Like us!
Follow us!
Connect us!
Watch us!

उत्साहजनक देखिएन स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या

आइतबार, २७ पुस २०७६, १५ : ४६ मा प्रकाशित

उत्साहजनक देखिएन स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या

अर्थ संसार, काठमाडौं – ­नागरीकको स्वास्थ्य बीमा कार्यक्रममा उत्साहजनक सहभागिता भएतापनि नवीकरण गर्नेको संख्या कम देखिएको छ । स्वास्थ्य बीमा बोर्ड चितवनकाे दर्ता अधिकारी निर्मला भट्टराईले दिएकाे जानकारी अनुसार चितवन जिल्लामा करिब साढे चार लाखले स्वास्थ्य बीमा गरेको सरकारी तथ्याङ्क भएपनि दुई लाख ३६ हजार २२३ जनाले मात्र नवीकरण गरेका छन् ।

सेवा प्रदायकको झन्झटिलो स्वास्थ्य सेवा, बीमामार्फत सबै औषधि नपाइनु, जनचेतनाको कमी, बीमा बोर्डको झन्झटिलो प्रक्रियालगायतका कारण पनि नवीकरण गर्नेको संख्या कम भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सबै नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चत गर्न सरकारले बीका कार्यक्रम लागू गरेको थियो । बीमाप्रति  दिनप्रतिदिन नागरीकको आर्कषण बढेको भएतापनि नविकरण कम भएको भरतपुर अस्पतालका जनस्वास्थ्य निरिक्षक नारायणप्रसाद सापकोटाले बताएका छन् ।
    
 बीमा कार्यक्रमअन्तर्गत परिवारका पाँचजनासम्मले रु तीन हजार ५०० तिरेर एक वर्षका लागि बीमाअन्तर्गत उपचार सेवा लिन सक्छन् । यसअघि रु दुई हजार ५०० को प्रिमियम तिरेर पाँचजनाको परिवारले स्वास्थ्य बीमाअन्तर्गत रु ५० हजार बराबरको स्वास्थ्य सेवा पाउने प्रावधान रहेकाे थियो । यसलाई बढाएर सरकारले एक लाख पुर्याएको छ । परिवारको एकजनाले बर्षेनि स्वास्थ्य बीमाबापत रु २० हजार बराबरको उपचार सुविधा पाउनेछन् । एउटा परिवारमा पाँचजनाभन्दा बढी सदस्य भए प्रत्येक सदस्यबापत रु ७०० तिर्नुपर्छ ।

सदस्य सङ्ख्या थपिँदा एउटा परिवारले अधिकतम रु दुई लाखसम्मको बीमा गराउन पाउँछ । सरकारले ७० बर्ष नाघेका वृद्धवृद्धा, एचआइभी पिडित, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, टिभी र कुष्ठरोगीलाई निःशुल्क बीमाको व्यवस्था गरेको छ ।

यस्तै, स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था सरकारले गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्नेछ । सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिन्छ । तर व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादकपदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन । - रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको