Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षा : के के भयो परिवर्तन ?

अर्थ संसार

सोमबार, १५ मंसिर २०८२, १२ : ५५ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षा : के के भयो परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षा मार्फत केन्द्रीय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमा घटाई ६.०० प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ । त्यस्तै नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ प्रतिशत कायम गरेको । तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत नै कायम राखेको छ । 

त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत कम राख्नुपर्ने व्यवस्थालाई मौद्रिक नीतिको समीक्षा मार्फत खारेज गरिएको छ । व्यक्तिगत अधिविकर्ष कर्जाको सीमा ५० लाखबाट वृद्धि गरी १ करोड कायम गरिनेछ । त्यस्तै लघुवित्त संस्थाबाट प्रवाहित कर्जाको अधिकतम सीमा ७ लाखबाट वृद्धि गरी १५ लाख कायम गरिएको छ ।

यसका साथै कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था र बाढी तथा पहिरो प्रभावित व्यवसायका लागि न्यूनतम १० प्रतिशत ब्याजमा पुनरसंरचना पुनरतालिकीकरण गर्न सकिने व्यवस्था लागू हुनेछन्। त्यस्तै सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिवेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाई ६ महिना कायम गरिएको छ ।

त्यसैगरी, सेयर खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सम्ममात्र बिक्री गर्न सक्ने व्यवस्था खारेज गरिएको छ । त्यस्तै केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थालाई शाखा मर्जर गर्न अनुमति दिइने व्यवस्था गरेको छ । विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेकाले बैंक तथा वित्तीय संस्था स्वयमले महानगरपालिकामा रहेका शाखा समायोजन तथा एकीकरण गर्नसक्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको