Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १२ : ३६ मा प्रकाशित

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ 

गत आवभन्दा चालु आवको १० महिनामा बक्यौता रकम २७ करोड ८१ लाख ९७ हजार चार सय रुपैयाँले बढेको छ । यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक, घरासयी ग्राहक र सडकबत्ती बापतको हो ।

केन्द्रका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम दुई अर्ब २७ करोड १० लाख २२ हजार एक सय ९४ रुपैयाँ रहेको छ । त्यसैगरी सडकबत्तीको बक्यौता रकम २१ करोड २८ लाख ३५ हजार पाँच सय छ रुपैयाँ रहेको छ । त्यस्तै घरायसी ग्राहकको बक्यौता रकम पनि ५३ करोड ४५ लाख ६७ हजार एक सय ८७ रुपैयाँ रहेको छ ।

केन्द्रको गत आवको असार मसान्तसम्ममा बक्यौता रकम तीन अर्ब १५ करोड ४० लाख २६ हजार चार सय ५७ रुपैयाँ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने तीन हजार तीन सय ९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।

“वीरगञ्ज वितरण केन्द्र मातहत पाँचवटा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइनबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो”, उनले भने, “यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।” केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ ।

कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत्को महसुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महसुल तिर्न आनाकानी गर्दै आइरहेका छन् । “करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्”, उनले भने, “छिमेकीले बिजुलीको महसुुस नतिरेपछि लाइन काटियो भन्ने हल्लागाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौँ ।

गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई अर्ब तीन करोड ६२ लाख ११ हजार सात सय ६९ रुपैयाँ रहेको थियो । सोही वर्ष सडकबत्ती बापतको बक्यौता १८ करोड ६७ लाख ७८ हजार १० रुपैयाँ रहेको छ । घरासयी ग्राहकको बक्यौता रकम ५३ करोड ७४ लाख ५३ हजार सात सय ८८ रुपैयाँ रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको