Like us!
Follow us!
Connect us!
Watch us!

साउनमा २ प्रतिशत बजेट खर्च ६ प्रतिशत राजस्व संकलन

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १५ : ४० मा प्रकाशित

साउनमा २ प्रतिशत बजेट खर्च ६ प्रतिशत राजस्व संकलन

चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गरेको छ भने करिब छ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार साउन मसान्तसम्ममा सरकारले रु ३५ अर्ब १७ करोड ९० लाख बराबर बजेट खर्च गरेको छ । यही अवधिमा सरकारको राजस्व सङ्कलन रु ८८ अर्ब १३ करोड ९० लाख बराबर छ ।

चालु आर्थिक वर्षमा सरकारले कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालुतर्फ रु नौ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पुँजीगततर्फ रु चार खर्ब ७१ अर्ब छ करोड ५८ लाख र वित्तीय व्यवस्थातर्फ रु तीन खर्ब ३० अर्ब ९१ करोड सात लाख बराबर बजेट छुट्याइएको थियो ।

साउन मसान्तसम्ममा चालुतर्फ रु १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको एक दशमलव २८ प्रतिशत र पुँजीगततर्फ रु ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको शून्य दशमलव १९ प्रतिशत बराबर खर्च भएको छ । यो अवधिमा चालु र पुँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ । साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ रु २२ अर्ब सात करोड ८१ लाख बराबर खर्च गरेको छ । जुन वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६ दशमलव ६७ प्रतिशत बराबर हो । 

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलनमा कर राजस्वतर्फ रु ७० अर्ब १७ करोड ५२ लाख अर्थात् वार्षिक लक्ष्यको पाँच दशमलव ३८ प्रतिशत र गैरकर राजस्वतर्फ रु आठ अर्ब ६९ करोड ८९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको सात दशमलव ४३ प्रतिशत बराबर सङ्कलन भएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको