कमला भुसाल
अर्थ संसार, काठमाडौं– असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । आज असार १५ गते नेपालका विभिन्न ठाउहरुमा धान रोपाइँ गरि साथ साथै दही र चिउरा खाएर मनाइएको छ ।
प्राकृतिक सम्पदाले भरि पूर्ण त्यसभित्र पनि अनेकौ जातजाति रहेको स्वर्ग जस्तो देश नेपाल हो । संस्कृति र मौलिकता बोकेको देश नेपालमा वर्ष भरिमा थुप्रै चाड पर्वहरु मनाउने गरिन्छ । त्यस मध्ये छुट्टै पहिचान बोकेको असारे १५ अर्थात धान दिवस पनि एक हो । असार पन्ध्र, विशेष गरी धान रोपाइ गरी दही र चिउरा खाएर यो कृषि पर्व मनाइदै छ ।
असारे १५ पहिले र अहिलेमा धेरै फरक भएको छ । पहिलेको रोपाईँ हुने तरिका र अहिले तरिकामा धेरै फरकपन देखिएको छ ।
आज भन्दा केही वर्ष अगाडी काठमाडौं, भक्तपुरमा हुने रोपाईँ धेरै फरक भएको कृषकहरु बताउँछन् । पहिलेको समयमा रंगीचंगी हल गोरुहरु संगै हिलोमा लुटुपुटु खेलेका हलिहरु हुन्थे भने अहिले आधुनिक हलोले खेत जेत्ने गरिन्छ । उनिहरु भन्छन, ‘हिमाली, पहाडी, काखका फाटदेखि तराईको मैदानसम्म असारको समयमा खेतका गह्रा–गह्रामा असारे भाका गुन्जिने गर्थे ।’
भक्तपुरको चाँगुनारायणमा धान रोप्दै गरेका मजदुरहरुले पहिलेको रोपाईँ धेरै रमाइलो हुने बताउँछन् । उनिहरु भन्छन्, ‘पहिले त रोपाईँमा सबै जना झुम्म एकै ठाउमा बसेर खाजा खाने, असारे गित गाउने गरिन्थ्यो । अहिले त असारे गित गाएर रमाइलो गर्न त परै जाओस कसैले गुनगुन पनि गर्दैन ।’
कृषि सभ्यतामा असार महिनालाई मानो खाएर मुरी उब्जाउने अवसरको रुपमा लिने गरिन्छ । सँगसँगै विषेश महत्व बोकेको नेपाली समाजको मौलिक पहिचान मानिने असारे भाका र संस्कृति भने लोप भइरहेको छ ।
काठमाडौंको मुलपानीचौरकी अन्तरी मगर भन्छिन, ‘ पहिले–पहिले रोपाईँमा रमाइलो गर्दै काम गर्दा थकाइ बिर्सिन्थ्यो । अन्य काम गर्नेलाई पनि मनोरञ्जन हुन्थ्यो । गीतले गर्मी र वर्षामा पनि थाहा पाइदैनथ्यौं । अहिले त पहिललेका जस्ता गित पनि लोप हुँदै गए । अलि–अलि सम्झेकाहरुले पनि गाउन मान्दैनन् । अहिलेको रोपाईँमा त्यति रमाइलो हुँदैन ।’
यसपालीको असारमा रोपाहार दिदीबहिनीहरुले कतैकतै लोप हुनै लागेको असारे गित कनिकुथी जानीनजानी गाउँदै धान रापाईँमा व्यस्त रहे त कतै आधुनिक चल्तीका मात्र गित सुनिए । तर, वास्तविक असारे गित र संस्कृति झल्काउने भाका गुञ्जिएको कतै सुनिएनन् । असारको महत्व घट्दै गएको हाम्रो समाजमा रोपाईँ पर्व मात्रै रोपाइको निरन्तरताको लागि सिमित भइरहेको छ ।
त्यस्तै चाँगुनारायणमा धान रोप्दै गरेकि बेली करिब ५५ वर्ष भइन् । उनलाई रोपाइँमा रमाइलो गरेको अनुभवहरु धेरै छन् । उनी भन्छिन्, ‘रोपाइको समयमा पिडा पोख्ने खालको गीतहरु पनि गाउने हासि मजाक गर्दे दही चिउरा रोटी खाजा खाएर काम गरिन्थ्यो । हलि, बाउशे अनि खेतालीहरु हिलो खेल्दै खेतका फाँटरुमा हिलोसँग रमाउँदै नाचिन्थ्यो । अहिले हामि सँगै रोप्ने रोपाहार साथिहरु पनि छैनन् । गित पनि गाउन छोडियो ।’नयाँ प्रविधिको आगमन र नयाँ पुस्ताले पुराना गित सिको नगर्दा लोप हुन सक्ने चिन्ता भएको बेली बताउँछिन् ।
असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।
यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर चर्मरोग पनि निको हुन जनविश्वास रहेको छ । रोपाइ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही चिउरा र अचारको खाजा खाने गरिन्छ ।
नेपाली समाजमा पूर्वीय परिकार दही चिउरा असारमा र साउनमा खीर भन्ने गरिन्छ । असार १५ वर्षकै सबैभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले नेपाली समाजमा आजदेखि दिन छोटा र रात लामा हुने हुँदा हिउँदको शुरुवात भयो भन्ने गरिन्छ । तर असारे गितको लोप हुने र नयाँ प्रविधिको आगमनले गर्दा असारे रमाईलो पनि लोप हुने हो कि भन्ने कृषकहरुलाई चिन्ता छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस