Like us!
Follow us!
Connect us!
Watch us!

मन जित्न महिला उम्मेदवार घरघरमा

विहीबार, २८ बैशाख २०७४, ०९ : ५४ मा प्रकाशित

मन जित्न महिला उम्मेदवार घरघरमा

 

अर्थ संसार 

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा निकै उत्साहका साथ निर्वाचनको प्रतिस्पर्धामा आएका महिला उम्मेदवारको प्रचारशैली पुरुष उम्मेदवारको भन्दा फरक देखिएको छ । 

पुरुष उम्मेदवारले घरदैलोका साथै प्रचारप्रसारका सामग्री छापेर, ठाउँ–ठाउँमा जमघट, चिया पसलमा गफगाफजस्ता प्रचार शैली देखिन्छ तर महिला धरैजसो घर–घरमै गएर मतदाताको विश्वास जित्ने प्रचार शैली अपनाएका छन् । 

काठमाडौँ महानगरपालिका–८ बाट नेपाली काँग्रेसका तर्फबाट खुल्ला सदस्य उम्मेदवार इन्दिरा भण्डारी बिहानदेखि–बेलुकासम्म मतदाताको घर–घरमा भोट माग्न व्यस्त हुनुहुन्छ । “महिला उम्मेदवारलाई चुनावका अत्यधिक प्रचारप्रसार सामग्री छाप्न पर्याप्त पैसा पनि छैन, महिलालाई कामको पनि बोझ धेरै छ, जसले गर्दा चिया पसलमा बिहानै र बेलुकासम्म प्रचारमा निस्कन गाह्रो छ”–उहाँले भन्नुभयो । 

महिला राजनीतिमा कम हुनाका कारण राजनैतिक मूल्य र मान्यताको कमी, परिवार र संस्थागत सहयोगको कमी, सुरक्षाको कमी, राजनीतिमा अपराधीकरणले गर्दा पनि भएको उल्लेख गर्दै उहाँले समाजमा पराम्परागत मूल्य र विश्वासले गहिरोरुपमा जरा गाडेको हुँदा कामको मूल्याङ्कन नहुनु, अर्थपूर्ण सहभागिता, विभेदकारी नीतिले गर्दा सक्षम महिला ओझेलमा परेको नेत्री भण्डारीको बुझाइ छ । 

उहाँ भन्नुहुन्छ, “अवसर पाएमा महिला नेतृत्व गर्न र जिम्मेवारी लिन सक्षम छन्, चुनावमा विजयी भएर राजनीतिमा पुरुषको एकाधिकार तोडी महिलाको समग्र विकास र खुसीका लागि काम गर्नका लागि मेरो उम्मेदवारी हो ।” 

महिलालाई परिवार व्यवस्थापन, बालबच्चा हेरचाह गरेर मात्र राजनीतिमा आउनुपर्ने भएकाले महिला चियापसलमा एकाबिहानैदेखि बेलुका अबेरसम्म भेला भएर भोट माग्ने अवस्था छैन । राजनीतिका साथै महिलालाई पारिवारिक जिम्मेवारी पनि त्यत्तिकै छ । 

तारकेश्वर नगरपालिकामा राष्ट्रिय जनमोर्चा पार्टीबाट नगरप्रमुखका उम्मेदवार रमा शर्मा गौतमको पनि प्रचारशैली उस्तै छ । “निर्वाचनमा असाध्यै धेरै मेहनत गरेको छु, चुनाव प्रचारप्रसार सामग्री छाप्नुमा भन्दा पनि मतदाताको घरघरमा भएर भोट मागेको छु”–उहाँले भन्नुभयो । 

प्रचार सामग्री छापेरभन्दा पनि मतदाताको घरघरमा पुगेर उनीहरुको दुःखसुख बुझेर भोट माग्दा आफूलाई चुनाव जित्न सहज हुने नेत्री गौतमको विश्वास छ । महिला उम्मेदवार चुनावमा प्रचारका लागि निकै मेहनत गर्छन् । घर–घरमा गएर मतदातासँग आफ्नो कुरा राख्छन् । ठाउँ–ठाउँमा प्रचार टाँसेरभन्दा पनि मतदाताको घरमै गएर भोट माग्दा आफूले मत पाउने विश्वास महिला उम्मेदवारलाई लागेको छ । 

नागार्जुन नगरपालिकामा नेकपा (एमाले)का तर्फबाट उपप्रमुखकी उम्मेदवार सुशीला अधिकारी अधिकांश मतदाताको घरमा पुग्ने प्रयासमा हुनुहुन्छ । “मतदाताको घरमा पुगेपछि मतदातालाई पनि उम्मेदवारप्रति विश्वास हुन्छ, चिन्दै नचिनेको भन्दा चिनेको र भोट मागेको मान्छेलाई मतदाताले भोट हाल्नुहुन्छ”–उहाँलाई घरदैलो नै मतदानको मन जित्ने प्रभावकारी माध्यम हो भन्ने लागेको छ । धेरै महिला उम्मेदवारलाई मतदाताको मन पगालेर चुनावमा जित्छु भने लागेको छ । जति समय भयो त्यति मतदातासँगै भेटेर मत माग्ने महिला उम्मेदवारको सोच देखिन्छ । 

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यही वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा ४९ हजार ३३७ उम्मेदवारी परेको छ । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या १९ हजार ३३२ (३९.१८४ प्रतिशत) कायम भएको छ । 

नगरप्रमुख तथा अध्यक्षमा महिला १५७ (८.३५ प्रतिशत), नगरउपप्रमुख तथा उपाध्यक्षमा महिला ८१.४३ प्रतिशत उम्मेदवारी परेको छ भने वडाअध्यक्षमा महिला ४४८ (४.१७ प्रतिशत) जना रहेका छन् । 

यसैगरी, महिला वडा सदस्य नौ हजार ८३ र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको