Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो कस्तो अवस्थामा हाम्रो कानुनले व्यक्तिको मृत्यु भएको मान्दछ ?

अर्थ संसार

आइतबार, २० असार २०७८, ११ : ३३ मा प्रकाशित

कस्तो कस्तो अवस्थामा हाम्रो कानुनले व्यक्तिको मृत्यु भएको मान्दछ ?

मानिसको अन्तिम सत्य भनेको मृत्यु हो । मानिस जन्मेपछि एकदिन मर्छ नै । सबैको मृत्यु एकै प्रकारको हुँदैन । मानिस अनुसार फरक फरक प्रकृतिले जिवन त्याग गरिरहेको देखिन्छ । कतिपय मानिसहरुको मृत्युपछि पनि भौतिक शरिर फेला पर्छ भने कतिपयको फेला पर्देन । 

कोही मानिस लामो समयसम्म पनि बेपत्ता हुँदा उनीहरुलाई जिवित मान्ने वा मृत ? के छ हाम्रो देशको कानुनी व्यबस्था ? आज हामी यस बिषयमा जानकारी दिन गइरहेका छौ । हाम्रो देशको बिद्यमान कानुनमा कस्तो कस्तो अवस्थाका व्यक्तिहरु कति समयसम्म बेपत्ता भएमा मृत भएको मान्ने भन्ने विषयमा स्पष्ट व्यबस्था गरेको पाईन्छ । 

नेपालको मुलुकी देवयानी संहिता ऐन २०७४ को दफा ४० मा कस्तो कस्तो अवस्थामा कुनै व्यक्ति बिना सूचना बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले जानकारी नपाएमा व्यक्तिलाई कति कति समयमा मृत्यु भएको मानिने भनि स्पष्ट व्यबस्था गरेको देखिन्छ । 

नेपालको मुलुकी देवयानी संहिता ऐन २०७४ को दफा ४० मा यस्तो छ कानुनी व्यबस्थाः   

मृत्यु भएको मानिनेः (१) कुनै व्यक्ति बिना सूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएमा वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वभाविक रूपमा जानकारी पाउने व्यक्तिले बाह्र वर्षदेखि कुनै जानकारी नपाएमा त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ ।
तर देहायको अवस्थामा देहायको अवधि समाप्त भएपछि त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछः–

(१) असी वर्ष उमेर पूरा भएको व्यक्ति भए पाँच वर्ष,

(२) युद्धस्थलमा खटिएको सैनिक भए युद्घ समाप्त भएको मितिले चार वर्ष,

(३) दुर्घटना भएको वायुयान, पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भए त्यसरी दुर्घटना भएको मितिले तीन वर्ष ।

(२) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभएमा त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिनेछ ।

(३) कुनै दुर्घटनामा परी एकैसाथ एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यसरी मृत्यु हुने प्रत्येक व्यक्तिको एकैसाथ मृत्यु भएको मानिनेछ ।

तर कुनै खास प्रयोजनको लागि त्यसरी भएको दुर्घटनामा कुन व्यक्तिको पहिले मृत्यु भएको हो भन्ने प्रश्न निरुपण गर्नु पर्ने भएमा अन्यथा प्रमाणित भएकोमा बाहेक मृत्यु हुँदाका बखत जुन व्यक्तिको उमेर बढी रहेको छ सोही व्यक्तिको पहिले मृत्यु भएको मानिनेछ ।

(४) कुनै व्यक्ति बिना सूचना बेपत्ता भएको वा कुनै विपद् वा दुर्घटनामा परेकोले निजको मृत्युको सम्बन्धमा न्यायिक घोषणा गरी पाउँ भनी त्यस्तो व्यक्ति बेपत्ता भएको वा मृत्यु भएको मिति, ठेगाना, कारण र आधार सहित खुलाई सरोकारवाला व्यक्तिले निवेदन दिएमा अदालतले सबुत प्रमाण बुझी त्यस्तो व्यक्तिको सम्बन्धमा मृत्युको न्यायिक घोषणाको आदेश गर्न सक्नेछ ।

(५) उपदफा (४) बमोजिम मृत घोषित भइसकेको व्यक्ति जीवित रूपमा फर्की अघि भएको न्यायिक घोषणा बदर गरी पाउँ भनी निज आफैँले वा निजको मृत्यु भएको मिति न्यायिक घोषणा भएको मितिभन्दा फरक परी मृत्यु सम्बन्धी न्यायिक घोषणा संशोधन गरी पाउँ भनी निजको हकदारले निवेदन दिएमा अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी उपदफा (४) बमोजिम गरेको न्यायिक घोषणाको आदेश संशोधन वा बदर गर्नेछ ।

तर,
(१) कुनै जीवित पत्नीले त्यस्तो घोषणा पछि अर्को विवाह गरेको रहेछ भने घोषित व्यक्तिसँगको वैवाहिक सम्बन्ध पुनः स्थापित हुन सक्ने छैन ।

(२) मृत घोषित व्यक्तिको कानून बमोजिमको अधिकारमा कुनै प्रतिकूल असर पर्ने छैन ।

(३) मृत्यु भएको नयाँ मिति कायम भएको कारणबाट पहिलेको न्यायिक घोषणाबाट भइसकेको काममा प्रतिकूल असर पर्ने छैन ।

(४) खण्ड (३) बमोजिम भएको काम कारबाहीबाट कुनै व्यक्तिको कानून बमोजिम प्राप्त हक, हित वा सरोकारमा कुनै असर पर्ने छैन ।

त्यसै गरी दफा ४१ को खण्ड (ख) मा दफा ४० को उपदफा (५) को अवस्थामा त्यस्तो काम कारबाही भएको थाहा पाएको मितिले एक वर्षभित्र यस परिच्छेद बमोजिम भए गरेको काम कारबाहीबाट मर्का पर्ने व्यक्तिले देहाय बमोजिम नालिस गर्न सक्नेछ भनि उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको