Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका कारण बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरको शाखा विस्तार, अनलाइन कारोबारमा ढिलाइ भएको नेप्सेको आरोप

मंगलबार, १२ पुस २०७३, १७ : २० मा प्रकाशित

धितोपत्र बोर्डका कारण बैंकलाई ब्रोकर लाइसेन्स, ब्रोकरको शाखा विस्तार, अनलाइन कारोबारमा ढिलाइ भएको नेप्सेको आरोप

अर्थ संसार 

काठमाडौं– धितोपत्र बजार विस्तारमा बाधक भएको आरोप लागेपछि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मंगलबार पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेको छ । लगातार बजार घटिरहेका बेला नेप्सेले बजार विस्तारमा आफूले सक्दो काम गरिरहेको दावी गरेको हो । ‘धितोपत्रहरुको दोस्रो बजार सेवा विस्तारका सम्बन्धमा विभिन्न सरोकारवालाहरुले उठाएका सवालहरुलाई सम्बोधन गर्नुपर्ने देखिएकोले पत्रकार सम्मेलन आयोजना गरिएको’ नेप्सेका अध्यक्ष रामजी रेग्मीले सुरुमै पत्रकारलाई बताए । नेप्सेले आफूले गरेका कामहरुको बुँदागत रुपमा फेहरिस्त प्रस्तुत गरेको छ । 

बैंकहरुलाई धितोपत्र दलाल अनुमतिपत्र प्रदान 

नेप्सेले धितोपत्र बोर्डका कारण बैंकहरुलाई धितोपत्र दलाल अनुमतिपत्र प्रदान गर्न ढिलाइ भएको आरोप लगाएको छ । नेप्सेका अनुसार धितोपत्र बोर्डले नेप्सेलाई २०७२ माघ १४ गते पत्र लेखेर धितोपत्र दलाल व्यवसायीहरुको शाखा विस्तार लगायत अन्य कुनै रुपमा धितोपत्रको दोस्रो बजार विकास विस्तार गर्ने जस्ता नीतिगत तथा संवेदनशील विषयमा निर्णय गरी अगाडि बढ्न बोर्डको आवश्यक सहमति लिन भनेको थियो ।

त्यही पत्रमा बोर्डले लगानीकर्ताहरुको हितलाई ध्यानमा राखी उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसाय थप गरी क्षमता विस्तार गर्ने सम्बन्धमा सम्बन्धित सबै पक्षहरुको संलग्नता हुने गरी एक कार्यदल बनाएर प्रक्रिया अगाडि बढाउन भनेको थियो । त्यसपछि नेप्से संचालक समितिले कार्यदल गठन गरेको ।  कार्यदलमा बोर्डले निर्देशक मुक्तिनाथ श्रेष्ठलाई प्रतिनिधि मनोनयन गरेको थियो । त्यसपछि बोर्डले कार्यदलले दिने प्रतिवेदन बोर्डलाई समेत जानकारी गराई आवश्यक कार्य अगाडि बढाउन भनेको थियो । बोर्डले गत कात्तिक १२ गते अर्को पत्र लेखेर उक्त कार्यदलमा बोर्डको प्रतिनिधित्व नरहने जनाएको नेप्सेले बताएको छ । 

अन्तिम समयमा बोर्डले आफ्नो प्रतिनिधित्व हटाएता पनि कार्यदलले प्रतिवेदन बोर्डमा बोधार्थ दिई पेश गरेको छ । त्यस प्रतिवेदनमाथि पुस १२ गते बसेको नेप्से संचालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र बैंकको निर्देशनलाई समेत ध्यानमा राखेर कार्यदललाई थप अध्ययन गरी पेश गर्न निर्देशन दिइएको नेप्सेले जनाएको छ ।   

दलालको शाखा थप गर्ने

नेप्सेले सम्भावनायुक्त क्षेत्रहरुमा ४१ दलाल कम्पनीलाई एउटाका दरले उपत्यका बाहिर थप शाखा खोल्न अनुमति दिने तयारी गरेको जनाएको छ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले सदस्य दलालहरुले शाखा विस्तार गर्न खोजेका स्थानसहितको पत्र उपलब्ध गराएपछि नेप्से संचालक समितिको बैठकले धितोपत्र बोर्डमा आवश्यक सहमतिका लागि पत्राचार गरिएको नेप्सेले जनाएको छ । 

अनलाइन ट्रेडिङ सिस्टम स्थापना 

नेप्सेले पूर्ण स्वचालित अनलाइन ट्रेडिङ सिस्टम स्थापनाको प्रक्रियामा धितोपत्र बोर्डकै कारण ढिलाइ भएको दावी गरेको छ । नेप्सेले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्रक्रिया अगाडि बढाइए वाईको नामको कम्पनी छनौट गरिसकेपछि धितोपत्र बोर्डले बखेडा झिकेकाले ढिलाइ भएको बताएको छ । छनौट भएको वाईको कम्पनीसँग नेप्सेले २०७२ फागुन ४ गते सम्झौता गरेपछि धितोपत्र बोर्डले त्यही महिनाको २८ गते पत्र लेखेर अहिलेको प्रणाली ३ करोडमा किनिएको भन्दै नयाँ सफ्टवेयर महंगो भएको बताएको थियो ।

त्यही पत्रमा बोर्डले क्रस बोर्डर लिस्टिङ, ट्रेडिङ, एनआरएन तथा विदेशी संस्थागत लगानीकर्तालाई नेपालको धितोपत्र बजारमा प्रवेश गराउन उनीहरुलाई समेत विश्वसनीय हुने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रविधिको टेस्टेड सिस्टम भित्र्याउनेतर्फ  पहल गर्न भनेको थियो । नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले नेपालमा क्यापिटल एकाउन्ट कन्भर्टिविलिटीको व्यवस्था नभएको हुँदा अन्तर्राष्ट्रिय पद्धतिसँग सामञ्जस्य हुने पद्धति विकास गरेपश्चात त्यसलाई परीक्षण गर्ने÷गराउने अन्तर्राष्ट्रिय मान्यता रहेको हुँदा नेप्सेले प्राविधिक उपसमितिको संयोजकको प्रतिवेदनसहित त्यही बर्षको चैत १० गते पत्र लेखेर बोर्डलाई आफ्नो पत्रमाथि पुनरावलोकन गर्न आग्रह गरेको थियो । बोर्डले २०७३ बैशाख ३० गते अर्को पत्र लेखेर नेप्सेलाई यसबारे आफंै निक्र्यौल गर्न भनेको थियो । 

बोर्डले एउटा पत्रमा नेप्सेलाई यसबारे आफूसँग सहमति लिनै पर्ने भनेको छ । अर्को पत्रमा भने नेप्सेलाई आफैं निर्णय लिन भनेर दोहोरो मापदण्ड निर्धारण गरेको छ । यसरी प्रक्रिया अगाडि बढ्न नसक्दा वाईको कम्पनीले उच्च अदालतमा मुद्दा दिएको छ । यो विषय अहिले अदालतमा विचाराधिन छ ।

संस्थागत लगानीकर्ता ल्याउने

सरकारले आ.व. २०७१/७२ को बजेटमा बजार निर्मातालाई बजारमा भित्र्याउने नीतिगत घोषणा गरेको थियो । नेप्सेको पुँजी बजारमा धितोपत्र व्यापारीलाई अनुमति पत्र दिने सम्बन्धमा बोर्डले पटकपटक पत्राचार गरेको थियो । यस सम्बन्धमा वर्तमान कारोबार प्रणालीमा कारोबार प्रकृतिको आधारमा छुट्टै व्यवस्था नभएको हुँदा परिमार्जन गर्नुपर्ने नेप्सेको धारणा छ । यस्तै कारोबार विनियमावलीमा यससम्बन्धी स्पष्ट व्यवस्था नभएकोले विनियमावली तर्जुमा गरिसकेको छ । पुरानो पद्धतिमै लागत वृद्धि गर्ने वा नयाँ पद्धति ल्याउने सम्बन्धमा निर्णय नभइसकेकोले द्विविधाको स्थिति खडा भएको नेप्सेले जनाएको छ । 

पुँजी बजारमा वैदेशिक लगानी भित्र्याउने

नेपालको पुँजी बजारमा विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीको लगानी भित्र्याउने विषयमा सरकार, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्डलगायत सरोकारवालाहरुसँग निरन्तर संवादमा रहेको नेप्सेले दावी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको