Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको इभी बजारमा संकट! के मापदण्डबिनाका गाडीले जनतालाई लुट्दैछन्?

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, २१ : १५ मा प्रकाशित

नेपालमा विद्युतीय गाडी (इभी)को लोकप्रियता दिन-प्रतिदिन बढ्दै गइरहे पनि यसको गुणस्तर र सुरक्षामा प्रश्नचिन्ह लाग्न थालेको छ। एकातिर गाडी आयात गर्दा मापदण्डको अभाव, अर्कोतिर ग्राहकलाई ठगी गर्ने विभिन्न किसिमका गतिविधिले गर्दा नेपाली इभी बजारमा विश्वास घट्दै गएको छ। विशेषगरी, कम गुणस्तरका गाडी आयात गरेर बिक्री गर्ने र उच्च गुणस्तरको प्रचार गरेर ग्राहकलाई ललचाउने आयातकर्ता कम्पनीहरूका केही गतिविधिले उपभोक्ता सुरक्षालाई उपेक्षित गरिरहेको देखिन्छ।

अनियन्त्रित आयात र असुरक्षित गाडी

गाडी आयात गर्दा निर्धारण गरिएको मापदण्ड वा गुणस्तरको निगरानी नहुँदा नेपाली बजारमा विभिन्न खाले इभी भित्रिएका छन्। हालैको कार्तिक ५ गते काठमाडौंको सितापाइलामा पार्किङमा रहेको चिनियाँ ब्राण्ड सेरेसको विद्युतीय गाडीमा अचानक आगलागी भएको घटना नै यसको एक उदाहरण हो। उक्त गाडीमा अचानक धुवाँको मुस्लो निस्किएपछि यसले नेपाली इभी प्रयोगकर्ताको मनमा गम्भीर प्रश्न उठाएको छ।

त्यस्तै, भदौ १३ गते ललितपुरमा एमजी ब्राण्डको इभी गाडीले उकालो चढ्न नसकेपछि दुर्घटना भएको खबर सार्वजनिक भएको थियो। टिकाथलीस्थित उकालोमा गाडीको ब्रेकले काम नगरेपछि गाडी पछाडि सरेर पर्खालमा ठोक्किएको घटना बताइएको छ। गाडीको केही भागमा क्षति पुगेको भए पनि चालक सुरक्षित रहेको थियो।

गुणस्तरहीन इभीको ट्रेण्डमा थपिएको ठगी

विद्युतीय गाडीलाई नेपालको ग्रीन इकोनमीको रुपमा प्रचार गर्न राज्यले प्रोत्साहन गरिरहेको छ, तर अनियन्त्रित आयात र कम गुणस्तरका गाडीले यस अभियानमा प्रभाव पारेको छ। उदाहरणका लागि, एमजीको जेड एक्स र डिपलका इभी गाडीले गत वैशाखमा आयोजित कुपण्डोल–सौराहा मोटर र्यालीमा भीमफेदीको उकालो उक्लिन नसकेपछि फर्काउनुपरेको थियो। यी घटनाहरूले स्पष्ट देखाउँछ कि गाडी गुणस्तर, खासगरी उकालो चढ्ने क्षमता, जाँच नगरीकन आयात गरिएको छ।

अझै अनौठो कुरा के छ भने एमजीको गाडी अस्ट्रेलियाको सिड्नीस्थित एयरपोर्टमा पनि पार्किङमा राखेको अवस्थामा अचानक विस्फोट भएको घटना चर्चामा आएको थियो। उक्त घटनापछि अस्ट्रेलियाली सरकारले एमजीका केही मोडेलमा ब्याट्रीसम्बन्धी गम्भीर समस्या रहेको भन्दै रोक लगाएको थियो।

इभी बजारको ठूलो हिस्सा ओगटेको बीवाइडीको विवादास्पद स्थिति

नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने ब्राण्डमध्ये बीवाइडी पनि सामेल छ। तर, यसको अट्टो थ्री मोडेलले पोखराको साराङकोट उकालो पार गर्न नसकेको घटना भाइरल बनेको थियो। सामाजिक सञ्जालमा गुपचुप राखिएको यो खबरले बीवाइडीको गुणस्तरप्रति पनि गम्भीर प्रश्न उठाएको छ। बजारमा ठगीधन्दाको रुपमा विभिन्न प्रचारबाजी गरेर गाडीहरू विक्री गरिए पनि यस्ता घटनाले आयातकर्ता र राज्यको जिम्मेवारी प्रति प्रश्न उठाइरहेको छ।

उपभोक्ताका लागि चेतावनी र सरकारका लागि चुनौती

नेपाली उपभोक्ताहरूमा इभी प्रति आकर्षण बढ्दै गए पनि यी घटनाहरूले उनीहरूलाई सचेत हुन र अनुसन्धान गरि मात्र इभी खरिद गर्न सन्देश दिन्छ। यदि आयातकर्ताले गुणस्तरहीन इभीलाई मात्र बजारमा ल्याउन थाले र राज्यले त्यसको निगरानी नगर्ने हो भने, यी घटनाहरूले भविष्यमाथि गम्भीर प्रभाव पार्न सक्नेछन्।

यस्तो परिस्थितिमा दुर्घटनाको जिम्मेवारीको प्रश्न एकदमै गम्भीर बनेको छ। आयातकर्ताले गुणस्तरहीन गाडी ल्याएर बिक्री गर्न पाउने, दुर्घटनाले गम्भीर रुप लिँदा राज्यले जिम्मेवारी नलिने स्थिति रहेमा उपभोक्ताको विश्वास दिन प्रतिदिन घट्नेछ। इभी उद्योगको दीर्घकालीन सफलताका लागि राज्यले कडाइका साथ मापदण्ड लागू गर्नुपर्ने र आयातकर्ताले गुणस्तरीय उत्पादन मात्र आयात गर्नुपर्ने देखिन्छ।

नेपालमा इभी बजारको विकास र विस्तार अत्यन्तै महत्त्वपूर्ण छ, तर मापदण्डको पालना र सुरक्षा सुनिश्चित नगरिकन गरिएको आयातले इभी अभियानलाई जोखिममा पार्न सक्छ। उपभोक्तालाई भरपर्दो जानकारी दिन र गुणस्तरीय गाडीको प्रवेशलाई सुनिश्चित गर्न राज्यले ठोस कदम चाल्नुपर्छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको