Like us!
Follow us!
Connect us!
Watch us!

कारबाही सम्बन्धमा भाटभटेनी सुपरमार्केटको यस्ताे आयाे स्पष्टिकरण

निशा हुमाँगाई

बुधबार, १७ बैशाख २०७७, १३ : ४३ मा प्रकाशित

कारबाही सम्बन्धमा भाटभटेनी सुपरमार्केटको यस्ताे आयाे स्पष्टिकरण

अर्थ संसार, काठमाडौं – नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटलाई वैशाख १५ गते गरेको जरिवाना सम्बन्धमा भाटभटेनीले विज्ञप्ति प्रकाशन गरेकाे छ । 

सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योगबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै उक्त जरिवाना गरिएको हो । 

भाटभटेनीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित काष्ठमण्डप खाद्य उद्योगबाट विगत लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर उचित मूल्यमा आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको छ । भाटभटेनी सुपरमार्केटले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको छ ।

तर उक्त लाखमरीको हकमा लकडाउनजन्य जटिल परिस्थितिका कारण बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिइएकाे थियाे । र उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको जानकारी गराएको छ । र सोही बारकोड सुपरमार्केट बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले सुपरमार्केटलाई जरिवाना गरेको हो ।

 प्राविधिक र कानुनी रूपमा यो गल्ती नै हो भन्ने सुपरमार्केट स्वीकार गरेकाे छ । तर यो उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियतले नभएको पनि सुपरमार्केटले प्रस्ट पारेकाे छ ।

सुपरमार्केटले काठमाडौंको नेवार समुदायमा लोकप्रिय एवं उनीहरूका विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वहरूमा आवश्यक पर्ने वस्तु भएकाले उहाँहरूको माग र भावनालाई सम्बोधन गर्नका लागि मात्र यस्ता वस्तुहरू बिक्री गर्ने गरेकाे सुपरमार्केटले जनाएकाे छ । 

 विगतमा विनाशकारी भूकम्प र नाकाबन्दीको अप्ठेरो अवस्थामा सुपरमार्केटले आपूर्तिकर्तासँग मोलमोलाइ गर्नुका साथै कम्पनीलाई हुने नाफा कटौती गरेर पनि उपभोक्तालाई साबिकको मूल्यमा सामान उपलब्ध गराएको व्यहोरा सुपरमार्केटले आम उपभोक्तालाई जानकारी गराएकाे छ ।

त्यस्तै, आजको मितिमा पनि भाटभटेनीका हरेक आउटलेटमार्फत बिक्री हुने वस्तुहरू अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा कम मूल्यमै पाइने सुपरमार्केटले जनाएकाे छ । साथै, अत्यावश्यक खाद्य सामग्रीहरू बजारको भन्दा कम मूल्यमै हाम्रा स्टोरमार्फत बिक्री भइरहको पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

सुपरमार्केटले आदरणीय उपभोक्ताहरूलाई आफ्ना हरेक स्टोरहरूबाट बिक्री हुने वस्तुको मूल्यको ग्यारेन्टी दिएकाे छ । एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटिले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न पनि सुपरमार्केटले उपभोक्ता र सरोकारवालाहरू सबैमा आग्रह गरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको