपनि छिमेकमै पहिलो चरणमा पानी वितरण नगरिने सरकारी नीतिका विरुद्ध सबै दलको समान धारणा छ । सबै दलले मेलम्चीको पानी नगरपालिकामा यही वर्षदेखि वितरण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसका लागि छिटो वितरण सञ्जाल बनाउन दबाब दिने उनीहरुको योजना छ । 

नगरपालिकाको मूलपानीमा बन्दै गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानलाई छिटो सम्पन्न गराई खेल पर्यटनको विकास गराउने वाचा दलहरुको छ । नगरपालिकाको एक नम्बर वडामा रहेको कागेश्वरी मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय रुपमा विकास गर्न कागेश्वरीधामको अवधारणा उम्मेदवारहरुले अघि सारेका छन् । कागेश्वरीको प्राचीन तामाङ बस्तीमा तामाङ र आलापोटमा नेवार सङ्ग्रहालय बनाउने सपना समेत नगरवासीमा बाँडिएको छ । 

नगरबाट काठमाडौँ महानगरपालिका जोड्न नगर बसको व्यवस्था गर्ने, नगरपालिकाले जनतालाई सेवा प्रवाह लगायत विषयमा सूचना दिन कागेश्वरी मनोहरा एफएम रेडियो सञ्चालन गर्ने सम्मका सोच स्थानीय तह निर्वाचनमा अघि सारिएका छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर प्रमुखका उम्मेदवार शम्भु थापा जनतामा जागरण ल्याउन एक वडा एक सार्वजनिक पुस्तकालय एवम् वाचनालयको अवधारणा लिएर चुनावी मैदानमा उत्रिएको सुनाउनुहुन्छ । 

“संविधान अनुसार माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई नै दिइएको छ, गुणस्तरीय शिक्षा दिन नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गर्नेछ, लोकसेवा तयारी कक्षा निःशुल्क चलाइनेछ, एक वडा एक खेलमैदान बनाउने लक्ष्य राप्रपाको छ” – उहाँले भन्नुभयो । 
नगरपालिकाको सीमा भएर बग्ने वाग्मती, मनोहरा र महादेव खोला किनारमा कोरिडर निर्माण गरी आवागमनमा सहज बनाउने योजना दलहरुको छ । 

नगरपालिकामा प्राविधिक शिक्षालयको स्थापना, फोहरलाई मोहरमा रुपान्तरण गर्ने र सार्वजनिक जग्गाको संरक्षण गर्ने विषयलाई दलहरुले मतदाता आकर्षित गर्ने नाराका रुपमा अघि सारेका छन् । 
नौ वडा रहेको नगरपालिकाको ४७ पदका लागि हुने निर्वाचनमा २१६ उम्मेदवारको प्रतिस्पर्धा छ । नगर प्रमुख पदमा ११, उपप्रमुखमा छ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिनुभयो ।

सबै वडामा दलित महिलाले उम्मेदवारी दिएको नगरमा ३७ जना महिलाले विभिन्न पदमा प्रतिस्पर्धा गरिरहेका छन् । नगरमा ४८ मतदान केन्द्र र १७ मतदान स्थल कायम गरिएको निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको